Comments Add Comment

सागमा प्याराग्लाइडिङ खेल हुनेमा शंका

२४ कात्तिक, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्याराग्लाइडिङ समावेश नहुने देखिएको छ ।

प्याराग्लाइडिङका लागि भाग लिने राष्ट्रको संख्या अपुग भएकाले खेल नहुने सम्भावना बढेको हो । यद्यपि प्याराग्लाइडिङका लागि पनि प्रयास भइरहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।

आइतबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै सिलवालले भने, ‘नेपालले प्रतियोगिताका लागि नाम दर्ता गरिसकेको छ । भारतले पनि आउने वचन दिएको छ । प्रतियोगिता हुन ३ राष्ट्रको सहभागिता अनिवार्य हुनुपर्ने भएकाले अन्तिम प्रयास गरिहेका छौं ।’

प्याराग्लाइडिङ समावेश गर्ने नगर्नेबारे निर्णय गर्न अझै केही दिन पर्खिने उनले बताए ।

१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौंमा हुनेछ, जसका २७ मध्ये ९ खेल पोखरामा हुनेछ । महिला फुटबल पनि पोखरामा गर्ने कार्यतालिका छ तर मैदान निर्माण हुनेमा भने शंका छ । रंगशालामा दुबो सार्नमात्रै हतार भएको र बाँकी सबै काम अन्तिम चरणमा पुगेको सिलवालले बताए ।

राखेप सदस्य सचिव सिलवालले साग खेलकुद तोकिएकै समयमा हुनेमा शंका नगर्न आग्रहसमेत गरेका छन् । ‘एकाधबाहेक सबै खेलको तयारी पूरा भइसकेको छ । तपाईंहरु मंसिर १५ गते पर्खेर बस्नुस्,’ उनले अघि भने ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि तोकिएकै समयमा साग हुने विश्वास व्यक्त गरे । ‘पहिले साग हुन्छ कि हुँदैन भन्ने द्विविधा थियो । दक्षिण एसियाली ओलम्पिक काउन्सिलले रिजेक्ट गरिदिन्छ कि भन्ने डर पनि थियो,’ उनले भने, ‘काउन्सिल र सेफ दि मिसनले ओके गरिसकेपछि सम्भव छ ।’

शनिबारमात्रै साग तयारीबारे बुझ्न दक्षिण एसियाली ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोलीले रंगशालाको निरीक्षण गर्न पोखरा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment