Comments Add Comment

रोयल्टी नपाउँदा मारमा परेको कलाकारको गुनासो

२५ कात्तिक, बुटवल । गायक तथा संगीतकारहरुले गीत संगीत बजाए बापत पाउनुपर्ने रोयल्टी नपाउँदा मारमा परेको कलाकारहरुले गुनासो गरेका छन् ।

गीत संगीत स्रष्टाको बौद्धिक सम्पत्ति भएकाले त्यसको प्रयोग वापत रोयल्टी अनिवार्यरुपमा पाउनुपर्ने उनीहरुको माग छ ।

सोमबार बुटवलमा आयोजित प्रतिलिपी अधिकार एवम् संगीत रोयल्टी व्यवस्थापन विषयक अन्तरक्रियामा बोल्दै कलाकारहरुले विभिन्न ३९ वटा क्षेत्रबाट संगीत रोयल्टी उठ्नुपर्नेमा १० वटा क्षेत्रबाट पनि नउठेको बताए ।

प्रस्तोता समाजका अध्यक्ष शिव हमालले गीत संगीत मनोरन्जनको माध्यम भए पनि स्रष्टाको बौद्धिक सम्पत्तिको सम्मान स्वरुप रोयल्टी दिन सम्बन्धित पक्षले कन्जुस्याइँ गरेको गुनासो गरे ।

सार्वजनिक सवारीसाधन, दोहोरी सांझ,एफएम रेडियोबाट न्यून मात्रामा रोयल्टी उठे पनि बाँकी क्षेत्रबाट रोयल्टी संकलन हुन नसकेको उनले बताए ।

राज्यले रोयल्टीको सुनिश्चित गर्ने हो भने संगीत र मनोन्जन क्षेत्र बलियो उद्योगको रुपमा विकास भइ राज्यलाई उल्लेख्य कर संकलन हुने भन्दै हमालले संघ, प्रदेश र स्थानीय सरकारले संगित रोयल्टी सम्बन्धी स्पष्ट नीति, कानून र नियमावली बनाउन माग गरे ।

संगीत रोयल्टी संकलन समाजका महासचिव चन्द्र शर्माले ३९ वटा क्षेत्रबाट संगीत रोयल्टी पाउनुपर्नेमा १० वटा क्षेत्रबाट पनि संकलन हुन नसकेको बताए । पाउनु पर्ने क्षेत्रबाट रोयल्टी नआउँदा कलाकारहरु मारमा परेको र विरामी हुँदा राम्ररी उपचारसमेत गर्न नसकेको गुनासो गरे ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका महासचिव हुम गैरेले रेडियो तथा टेलिभिजनहरुले संस्थाले गर्ने आम्दानीको एक प्रतिशतले दिनुपर्ने व्यवस्थालाई कार्यन्वय गर्नुपर्ने बताए ।

नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयकी शाखा अधिकृत शुष्मा पोखरेलले बौद्धिक सम्पतिका रुपमा रहेको संगीत सिर्जनालाई कसैले पनि अवमूल्यन गर्न नहुने बताइन् ।

संविधानको धारा २५ मा बौद्धिक सम्पत्तिको अधिकारबारे उल्लेख भएकाले तीन वटै तहका सरकारले कलाकारको माग सम्बोधन गर्न चासो दिनुपर्ने बताइन् ।

कार्यविधि बनाएर रोयल्टी तिर्ने बनाउँछौं : मन्त्री चौधरी

अन्तरक्रियामा बोल्दै प्रदेश ५ सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले कलाकारले आफ्नो सिर्जनाको मूल्य पाउनुपर्ने नैसर्गिक अधिकार भएको भन्दै कार्यविधि बनाएर रोयल्टी तिर्ने बानीको विकास गरिने बताए ।

प्रदेश सरकारले बनाएको कानूनमा यो विषय समावेश भएको भन्दै उनले अब नियमावली बनाएर संगीत रोयल्टी संकलनमा प्रदेश ५ उदाहरण बन्ने प्रतिवद्धता जनाए ।

संगीतको रोयल्टी तिर्दा कसैलाई पनि भार नपर्ने बरु यसले कलाकारको सम्मान हुने भएकाले सम्बन्धित पक्षले कन्जुस्याइँ गर्न नहुने सुझाव दिए ।

प्रदेश सभा सदस्य गीता थापाले संगीत रोयल्टीका लागि आवश्यक कानून बनाइने बताइन् ।

अन्तरक्रियामा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, यातायात व्यवस्था कार्यालय मणिग्रामका प्रमुख मुक्ति पान्डे, पश्चिम नेपाल बस व्यवसायी प्रालिका बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश ५ का अध्यक्ष डिल्लीनारायण पाण्डे लगायतले बोल्दै संगीत रोयल्टीबारे सरकारले जनचेतना बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा यातायात क्षेत्रबाट सबैभन्दा धेरै रोयल्टी संकलन गरेको भन्दै यातायात व्यवस्था कार्यालय मणिग्रामका प्रमुख मुक्ति पाण्डे र भैरहवाका प्रमुख बोमलाल भण्डारीलाई प्रस्तोता समाजले सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment