Comments Add Comment
कास्कीमा विद्याको घरदैलो :

‘रवीन्द्रकी पत्नीको नजरले मात्र पक्कै हेर्नु हुने छैन’

२५ कात्तिक, पोखरा । मध्यम कद । फूलबुट्टे सारीमाथि गाढा निलो कोट । गलामा माला, हँसिलो चेहरा ।

सोमबार बिहान ८ बज्नै लाग्दा घरदैलोमा हाजिर भएकी थिइन्, कास्की २ को उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई अधिकारी ।

पहिलो पटक संसदीय चुनाव लडिरहेकी विद्या घरि हात हल्लाउँदै, त घरि मतदातासँग अंकमाल गर्दै थिइन् । मतदाताहरुलाई हँसिलो अनुहार, शालीन बोलीका साथ सोधिरहिन् ‘सञ्चै हुनुहुन्छ ? सब ठीक छ नि ?’

यसरी विद्या घरदैलोमा आउँदा कतिपयले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अनुहार देखे ।

००००

गणेश टोलस्थित नेकपाको निर्वाचन परिचालन वडा कार्यालयमा बिहान साढे ७ बजे नै नेकपाका नेता कार्यकर्ता भेला भइसकेका थिए । प्रदेशसभा सदस्य प्रभा कोइराला, नेकपाबाट वडाध्यक्षका प्रत्यासी कृष्ण पराजुली, उद्योगी सञ्जीवबहादुर कोइरालालगायतलाई विद्याले सोधिन्, ‘कहाँबाट सुरु गर्ने हो घरदैलो ?’

उनीहरुले सुझाएअनुसार विद्या वडा नम्बर ४ तिर लागिन् । पुरानो शैलीको एउटा घरको ढोकैमा बुढी आमा भेटिएपछि विद्याले भनिन्, ‘आमा म विद्या भट्टराई । सूर्यमा भोट हाल्नुस् । तपाईंहरुकै छोरी सम्झेर आशिर्वाद दिनुस् ।’

बुढी आमाले विद्याले गाला मुसारिन् । मुस्कुराइन् र भनिन्, ‘सफल हुनू, मेरो आशिर्वाद छ ।’ सँगै रहेकी सांसद प्रभाले थपिन्, ‘बुढाबुढीलाई भत्ता दिलाउने पार्टी हो ।’

गणेश टोलकै अर्की आमा आइपुगिन् र विद्यालाई अंगालो मारिन् । भद्रीमाया श्रेष्ठले त्यही क्षेत्रमा तीन पटक चुनाव जितेका रवीन्द्रको सम्झना गर्दै भनिन्, ‘भाइ साह्रै असल थियो, बित्यो । अब बहिनीले जित्नुपर्छ । मैले त भोट हाल्न पाउँदिन । मैले भोट हाल्ने रसिद स्याङ्जातिर छ । म यहाँ छोराबुहारीलाई भन्छु ।’

पोखरा-४ मा नेपाली कांग्रेसको बाहुल्य वडा मानिन्छ । यो वडामा स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले जितेको थियो । यही वडाबाट आइतबार कांग्रेसले पनि घरदैलो थालेको थियो । सोमबार विद्याले त्यही वडा पुगेर भोट मागिन् ।

तर उनले न विपक्षीको नाम लिइन्, न कुनै उम्मेदवार वा पार्टीलाई गाली नै गरिन् । उनले आफू हिजोको राजनीतिक पृष्ठभूमि र संघर्षलाई टेकेर जनप्रतिनिधि बन्न उम्मेदवार भएको बताइन् । ‘मलाई रवीन्द्र अधिकारीको पत्नीका नजरले मात्र पक्कै हेर्नु हुने छैन, राजनीतिक आन्दोलनमा होमिएँ । महिला आन्दोलनमा अगुवाई गरेँ, संघर्ष गरेँ । समाजलाई नजिकबाट चिनेकी बुझेकी छु । अधिकारको लडाईं लडेरै यहाँसम्म आइपुगेकी चेली हुँ’, उनले भनिन् ।

रवीन्द्रसँग विवाह भएकै कारण र केही समय क्षेत्र बदलेकै कारण मतदाताले गलत नजरले नहेर्ने उनको विश्वास छ । ‘जनताले ५ वर्षका लागि जनमत दिएर पठाउनुभयो, तर रवीन्द्रजीको दुर्घटनामा ज्यान गयो । पार्टीले मेरो योगदानलाई कदर गर्दै उम्मेदवार बनाएको छ’ उनले भनिन्, ‘शोकलाई शक्तिमा बदलेर जनअधिकारको पक्षमा लड्ने साहस बटुलेर घरदैलोमा आएकी छु ।’

घरदैलोकै क्रममा विद्या गणेश टोलकै एक घरमा पुगिन् । एक युवती घरबाहिर निस्केर हात मिलाइन् र खुसी साटिन् । विद्याले चुनावी पर्चा दिँदै भनिन्, ‘एजेण्डा पढ्नू र भोट हाल्नू ।’ उनी रहिछन्, डा. सञ्जीता पालिखे । उनले विद्यालाई शुभकामना दिइन् र यो कुरा (माङ) आमालाई पनि भन्ने बताइन् ।

घरदैलोकै क्रममा ढोकैनेर भेटिए कृष्णहरि पालिखे । उनले विद्याले जित्ने विश्वास व्यक्त गरे । ‘घटना घट्यो र रवीन्द्र बिते । नत्र उनी धेरै राम्रा थिए । यिनले पनि धेरै मतले जित्छिन्,’ पालिखेले भने, ‘तर भोट हाल्ने जनतामा कहिल्यै अन्याय नहोस् ।’

विद्याले जनताका सुखदुखमा सँगै हुने र अधिकारका निम्ति लड्न कहिल्यै नचुक्ने बाचा गरिन् ।

त्यसपछि विद्या भित्री बस्तीतिर छिरिन् । जसमध्ये गएको एक घरमा आँगनमा बैशाखी छेउमा राखेर कुर्सीमा बसेका थिए एक ज्येष्ठ नागरिक । सूर्य चिन्ह र हसियाँ हथौडाको झण्डा बोकेका नेता कार्यकर्तासँगै पुगेकी विद्याले पर्चा दिइन् र भोट मागिन् ।


उनी रहेछन् केदार बजिमय । ८६ वर्षीय केदारले कम्युनिस्ट भएर कहिल्यै आफ्नै सुखसयल र ऐस आराममा रमाउन नहुने भन्दै पुष्पलाललाई सम्झिए । मकै भटमास खाएर कम्युनिस्ट पार्टी बनाएको सम्झाए । पुष्पलालसँग संगत गर्ने मौका पाएको र कम्युनिस्ट कसरी बन्ने भन्ने सिक्नुपर्ने विद्यालाई सुझाए ।

विद्याले आशिर्वाद लिँदै भनिन्, ‘तपाईंहरु जस्तो आग्रजहरुले भनेको शिरोपर गर्दै कम्युनिस्टहरुको विचार, सिद्धान्त र व्यवहारलाई सधैं मनमा लिएर अघि बढ्नेछु,’ केदारले शुभकामना दिँदै भने, ‘जीत पक्का छ । कम्युनिस्ट चरित्र कहिल्यै बिर्सन हुँदैन ।’

त्यहाँबाट निस्कँदा एक जना बटुवा भेटिए । चुनावी पर्चा पाएपछि उनले धेरै आश्वासन बाँड्नुभन्दा नेताले काम गरेर देखाउनुपर्ने बताए । उनले भने, ‘भोट माग्ने बेलामा यस्तो उस्तो भन्यो, काम हुने होइन । भाषण होइन, काम गरेर देखाउनुस् ।’ विद्याले मुस्कुराउँदै जवाफ दिइन्, ‘पहिलो पटक उम्मेदवार बनेकी हुँ । काम गर्ने अवसर दिनुहोस् । म प्रश्न गर्ने ठाउँ राख्ने छैन ।’

विद्याको घरदैलो टोली गणेशमान चोकतिर लाग्यो । चोकमा लौहपुरुष गणेशमान सिंहको शालिक छ । विद्याले शालिकमा माल्र्यापण गर्दै उनको स्मरणमात्रै गरिनन्, देशलाई स्वच्छ राजनीति र समाजवादको बाटोमा हिँडाउने बाचा पनि गरिन् ।


यही शालिकमा माल्यार्पण गरेर आइतबार नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले घरदैलो अभियानको सुरुवात गरेका थिए । नेकपाकी उम्मेदवार विद्याले देश र जनताका निम्ति असल काम गर्ने नेताबाट सबैले पाठ सिक्नुपर्ने बताइन् । ‘देशका निम्ति काम गर्ने नेतालाई सबैले गर्व गर्नुपर्छ । मैले गणेशमान सिंहबाट पनि आशिर्वाद लिएकी छु,’ विद्याको भनाइ थियो ।

यो पनि पढ्नुहोस सुकुम्वासीलाई खेमराजको आश्वासन : अध्यक्ष हुँदा सकिन, अब लालपूर्जा दिलाउँछु चुनावी घरदैलोमा न त विद्याले कसैसँग तितो पोखिन् न उनीप्रति कसैले बैरभाव नै देखाए । म विद्या भन्दै भोट माग्दा कतिपयले मैले चिन्छु, विद्या भट्टराई होइन र ! पनि भने । कांग्रेसका कार्यकर्तासामू पनि उनले निहुरिएर आशिर्वाद र शुभकामना मागिन् । वडा नम्बर ४ का कांग्रेस अध्यक्ष गोविन्द पराजुलीसँग विद्याको बाटैमा भेट भयो । विद्याले भनिन्, ‘भोट दिन नसके आशिर्वाद दिनुस् ।’

कांग्रेस नेता गोविन्दले पनि जवाफ फर्काए, ‘भोटै दिन त नसकौंला, तर शुभकामना छ ।’ वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलासँग पनि उनी शुभकामना माग्न पुगिन् ।

बिहान ८ बजेदेखि १२ बजेसम्म निरन्तर घरदैलोमा हिँडेपछि उनको खाना खाने समय भयो । त्यही उनले केही सुखदुःख पनि साटिन् । ‘पहिलो पटक चुनावमा होमिएकी हुँ । तर, मतदातासँग एकदम परिचितजस्तो लागिरहेको छ । तपाईंले जसरी पनि जित्नैपर्छ भनिरहनुभएको छ,’ उनले खुसी साटिन् ।

स्वर्गीय रवीन्द्र अधिकारी र नेकपाले पूरा गर्न नसकेका प्रतिवद्धता, गरेको बचा र घोषणाहरु पूरा गर्ने प्रतिवद्धताका साथ चुनावमा होमिएको विद्याले खुलाइन् ।

यो पनि पढ्नुहोस सुकुम्वासीलाई खेमराजको आश्वासन : अध्यक्ष हुँदा सकिन, अब लालपूर्जा दिलाउँछु

उम्मेदवार भएपछि उनले सार्वजनिक कार्यक्रमहरुमा आफूमाथि प्रश्न उठिरहेको बताउने गरेकी थिइन् । मत माग्न जाने क्रममा चाहिँ कस्ता प्रश्न आए त ? ‘प्रतिस्पर्धामा आउँदा स्वाभाविक प्रश्न उठ्दोरहेछ । हिजो विद्या राजनीतिमा थिइनन्, आज एक्कासी टिपेर ल्याइयो । संवेदना लिनमात्रै ल्याइयो भनिरहेका छन्,’ नेकपा उम्मेदवार विद्याले भनिन्, ‘नेकपाको सरकारले काम गर्न सकेन भन्ने प्रश्न पनि उठिरहेका छन् । सरकारको जनमत संग्रह पनि भनिराखिएको छ । यस्ता कुरालाई मैले घरदैलामा प्रष्ट्याइरहेकी छु ।’

नेकपाले सहानुभूतिको मत लिनै खोजेको होइन र ? यसमा विद्याले फरक ढंगले प्रष्ट्याइन् । रवीन्द्र अधिकारीसँग जनताको हार्दिकतापूर्ण सम्बन्धका कारण आफूमाथि मान्छेले सहानुभूति राख्न पाउने विषयलाई गलत रुपले बुझ्न नहुने उनको भनाइ थियो । ‘रवीन्द्रको जनतासँग हार्दिक सम्बन्धका कारण ममाथि कसैले माया, सद्भाव र सहानुभूति राख्न त पाइन्छ होला नि ?’ उनको प्रश्न छ ।

एक्कासी राजनीतिमा आएको भन्ने प्रश्नलाई उनले प्राध्यापकको रुपमा फरक भूमिका निर्वाह गरेको बताउँछिन् । ‘राजनीतिदेखि टाढा थिइनँ, केबल भूमिका फरक थियो । र फेरि राजनीतिक आन्दोलनमा होमिएकी छु,’ उनले थपिन् ।

निर्वाचित भएर संसदमा पुगेपछि प्रदेश र संघसँग समन्वय गरेर काम गर्ने विद्याको भनाइ छ । देशका गौरवका आयोजनाहरुलाई समयमै सक्न नेतृत्वदायी भूमिका निर्वाह विद्याको प्रतिवद्धता छ । ‘महिला प्रतिनिधि पनि हुँ । महिलामाथिका अन्याय र विभेदविरुद्ध लड्दै महिलालाई आत्मनिर्भर बनाउन भूमिका खेल्छु,’ विद्याले रवीन्द्रको जन्मगाउँ भरतपोखरीबाट चुनावी अभियान थालेकी उनले सुनाइन् ।

तस्वीर सौजन्यः सुरेश सुनार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment