Comments Add Comment

राम्रा रेष्टुरेन्टले बासी र अस्वस्थ खानेकुरा बेच्दैन – मधुसुदन ढकाल

हामीकहाँ रेष्टुरेन्ट संस्कृति बढ्दो छ । स्वाद फेर्नका लागि रेष्टुरेन्टको मेनु चाहर्ने उपभोक्ताको संख्या थपिदैछ । खासगरी सप्ताहन्त परिवारसहित रमाइलो गर्नका लागि रेष्टुरेन्ट पुग्ने ट्रेन्ड छ ।

अर्कोतिर रेष्टुरेन्टको खानपान स्वस्थ्यकर हुँदैन भन्ने जमात पनि सानो छैन । रेष्टुरेन्टले ताजा, शुद्ध, पोषिलो खानेकुरा नै पस्कन्छ भन्ने कुरामा शंसय नै छ । त्यसैगरी रेष्टुरेन्टले जथाभावी शूल्क लिने गुनासो पनि व्यापक छ । यसै सन्दर्भमा हामीले लेकाली किचेनका सञ्चालक मधुसुदन ढकालसँगरेष्टुरेन्टको खानपान सम्बन्धी प्रश्न गरेका थियौं ।

हामीकहाँ रेष्टुरेन्ट संस्कृतिको विकास कसरी भइरहेको छ ?

नेपालमा पछिल्लो एक दशक यता रेष्टुरेन्ट व्यवसायमा तीब्र लगानी भइरहेको छ । विशेषतः शहरी क्षेत्रका मानिहरुमा रेष्टुरेन्टमा गएर खानाखाने प्रवृत्ति बढेसँगै रेष्टुरेन्टमा लगानी पनि बढ्दै गएको हो । नेपालमा पहिले फाष्टफूड रेष्टुरेन्ट र भोजनालयमा बढी लगानी हुन्थ्ये । पछिल्लो समयमा विदेशी खानाहरु (थाइ, कोरियन, चाइनिज, इटालियन) र नेपाली खानाहरु (नेपालका विभिन्न भेगका स्थानीय खानाहरु) उपलब्ध हुन थालेका छन् ।

यसरी विश्वभरका प्रसिद्ध खाना नेपालमै खासगरी शहरी क्षेत्रमा उपलब्ध हुन थालेका छन् । यी विविध स्वाद चाख्न चाहने पारखीहरु रेष्टुरेन्ट धाउने गर्छन् । साथसाथै बिदाको बेला यसो मुड फ्रेस गर्न पनि कतिपय रेष्टुरेन्ट आइपुग्छन् । पारिवारिक जमघटका लागि पनि उपयुक्त थलो बनेको छ, रेष्टुरेन्ट ।

मधुसुदन ढकाल

 नियमित रुपमा रेष्टुरेन्ट धाउनेहरु पनि छन् ? 

काठमाडौं लगायत विभिन्न शहरी भेगका मानिसहरुमा रेष्टुरेन्टमा गएर खाने प्रचलन दिनानुदिन बढ्दै गएको छ । नेपालका रेष्टुरेन्टमा बढ्दै गएको लगानीले पनि रेष्टुरेन्टमा नियमित खानेहरु बढ्दै गएका छन् । तर, यतिले नै नियमित खान्छन भन्ने छैन । शहरका स्थानीय मानिस र आय आर्जन राम्रो भएकाहरु रेष्टुरेन्टमा नियमित जस्तै हुन्छन् ।

परिवार सहित आउनेको संख्या धेरै हुन्छ कि एक्लै आउनेहरु ?

पछिल्लो दुई/चार वर्ष यता रेष्टुरेन्टमा परिवार सहित खाने प्रचलन बढेको छ । काम विशेषले परिवारबाट टाढा हुने र परिवारलाई समय दिन नसक्ने मानिसहरुमाझ अझ यो लोकप्रिय  छ । आय-आर्जन राम्रो भएको परिवारले कम्तिमा हप्ताको एकपटक भएपनि बाहिरको खाना खाने र फ्रेस हुने प्रचलन बढ्दै गएको छ ।

घरको खाना छाडेर किन रेष्टुरेन्टमै किन आउँछन ?

विशेषतः मानिसहरु फरक टेष्ट लागि र रिफ्रेसको लागि रेष्टुरेन्टमा आउने गरेका छन । त्यो बाहेक समय अभाव र काम विशेषले पनि रेष्टुरेन्टको खाना खान आइरहेका हुन्छन ।

रेष्टुरेन्टमा पाक्ने खानाको गुणस्तरमा धेरैले शंका गरिरहेका हुन्छन् । यसको कारण के हो ?

रेष्टुरेन्ट व्यवसाय, व्यवसाय मात्रै होइन एउटा सेवा पनि हो । विशुद्ध पैसा कमाउने मनसाय भएका व्यक्तिहरुले यस्तो कुरामा ध्यान नदिँदा रेष्टुरेन्ट व्यवसाय केही हदसम्म बदनाम भएका उदाहरण छन् । आममानिसमा त्यो छापले केही असर गरेको पनि हुनसक्छ । तर, पछिल्लो समय खुलेका अधिकांश रेष्टुरेन्टहरु आफ्नो ब्राण्डमा चिन्तित छन र कसरी हुन्छ मर्यादित बनाउन लागि परेका छन ।

रेष्टुरेन्टमा पाक्ने खानामा बासी, पुरानो तेलमा पकाइन्छ भन्ने गुनासो आउँछ नि ?

पुरानो तेलमा पकाउने र बासी खानेकुरा दिने भन्नेकुरा धेरै रेष्टुरेन्टको स्तर अनुसार हुन्छ भन्नेमा दुईमत छैन । करोडौं लगानी गरेर खुलेका रेष्टुरेन्टमा त्यस्तो हुनै सक्दैन । प्रायः ठूला रेष्टुरेन्टमा अर्डर अनुसारको खाना बन्ने भएकोले पनि ठूला रेष्टुरेन्टमा बासी खानेकुरा खुवाउँछ भन्नु गलत हो । स-साना रेष्टुरेन्ट र खाजा पसलमा त्यस्तो नहोला भन्न त सकिन्न । तर, हरेकले आ–आफ्नो तर्फबाट राम्रो र मीठो दिने कोसिस गरिरहेकै हुन्छन ।

रेष्टुरेन्टले खानेकुराबाहेक अतिरिक्त शुल्कको बोझ किन भिराउँछन् ?

जहाँसम्म खानेकुरा बाहेक भ्याट र सर्भिस चार्जको कुरा गर्नुभयो यसलाइ गलत नै मान्छु । आम मानिसले मेन्युमा भएको रेटमा खान पाउनुपर्छ भन्ने मेरो पनि मान्यता हो । मेरो रेष्टुरेन्टकै कुरा गर्ने हो भने हामी हाम्रो ग्राहकसँग भ्याट र सर्भिस चार्ज भनेर अतिरिक्त शुल्क लिँदैनौं । कतिपय रेष्टुरेन्टले सर्भिस चार्ज लिन छोडिसकेको अवस्था छ । जहाँसम्म भ्याटको कुरा छ यो व्यवसायीले आˆनो खुशीले लगाएका होइनन् । तर, सरकारलाई कर तिर्नु राम्रै कुरा हो भन्ने लाग्छ ।

रेष्टुरेन्टले अतिरिक्त भ्याटको बोझ चाहिँ किन उपभोक्तालाई बोकाएका नि ?

करिब एक दशक अगाडि विभिन्न श्रमिक संगठनले सर्भिस चार्ज लगाउन थालेका हुन् । यसले श्रमिकको आम्दानीमा थोरै भएपनि टेवा पुर्‍याउँछ भनेर यस्तो सुरु गरिएको हो । तर, यो गलत नै हो श्रमिकलाई काम लगाएपछि व्यवसायीले नै उसको समस्या बुझ्नुपर्न न कि ग्राहकले । रेष्टुरेन्टका मालिक र श्रमिकबीचको समस्यामा ग्राहक शिकार हुनुहुँदैन ।

स्वास्थ्यकर्मी एवं पोषणविद्हरुले रेष्टुरेन्टको खानेकुरा उपयुक्त हुन्न भन्छन् नि ?

जहाँसम्म स्वास्थकर्मी र पोषणविद्हरुको कुरा छ उहाँहरु किताबबाट परिचालित हुनुहुन्छ । उहाँहरुले जे पढ्नुभयो त्यही समाजमा लागु हुन्छ भन्ने सोच्नुहुन्छ । हुनपनि, किताबमा लेखेजस्तै गरी त नेपाली रेष्टुरेन्टमा खानेकुरा बन्न असम्भव नै छ । किताबमा लेखिएजस्तै यो खानामा यति नै पोषणतत्व हुनुपर्छ भनेर नेपालका रेष्टुरेन्टमा बन्छन् भन्ने लाग्दैन । तर, अस्वस्थकर बन्छन् भन्ने पनि होइन ।

रेष्टुरेन्टको खानेकुरामा गुणस्तर कायम राख्न के गर्नुपर्ला ?

रेष्टुरेन्टको गुणवक्ता कायम राख्न हामीले माथि चर्चा गरेकै कुरामा ध्यान दिएमात्रै पनि पुग्छ र यस क्षेत्रमा आवद्ध व्यवसायी एवं श्रमिकले पनि व्यवसायप्रति उत्ति नै जिम्मेवार हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment