Comments Add Comment

स्वदेशी उत्पादनलाई प्रश्रय दिनेगरी भन्सार दरमा हेरफेर, व्यवसायीको स्वागत

२८ कात्तिक, काठमाडौं । स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने नीति लिएको सरकारले आयातीत वस्तुको भन्सार महसुल दरमा हेरफेर गरेको छ । यसलाई व्यवसायीहरूले स्वागत गरेका छन् ।

कुखुरापालक, तयारी रङ्ग उत्पादन तथा वाइन उत्पादन गर्ने उद्योग र कफी उत्पादन गर्ने व्यवसायीलाई नयाँ भन्सार दरले लाभ मिल्नेछ ।

कात्तिक २५ मा प्रकाशित राजपत्रको सूचनाअनुसार, चल्ला कोरल्न ल्याइने निषेचित फुलमा लाग्ने भन्सार महसुल ५० प्रतिशतले घटाइएको छ । यस्तै, तयारी रङ्ग उत्पादन गर्नेले उद्योगकै प्रयोजनका लागि ल्याइने कच्चा पदार्थ एक्रेलिक इमल्सनमा लगाइँदै आएको ३० प्रतिशत भन्सार १० प्रतिशतले कटौती गरेर २० प्रतिशतमा झारिएको छ ।

अर्थ मन्त्रालयका अनुसार, १२ प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा भएको स्वदेशी फलफूलको रसबाट निर्मित वाइनको अन्तःशुल्कको दरमा ३० प्रतिशत छुट दिने घोषणा गरिएको छ । भारत र चीनसहित विभिन्न १४ मुलुकबाट भित्रिने कफी र कफी मिसिएको वस्तुमा १० प्रतिशत अन्तःशुल्क लगाइने छ ।

व्यवसायी उत्साहित

नेपाल चेम्बर अफ कमर्सले स्वदेशी उद्योग प्रवद्र्धन हुनेगरी नयाँ भन्सार दर निर्धारण स्वागतयोग्य कुरा भएको जनाएको छ । कुखुरापालन व्यवसाय र रङ्ग उत्पादन गर्ने उद्योगको लागि घटाइएको भन्सार महसुलले स्वदेशी उद्योगको क्षमता र उत्पादन बढ्ने चेम्बरको विश्वास छ ।

कफी उत्पादनकर्ता तथा स्वदेशी फलफूलबाट वाइन बनाउने उद्योगका लागि सरकारले लिएको नीति सकारात्मक रहेको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् ।
‘देशमै उत्पादन हुने वस्तुको आयातमा अंकुश लगाउनु उद्योगीको हितमा हुन्छ, यो राम्रो कदम हो,’ अध्यक्ष श्रेष्ठले भने ।

यस्तै नेपाल चिया तथा कफी उत्पादक संघका निवर्तमान अध्यक्ष उदय चापागाईं विदेशी स्वाद चाख्नेहरूका लागि मूल्यमा केही वृद्धि भए पनि आयातीत कफीजन्य वस्तुको भन्सार दर थपिनुलाई सकारात्मक मान्छन् । नेपालको माग नेपाली कफीले नै धान्ने अवस्था सृजना भएको अवस्थामा अब नेपाली कफीले बजार पाउने चापागाईंका भनाइ छ ।

स्वदेशी उद्योगलाई संरक्षण गर्न सरकारले चाहेको बेलामा भन्सार दर परिवर्नत गर्न सक्ने भन्सार विभागका निर्देशक एवं प्रवक्ता शिशिर घिमिरे बताउँछन् । अहिले गरिएको भन्सार महसुल परिवर्तनले कुखुरापालक व्यवसायी, कफी व्यवसाय गर्ने कृषकलगायत लाभान्वित हुने उनको भनाइ छ ।

‘भन्सार महसुल ढिलो छिटो किन बढ्यो भन्दा पनि परिवर्तित भन्सारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने उद्देश्य राख्यो कि राखेन ? त्यो बुझ्न जरुरी छ,’ निर्देशक घिमिरेले भने ।

स्वदेशी उद्योगको क्षमता बढाउने र देशलाई आत्मनिर्भरतातर्फ लैजानका लागि भन्सार दर बढाइएको उद्योग मन्त्रालयले जनाएको छ । स्वदेशमै उत्पादन गर्ने वस्तु विदेशीभन्दा सस्तोमा पाइयोस् भन्ने वातावरण बनाउन सरकार लागि परेको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसी बताउँछिन् । सरकारले स्वदेशी उद्योगी व्यवसायीसँगको छलफलबाटै यस्तो निर्णय लिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment