Comments Add Comment

न एटीएम चल्छ, न भिखारीले हिँड्न दिन्छन् !

केही दिनअघि कार्यालयको काम सकेर घर जाँदै थिएँ । साँझ परिसकेको थियो । नयाँबानेश्वरको पिपलबोटमा पुगेर गाडी चढ्नुपर्ने भएकाले हतार–हतार हिँडिरहेकी थिएँ । आफ्नै सुरमा हिँडिरेहकी म एउटा दृश्यले एकाएक रोकिएँ ।

नयाँ बानेश्वरनजिकै एकजना टयाक्सी चालक र अर्का एक व्यक्ति पसल छेउमा केही खोजेजस्तो यताउता हेरिरहेका थिए । केही अप्ठयारोमा पो परे कि भनेर म नजिकै गएँ ।

दुईजना एकापसमा कुरा गर्दै थिए । उनीहरुले हिन्दीमा बोलेको सुनें । सहजै अनुमान लगाउन सकिन्थ्यो कि तीमध्ये एक व्यक्ति भारतीय रहेछन् ।

‘आजभोलि जहाँ पायो त्यहीँको एटीएम नचल्ने’ टयाक्सी चालकले बताउँदै थिए । अर्को व्यक्तिले प्रश्न गरिहेका थिए– किन ? ट्याक्सी चालक उत्तर दिँदै थिए एटीएम ह्याक भएकाले आजभोलि सजिलै पैसा निकाल्न गाह्रो छ ।

केही समस्या पो परेछ कि भनेर नजिकै गएर ट्याक्सी चालकलाई सोधें, के खोज्नुभएको हो ? उनले सँगै उभिएका भारतीयलाई देखाउँदै भने, ‘उहाँ राजस्थानबाट नेपाल घुम्न आउनुभएको रहेछ, उहाँसँग नगद छैन रे । कार्डमात्र छ रे । तर, एटीएम चलेन ।’

उनी ती भारतीय पर्यटकलाई होटल वा सपिङ मलमा केही सामान किनेर कार्डबाट नगद निकाल्न मिल्छ कि भनेर आश्वसन दिँदै थिए । उनी हेर्दै आत्तिए जस्तो देखिन्थे । टयाक्सी चालकले यहाँ त्यस्तो होटल कहाँ होला भनेर मलाई सोधे । मलाई उनीहरुको कुरामा विश्वास लागिरहेको थिएन ।

तैपनि उनीहरु नजिकै क्रेडिट कार्ड चल्ने डिपार्टमेन्ट स्टोर खोज्न हिँडे । भारतीयले आफ्नो खल्तीमा एक रुपैयाँ नभएको बताइरहेका थिए । उनी दिक्क भएको बताउँदै थिए ।

बाटोमा मैले सोचें, ती भारतीय टुरिष्टले पैसा निकाल्न पाएनन् ? एटीएम प्रयोग गर्नेहरुको दुःख नै यस्तै छ नेपालमा । राजधानीजस्तो शहरमा पनि बैंकिङ सुविधा सहज नहुँदा धेरै मानिसले दुःख पाउनु परिरहेको छ । आफूले खोजेको समयमा सुविधा लिन सकिएन भने योे एटीएम कार्डको के अर्थ भयो र !

हामी भ्रमण वर्ष २०२० को कुरा गरिरहेका छौं । विश्व सम्पदा सुचीमा सुचीकृत बौद्धनाथ गुम्बामा हरेक दिन हजारांैको संख्यामा स्वदेशी–विदेशीहरु घुम्न आउँछन् । तर, त्यहाँ बिहानैदेखि माग्न बस्नेहरुले पर्यटकको लुगा तान्दै खुट्टा समाउँछन् । उनीहरु अचम्म मानेर पर–पर भागिरहेका हुन्छन् । यतिसम्म कि माग्नेले उनीहरुलाई हिँड्नसमेत दिँदैनन् । यस्तो हर्कतले पर्यटकहरु आजित भइरहेका छन् । र, यसले विश्व सम्पदा सुचीमा रहेको बौद्धनाथको साख घटाइरहेको छ ।

बौद्धमा मात्र होइन पशुपति, बसन्तपुरमा पनि यस्तो दृश्य देख्न पाइन्छ । नेपालको सौन्दर्यका बारेमा जति नै गुनगान गाए पनि, प्रधानमन्त्रीले सडकलाई भिखारीविहीन बनाउँछु भने पनि पर्यटकले काठमाडौंमा आनन्दसँग घुम्न पाइरहेका छैनन् । बौद्ध क्षेत्रमा व्यापार गर्ने व्यापारीसमेत भिखारीको पीरले आजित भइसकेका छन् ।

सरकारले सडक, मठ मन्दिर लगायतका क्षेत्रमा माग्ने मुक्त क्षेत्र बनाइने बनेर घोषणा गरेको थियो । तर, सरकारको त्यो घोषणालाई बौद्ध, स्वयम्भु, बसन्तुपरमा माग्नेहरुले खिल्ली उडाइरहेका छन् ।

नेपाल घुम्न आएका पर्यटकहरु लुटिएको र ठगिएको पनि प्रशस्त सुन्न पाइन्छ । एउटा पर्यटकले नेपाल घुम्दा ठग र असहयोगीहरुको सामना गर्नुपर्‍यो भने विदेशमा गएर उसले आफ्नो साथीलाई नकारात्मक कुरा सुनाउँछ भन्नेतर्फ हामीले ख्याल गर्न जरुरी देखिन्छ ।

नेपाल सरकारले भ्रमण वर्ष २०२० लाई भव्यताका साथ मनाउने तयारी गरिहेको छ । त्यसका लागि प्रचार–प्रसार पनि भइरहेको छ । तर, विदेशी पर्यटकले खोज्ने सुविधा र सेवातर्फ पनि सरकारले ध्यान दिने हो कि ? सरकारले यतातिर पनि सोच्नेबेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment