Comments Add Comment

निजगढ विमानस्थलको नाम फेर्ने पर्यटनमन्त्रीको प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई । फाइल फोटो

१ मंसिर, चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रकृया सुरु भएको बताएका छन् । साथै विमानस्थलको नाम फेर्ने सोच बनाएको पनि उनले जानकारी दिए ।

चितवनको सौराहा आएका मन्त्री भट्टराईले अनलाइनखबरसँग कुरा गर्दै विमानस्थल बन्ने कुरा सुनिश्चत गर्न एकीकृत प्रस्ताव बनाएर मन्त्रिपरिषद् लैजाने तयारी भइरहेको बताए । ‘विमानस्थलको ईआईए गरेर वन मन्त्रालयमा पठाएका छौं, मन्त्रालयले अध्ययन गरिरहेको छ,’ उनले भने, ‘अब छिट्टै दुवै मन्त्रालयस्तरमा सहमति गरेर एकीकृत प्रस्ताव तयारी गरी मन्त्रिपरिषदमा लैजान्छौं ।’

मन्त्रिपरिषदले प्रस्ताव पास गरेपछि विमानस्थल बन्ने सुनिश्चित हुने उनले बताए । एकीकृत प्रस्तावभित्र टाँगिया बस्ती स्थानान्तरणदेखि रुख कटान, बनाउने मोडल र अन्य व्यवस्थापकीय कार्यहरु समेटिने मन्त्री भट्टराईले जानकारी दिए ।

निजगढको भन्दा धेरै जग्गा कोल्वीको पर्छ, जीतपुर सिमराको पनि पछर्,’ मन्त्री भट्टराईले भने, ‘निजगढ नाम परिवर्तन गरेर बारा राख्न छलफल चलाएका छौं

पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री भट्टराईले मंसिर महिनाभित्र विमानस्थलको शिलान्यास गर्ने बताएका थिए । मंसिरभित्र विमानस्थलको शिलान्यास हुन्छ त भन्ने प्रश्नमा मन्त्री भट्टराईले भने, ‘डोजर लगाएर इँटा राखेपछि मात्रै शिलान्यास भयो भन्ने चलन छ, इँटा राख्नु ठूलो कुरा होइन, इँटा राखेपछि काम धमाधम हुनुपर्छ भन्ने मान्यता हामी राख्छौं ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा २५ लाख रुख काटिने भनेर गरिएका चर्चा विमानस्थल बन्न नदिने सानो संख्यामा मान्छेले गरेको हल्ला मात्र भएको मन्त्री भट्टराईले बताए ।

विमानस्थल बनाउन सबै राजनीतिक दल एकमत रहेको उनको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक ६ सय उडानबाट २० हजार यात्रुले सेवा लिएको जानकारी दिँदै मन्त्री भट्टराईले भने, ‘२० लाख पर्यटक भित्राउन पनि यो विमानस्थल सानो भइसक्यो, निजगढको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छँदैछैन यसलाई नेपालको सिभिल एभियसनको अन्तर्राष्ट्रिय हब बनाउनुपर्छ ।’

‘विमानस्थलको नाम परिवर्तन हुन्छ’

मन्त्री भट्टराईले विमानस्थलको नाम परिवर्तन गरेर ‘बारा अन्तर्राष्ट्रिय विमानस्थल’ राख्ने तयारी भइरहेको सुनाए । विमानस्थल बन्ने जग्गा निजगढको मात्र नपर्ने भएकाले नाम परिवर्तन गरेर बारा राख्ने सोच बनाएको उनले बताए । ‘निजगढको भन्दा धेरै जग्गा कोल्वीको पर्छ, जीतपुर सिमराको पनि पछर्,’ मन्त्री भट्टराईले भने, ‘निजगढ नाम परिवर्तन गरेर बारा राख्न छलफल चलाएका छौं ।’

शनिबार साँझ चितवनको सौराहामा आएर बसेका मन्त्री भट्टराई निजगढ विमानस्थलबारे छलफल गर्न त्यसतर्फ लागेका छन् । उनले सरोकारवाला तीनवटा नगरपालिका, त्यस क्षेत्रका सांसद, प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने छन् । विमानस्थल बन्ने क्षेत्र अध्ययन गर्ने र स्थानान्तरण गर्नुपर्ने टाँगिया बस्तीका बासिन्दासँग पनि अन्तरक्रिया गर्ने भट्टराईले जानकारी दिए ।

लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जुरिच इन्टरनेशनल एयरपोर्ट एजीसँग विस्तृत प्रस्ताव माग गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

तीन खर्ब लागन अनुमान गरिएको निजगढ विमानस्थललाई सरकारले पछिल्लो लगानी सम्मेलनमा सोकेसमा राखेको थियो । यो विमानस्थल बनाउन नेपाली कम्पनी म्याट्रिक्स इन्टरप्राइजेजले पनि इच्छा देखाएको थियो । यस्तै चीनका दुई सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ र चाइना एयरपोर्ट कन्स्ट्रक्सन, भारतीय कम्पनी जीएमआर र फ्रान्सको भिन्ची एयरपोर्टले पनि निजगढ विमानस्थल बनाउन प्रस्ताव पेश गरेका थिए ।

तर, जुरिच एयरपोर्ट एजीलाई मात्र लगानी बोर्डले योग्य ठहर्‍याएको हो । यसले अन्य देशमा एयरपोर्ट सन्चालन र व्यवस्थापनको काम पनि गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment