+
+

भारतलाई प्रधानमन्त्रीको आग्रह : कालापानीबाट सेना फिर्ता लैजाऊ

'यो पहिलेको जस्तो सरकार होइन'

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते २०:२४

१ मंसिर, कामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि मिच्न नदिने भन्दै कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।

हालसालै भारतले जारी गरेको राजनीतिक नक्साबारे प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट पहिलो पटक बोलेका हुन् । भारतीय नक्साको नेपालमा सबैले विरोध गरेका छन् र दुई साता अघि प्रधानमन्त्री ओली नै बोलाएको सर्वदलीय बैठकले भारतसँग उच्चस्तरमा वार्ता गर्न आग्रह गरेको थियो ।

तर पछिल्ला दिनहरुमा विपक्षी दलका नेताहरुले प्रधानमन्त्री किन मौन भन्ने प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने दशकौं अघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेको भन्दै असन्तुष्टि समेत जनाए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सवद्ध युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकार कसैलाई पनि हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’

उनले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने भन्दै उत्श्रृंखल गतिविधि नगर्न समेत आग्रह गरे ।

‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि सबैलाई धन्यवाद दिन चाहन्छु’ प्रधानमन्त्री ओलीले भनेे, ‘तर आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उत्श्रृंखल गतिविधि अनुचित छन् । हामी कूटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौं ।’

कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिएको भन्दै उनले भने, ‘नक्सा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं ।’

संसदको राज्य व्यवस्था समितिले नै लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए । केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै उनले अहिले नेपाल त्यो अवस्थामा नरहेको बताए ।

‘नेपालको गरिमा बढेको छ । महत्वपूर्ण शक्ति रास्ट्र प्रमुखको भ्रमण लगातार भइरहेको छ’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अहिले नेपालको कुरा सुनिन थालेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?