Comments Add Comment

लगानी झिक्दै उत्तर कोरियाका ३३ नागरिकले नेपाल छाडे

१ मंसिर, काठमाडौं । नेपाल सरकारको चेतावनीपछि आफ्नो सबै लगानी फिर्ता लिएर उत्तर कोरीयाली नागरिकहरुले नेपाल छाडेका छन् । सरकारले संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयलाई पत्र लेख्दै उत्तर कोरियालीले लगानी फिर्ता लगेको जानकारी गराएको छ ।

उत्तर कोरियाको नेपालमा लगानी रहेको भन्दै राष्ट्र संघ र अमेरिकाले नेपालमाथि दबाव दिँदै आएका थिए । उक्त दबावका कारण सरकारले लगानी फिर्ता गर्न अल्टिमेटम दिएको थियो । सरकारले समयसीमा तोकेरै लगानी फिर्ता लैजान ताकेता गरेपछि उनीहरु नेपालबाट बाहिरिएका हुन् ।

अक्टोबर ३१ बाट भिसा अवधि सकिएका ३३ उत्तर कोरियाली लगानीकर्ताले नेपाल छोडेको जानकारी गृहमन्त्रालयबाट आफूले पाएको उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताए ।

उत्तर कोरियाको आणविक हतियार र क्षेप्यास्त्र मोहले विश्वमा खतरा उत्पन्न भएको भन्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले २०५० सालमा नाकाबन्दी लगाउने निर्णय गरेको थियो । २०७५ पुसमा नाकाबन्दी थप कठोर बनाइएको थियो । राष्ट्रसंघले उत्तर कोरियालाई अन्य देशसँगको आर्थिक कारोबारमा प्रतिबन्धसँगै लगानी गर्नसमेत निषेध गरेको छ ।

यो पनि पढ्नुहोस उत्तर कोरियाली लगानी फिर्ता गर्न आलटाल, सरकारले काट्यो अर्को पत्र

सोही प्रतिवेदनमा टेकेर राष्ट्र संघको कोअर्डिनेटर नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक्सपर्टले २०७४ साउनमा परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नेपालमा सञ्चालित उत्तर कोरियाली लगानीको व्यवसाय बन्द गर्न र कामदारलाई रोजगारी नदिन पत्र लेखेको थियो । राष्ट्र संघले दबाव थोपरेपछि परराष्ट्र मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर उत्तर कोरियाको लगानीमा सञ्चालित सबै व्यवसाय बन्द गर्न भनेको थियो ।

पछिल्लो २३ वर्षमा मिसन अस्पताल, होटल, रेष्टुरेन्टदेखि सफ्टवेयर डेभलपमेन्टसम्मको क्षेत्रमा उत्तर कोरियाली लगानीकर्ताले नेपालमा लगानी ल्याएका थिए । गत वर्ष नेपालमा २३ करोड हाराहारी उत्तर कोरियाली लगानी प्रतिबद्धता आएको थियो । उद्योग विभागका अनुसार अक्टोबर अन्तिम अर्थात कात्तिक १५ पछि उत्तर कोरियाली लगानीकर्ताले नयाँ लगानी नेपाल भित्र्याउन पाउने छैनन् ।

यसअघि विभागको विवरणअनुसार नेपालमा १८ करोड ६५ लाख ४९ हजार नेपाली रुपैयाँ बराबरको उत्तर कोरियाली लगानी थियो ।

उत्तर कोरियाली लगानीकर्ताले सबैभन्दा बढी होटल रेष्टुरेन्टको क्षेत्रमा लगानी गरेका थिए । हिमालयन सोजी रेष्टुरेन्ट, होटल रिमिन एन्ड रेस्टुरेन्ट, पोङयाङ अकुग्यान नेपाल, योङबोङ चान्ड आइटी कम्पनी, बोटोङगाङग रेस्टुरेन्ट एन्ड बार, मिनस रेष्टुरेन्ट एन्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन, पोङयाङ अकुग्यान रेष्टुरेन्ट र नेकोर्यो अस्पताललाई लगायत कोरियाली लगानीका व्यवसाय थिए ।

कोरियाली लगानीका उद्योग तथा व्यवसायबाट ३ सय ४६ जनाले रोजगारी पाएका थिए । श्रम विभागका अनुसार नेपालमा श्रम स्वीकृति लिएर ४ जना उत्तर कोरियाली नागरिकहरुले काम गरिरहेका थिए ।

उद्योग विभागले ४५ दिनभित्र उद्योग बन्द गरेर लगानी फिर्ता लैजान र स्वदेश छोड्न गत भदौ २४ गते उत्तर कोरियली व्यवसायीलाई पत्र काटेको थियो । सरकारले कोरियाली लगानीकर्ताको भिसासमेत अक्टोबरपछि लागि थप गरीएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment