Comments Add Comment

स्वदेशमा पसिना बगाउन लाज मान्नेहरु विदेश जान्छन् : गभर्नर नेपाल

१ मंसिर, काठमाडौं । गभर्नर चिरञ्जीवि नेपालले नेपालमा उद्यमशीलताको प्रशस्त सम्भावना हुँदा पनि स्वदेशमा परिश्रम नगरी विदेश जाने प्रवृत्ति रहेको बताएका छन् । पसिना नेपालमा बगाउँदा लाज हुने भन्दै युवाहरु विदेश गइरहेको उनको टिप्पणी छ ।

‘विदेश नै जानुपर्छ रातभर लाइन लाग्छन्, लाठी चार्ज गर्नुपर्ने स्थिति छ,’ काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपालले भने, ‘अनि अर्काको देशमा पसिना बगाएर हाम्रो देश बनेन भन्छन् । हाम्रो देश अरु कसलै बनाइदिदैन । हामीले नै बनाउने हो ।’

बैंकमार्फत आपूर्ति हुने पैसा सदुपयोग नभएकोमा पनि उनले चिन्ता व्यक्त गरेका छन् । ७ सय ४१ तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको उल्लेख गर्दै गभर्नर नेपालले घरघरमा पैसा सजिलै पुगिरहेको बताए ।

‘अधिकांश स्थानीय तहमा वाणिज्य बैंककै शाखा पुगिसकेका छन्,’ गभर्नर नेपालले भने, ‘घरघरमा पुगेको पैसाको सदुपयोग किन नगरेको ?’

सर्वसाधारण मात्रै नभएर बैंक तथा वित्तीय संस्थाहरुको पनि कमजोरी देखिएको उनले बताए । बैंकिङ एक्स्पोमा सबै बैंक तथा वित्तीय संस्थाहरुको सहभागी नभएकोमा पनि उनले गुनासो गरे ।

‘बैंकबारे बुझाउन नसकिएकै कारण मान्छेहरुले उद्यमशील कसरी बन्ने भन्नेबारे थाहा नपाएका हुन्,’ गभर्नर नेपालले भने ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष परिष्ठनाथ पौड्यालले पुँजी बजारको विकास तीव्र रुपमा भइरहेको बताए । बोर्डकै आयोजनामा यस अघि काठमाडौं र को विराटनगरमा पुँजी बजार प्रदर्शनी सम्पन्न गरिएको भन्दै यस्ता प्रदर्शनीले शेयर बजारबारे जानकारी लिन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकबारे नकरात्मक हल्ला भएको गुनासो गरे । बैंकले दुःख दियो भनेर कहिलेकाही गुनासो आउने गरेको भन्र्द धेरै गुनासाहरु बैंकिङ सेवाबारे जानकारी नभएका कारण आउने गरेको शेरचनले बताए ।

वाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स संघको आधिकारिक रुपमा प्रतिनिधित्व गर्दै बोलेका सीईओ शेरचनले बैंकहरु सेवामूखी भएको बताए । बैंकहरु पनि नियमनभित्र रहेको भन्दै जनतालाई सास्ती नभई सेवा दिन नै बैंकको स्थापना भएको उनले बताए ।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पनि बैंकबारे पछिल्लो समय गलत सूचनाहरु सम्प्रेषण हुने गरेको भन्दै आपत्ति जनाए । बैंकको आधा सूचना लिएर भ्रमपूर्ण प्रचार हुने गरेको भन्दै उनले त्यो गलत भएको बताए ।

‘ख’ वर्गका बैंकका सीईओहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएनका महासचिव समेत रहेको ज्ञवालीले बैंकहरु समृद्धिको संवाहकमात्रै नभई जीवनको ब्लड भएको बताए । शरिरको रगतको महत्वजस्तै समृद्धिमा बैंकको महत्व रहेको उनले बताए ।

लघुवित्त वित्तीय संस्थाका सीईओहरुको संस्था लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले उद्यमशीलता विकासका लागि जनचेतनाको धेरै आवश्यक रहेको बताए । उनले वित्तीय जागरणका लागि आयोजना गरिने बैंकिङ प्रदर्शनी जस्ता कार्यक्रमहरुले जनमानसमा सकारात्मक सन्देश जाने बताए ।

दुई दिनसम्म चल्ने एक्सपोमा सोमबार बिहान सेयर बजार, बीमा र वित्तीय प्रविधि सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम भएर समापन हुने आयोजक संस्थाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment