Comments Add Comment

संसदीय समितिको निर्देशन : कुवेतमा थुनामा रहेका २१ नेपालीलाई स्वदेश फर्काऊ

१ मंसिर, काठमाडौं । संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल नेपाल फिर्ता गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ । थुनामा राखेका उनीहरुको दण्ड जरीवाना तिरेर भएपनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए । थुनामा रहेका ती नागरिकहरुका लागि ५४ लाख रुपैयाँ जरीवाना तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दूतावासको भनाइ छ । त्यसैगरी समितिले उनीहरुलाई अवैधानिक ढंगले कुवेत पुर्‍याउने म्यान पावर कम्पनीमाथि पनि कडा कारबाही गर्न सरकारलाई सचेत गराएको छ ।

यता, सरकारले भने कवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भइरहेको जनाएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरुलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको बताए । उनले समितिको बैठकमा उनीहरुमाथि तोकिएको दण्ड जरीवाना मिनाहा गर्न पनि कुवेत सरकारसँग नेपाली दूतावासले कुरा गरिरहेको जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले कामको खोजीमा अवैधानिक ढंगले कुवेत पुगेका ती नागरिकहरुलाई स्वदेश फिर्ता गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका थिए । समितिका सदस्य प्रकाश रसाईलीले कुवेतमा बन्धक बनाइएका नेपाली कामदारलाई तत्काल फिर्ता गराउन पनि सरकारलाई सचेत गराए ।

समितिका सदस्यहरुले नेपाली कामदारहरुलाई अवैधानिक ढंगले वैदेशिक रोजगारमा पठाउने म्यान पावर कम्पनीको छानवीन गरी कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment