Comments Add Comment

उदयपुरमा २० टिपर स्थानीयको नियन्त्रणमा, ठेक्का खारेजीको माग

१ मंसिर, काठमाडौं । उदयपुरको वेलकामा सिसुवा खोलाको ढुंगा ओसार्ने २० वटा टिपर र एउटा स्काभेटर स्थानीयले नियन्त्रणमा लिएपछि विवाद चर्किएको छ ।

बेलका नगरपालिका ४ र ६ को सीमानामा पर्ने सिसुवा खोलाबाट रातभर ढुंगा ओसारिएको भन्दै स्थानीयले ३ दिनअघि टिपर र स्काभेटर नियन्त्रणमा लिएका थिए ।

स्थानीयले नियन्त्रणमा लिएका सबै टिपरहरु सिरहाको बीपी कन्स्ट्रक्सनका हुन् । उक्त कम्पनीले ३ करोड ५६ लाख रुपैयाँमा गत भदौमा सिसुवा खोलाबाट ढुङ्गा झिक्ने ठेक्का पाएको थियो ।

मध्यरातमा टिप्परले ढुंगा ओसार्दा सुत्न नपाएको भन्दै स्थानीयले टिपर रोकेर विरोध गरेका थिए । अहिले स्थानीयले ठेक्का नै खारेज गर्नुपर्ने माग राखेका छन् । यो विवाद अहिले जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ । ‘अहिले हामीले मिलाउने प्रयास गरिरहेका छौं’ प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले भने, ‘जायज माग सम्वोधन गर्ने विषयमा म मेयरसँग सम्पर्कमै छु, तर उहाँहरुले ठेक्का नै खारेजीको माग राख्नुभएको छ भन्ने सुनिएको छ ।’

बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले संवादबाट निकास निकाल्न आफू तयार रहेको बताएका छन् । टिपरले राति ढुंगा लगेर स्थानीयलाई डिस्टर्ब गर्नु ठेकेदारको गल्ती भएको मेयर थापाको भनाइ छ । ‘नगरपालिकामा वार्ता बसौं भन्दा उहाँहरु (स्थानीय वासिन्दा) मान्नुभएन, उहाँहरुको माग फिल्डमा नै आउनुप¥यो भन्ने छ’ मेयर थापाले भने, ‘वडा कार्यालयमा बसौं न भन्दा पनि उहाँहरु तयार हुनुभएको छैन ।’

के थियो विवाद ?

कात्तिक २७ गते दिनभरि स्काभेटरबाट लोड गरेर रातिको समयमा टिपरबाट ढुंगा सप्तरीतर्फ लगिदै थियो । टिपरका कारण रातभर सुत्न नसकेको भन्दै स्थानीयले कात्तिक २८ गते विहान ढुंगा लोड गरेर आएका टिपर नियन्त्रणमा लिएर लालबजारमा राखिएको स्थानीय माया ओलीले बताइन् ।

त्यसपछि वार्ताका लागि मेयरलाई बोलाउदा नआएको उनले बताइन् । अहिले स्थानीयले टेण्डर खारेज, ढुंगा उत्खनन बन्द गर्नुपर्ने लगायतका माघ अघि सारेका छन् । टिपर नियन्त्रणमा लिएपछि ठेकेदारले धम्क्याएको समेत उनले बताइन् । गुण्डा ल्याएर धम्की दिएको विषयमा छानबिन गरी ठेकेदारमाथि कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment