Comments Add Comment

तनहुँमा चितुवा आतंक- सम्साँझै गाउँ सुनसान

२ मंसिर, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नम्बर २ का दशरथ कुमाल साँझ पर्नेवित्तिकै घरको ढोका लगाउँछन् । नजिकको डाँडामाथि घाम पुगेपछि एक प्रकारको त्रास र सन्नाटा फैलिन्छ उनको मनमा । उनको घरमा सात र दुई वर्षका नातिनीहरु छन् । उनीहरुलाई चितुवाबाट कसरी जोगाउने भन्ने चिन्ताले पिरोल्ने गरेको उनको दुःखेसो छ ।

‘हिजोआज दिन छोटा हुँदै गएका छन्, पाँच बजेतिर घाम अस्ताउन थाल्छ, साँझ परेपछि चितुवाको डर छ,’ दशरथले दुःख सुनाउँदै भने, ‘साना नानीहरुसहित हामी झण्डै १३ घण्टासम्म घर भित्रै हुन्छौं, राति दिसा–पिसाव लागे पनि घरभित्रै कोपरामा गर्नुपर्ने अवस्था छ, शहरमा जस्तो घरभित्रै शौचालय गाउँमा हुँदैन ।’

गाउँमा चितुवाको आतंक बढेपछि यहाँका स्थानीयले घाम अस्ताउनेबित्तिकै घरको मूलढोका र झ्याल बन्द गरेर बस्ने गरेका छन् । चितुवाको डरले बालबालिकाहरु खुल्ला चौरमा खेल्न जान छाडेका छन् । विद्यालय पठाउँदा पनि कतै केही भइहाल्ने हो कि भन्ने चिन्ताले अभिभावकहरु आफैं विद्यालयसम्म पुर्‍याउन र लिन जान्छन् । जंगलमा घाँस दाउरा गर्न जानेहरु पनि घटेका छन् ।

भानु नगरपालिकाको वडा नं. १, २ र ३ मा चितुवाको आक्रमणमा परी ६ जना बालबालिकाले बितेको डेढ वर्षको अवधिमा ज्यान गुमाए । ७ जना घाइते भए । पशुचौपायालाई समेत चितुवाले आक्रमण गर्छ । चितुवाको निशानामा अधिकांश साना–साना बालबालिका पर्ने गरेका छन् ।

चितुवाको आतंक बढ्दै गएपछि बालबालिका जोगाउन नै मुस्किल भएको भानु–२ का अर्का स्थानीय वृद्ध हरिभक्त ढकालले बताए । ‘हामी ठूलालाई त बरु त्यस्तो केही छैन, बालबच्चा जोगाउनै मुस्किल भयो,’ हरिभक्तले भने, ‘उनीहरुमा एकप्रकारको त्रास छ, मनोवैज्ञानिक असर पुर्‍याएको छ ।’

आक्रमण श्रृंखला

चितुवाबाट नगरपालिकाको वडा नं. १, २ र ३ सबैभन्दा बढी प्रभावित छ । पछिल्लोपटक तिहारको टीकाको अघिल्लो साँझ भानु–२ फुर्सेटारका ७ वर्षीय ऋतिक रोकालाई चितुवाले लग्यो । मामाघरमा बस्दै आएका ऋतिककी हजुरआमा घरभित्रै थिइन् । आमा र दुई मामा देउसी खेल्न अन्यत्रै गएका थिए । गाउँमा तिहारको रमाइलो माहौल थियो । साथीसँग देउसी भैलो खेलेर घर आएका ऋतिक साँझ आँगनमा खेलिरहेका बेला घर नजिकैको जंगलबाट आएको चितुवाले घिसार्‍याे । घरबाट करिब ४ सय मिटर पर लगेर मार्‍याे । आँगनमा खेलिरहेका ऋतिक अचानक हराएपछि अभिभावक र गाउँलेले खोजी गर्दै जाँदा घर माथिको जंगलमा देव्रे तिघ्राको मासु खाएर छाडेको अवस्थामा शव फेला पर्‍याे ।
त्यसअघि दशैंको टीकाको अघिल्लो साँझ पनि चितुवाको आक्रमणबाट भानु–१ भन्सारका ३ वर्षीय आशिष बानियाँको ज्यान गयो । घर नजिककै पिङ खेलिरहेका आशिकलाई चितुवाले तानेर लग्यो ।

गाउँमा चितुवाको आतंक बढ्न थालेपछि कतिपय बालबालिका घर छाडेर मामाघरमा नै बस्न थालेका छन् । स्थानीय समाजसेवी तोरण अधिकारीले भने, ‘बालबालिकाहरुलाई कति दिन थुनेर राख्ने, घरभित्र मात्र राख्दा उनीहरुको मनोविज्ञानमा कस्तो असर पर्ला ? साना साना बालबच्चा भनेको पनि मान्दैनन्, सधैं कति पिट्ने ?’

चितुवाको आतंक बढेपछि यहाँ पाहुनासमेत आउन छाडेको गुनासो स्थानीयको छ । कोही पाहुना आए हरेक दिन सुरक्षित भएको खबर आफन्तलाई पठाइरहन्छन् ।

भानु–१ का वडाध्यक्ष प्रेमबहादुर लामाले साँझ–बिहान बारीमा तरकारी टिप्न जाँदा समेत चितुवाको डर लाग्ने बताए । चितुवाको डरका कारण स्थानीयको दैनिक कामकाज नै प्रभावित भएको लामाले बताए ।

चितुवाको आक्रमणमा परी २०७४ फागुन १ मा भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, सोही वर्ष कात्तिक २९ मा जोखानेकी ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १५ मा ढल्केबरका १० वर्षीय अमृत गुरुङ, २०७५ जेठ २४ मा भकुन्डथोककी ९ वर्षीया पुष्पा अधिकारीले ज्यान गुमाए । यो अवधिमा चितुवाले ५७ घरपालुवा जनावर मारेको छ ।

नियन्त्रण प्रयास : परम्परागत खोरदेखि पूजाअर्चनासम्म

चितुवा नियन्त्रणको प्रयास गरे पनि त्यो त्यति प्रभावकारी बन्न सकेको छैन । चितुवा आक्रमणबाट मृत्यु भएका चार जना बालबालिकाका परिवारलाई राहत क्षतिपूर्ति ४० लाख, भालु र चितुवाबाट घाइते भएकालाई ४ लाख रुपैयाँ सरकारमार्फत उपलब्ध गराइएको वन डिभिजन कार्यालयले जनाएको छ । चितुवा प्रभावित क्षेत्रमा करिब ९ सय हेक्टर सामुदायिक वन क्षेत्र छ ।

चितुवाले निकै दुःख दिन थालेपछि यहाँका स्थानीय जनताले चितुवालाई पासोमा हाल्न सामुदायिक वनमा खोर बनाउनेदेखि देवीको पूजाअर्चनासमेत गरेका छन् । नगरपालिका, डिभिजन वन कार्यालयको सहयोगमा वडा नं. २ मा २ वटा, वडा नं. ३ मा ४ वटा र वडा नं. १ मा १ गरी सात वटा परम्परागत खोर बनाइएको छ । थप दुई परम्परागत खोर बनाउने काम भैरहेको छ । दुई आधुनिक खोर पनि छन् ।

खोरहरुमा तीनवटा चितुवा परेका छन् । गत असोज १५ र कात्तिक ११ मा दुईवटा भाले चितुवा र कात्तिक २६ गते अर्को एक पोथी चितुवा खोरमा परे । गत असोज १५ मा काठको परम्परागत खोरमा पारिएको एउटा वयस्क भाले चितुवालाई रुपन्देही शंकरनगरस्थित सामुदायिक प्राणी उद्यानमा पठाइयो, बाँकी दुईलाई चितवन राष्ट्रिय निकुञ्जमा ।
वन डिभिजन प्रमुख केदार बराल आक्रमणमा संलग्न अधिकांश पोथी चितुवा भएको बताउँछन् । उनले पछिल्लो पटकको पासोमा पोथी चितुवा परेपछि अब आक्रमण रोकिन्छ की भन्ने आशा लागेको बताए । ‘चितुवा नियन्त्रणका लागि जंगलमा फुट र क्यामेरा ट्र्यापिङबाट निगरानी पनि गरिरहेका छौं, खोर बनाउने काम पनि चलिरहेको छ,’ डिभिजन प्रमुख बरालले भने, ‘भालेभन्दा पोथी बढी सक्रिय हुन्छ, बच्चासहितको पोथी चितुवाले बढी आक्रमण गरेको पाइएको छ ।’

चितुवा नियन्त्रणको लागि सार्पसुटरसहित १९ जनाको विषेश सुरक्षा दस्ता परिचालन गरिएको छ । यो दस्ताले गत कात्तिक ७ बाट काम थालेको छ । दस्तामा ११ सशस्त्र, ४ नेपाल प्रहरी र वनरक्षक छन् ।

एकातिर चितुवालाई पासोमा पार्ने काम थालिएको छ भने अर्कोतिर यहाँका स्थानीयले देवी रिसाएको भन्दै अघिल्लो साता पूजाअर्चना गरेका छन् । उनीहरूले कालिकादेवी र भीमसेन थुम्की मन्दिरमा बोकाको बलीसहित पूजाअर्चना गरेका हुन् ।

नगरपालिकाको वडा नं. २ का २ सय ५० घरधुरी मिलेर पूजा गर्दै देवीलाई बलि दिइएको वडाध्यक्ष अर्जुनबहादुर केसीले बताए । देवी रिसाएको हुँदा यस्ता घटना दोहोरिएको भन्दै पूजा गरिएको वडाध्यक्ष केसी बताउँछन् । ‘हामीले चितुवाबाट जोगिन अनेक उपाय गरेका छौं,’ वडाध्यक्ष केसीले भने, ‘यो पनि हाम्रो मनमा भित्र चिसो पसेको थियो, त्यसैले पूजा गरेर ढुक्क हुन खोजेका हौं ।’ वडा नं. १ का बासिन्दाले भीमसेन थुम्की मन्दिरमा छुट्टै भँयरको पूजा पनि गरे ।

मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व

यो क्षेत्रमा बसाइँसराइँका कारण जमिन बाँझो हुँदा वन र झाडी निकै बढ्दै गएको छ । वस्ती पातलो बन्दैछ भने, वनजंगल घना । नजिकै रहेका दुई सामुदायिक वनहरुमा नै चितुवाले आश्रय लिने गरेको छ । कतिपय घरहरु नजिकैसम्म वन र झाडी छ । वडा नं. २ मा जंगल नजिकै सुकुम्वासी वस्ती छ । चितुवा आक्रमण गरेर भाग्नका लागि निकै सजिलो छ ।
जंगलमा खानेकुराको अभाव भएपछि चितुवामा मान्छेको वस्तीतिर आउन थालेको नगरपालिकाका प्रमुख उदय गौली बताउँछन् । उनले नगरपालिकाको तर्फबाट जंगलमा चितुवाको आहार प्रजातिको संख्या दीर्घकालीन नीति अघि बढाएको बताए ।

चितुवाको संख्या बढी, तर आहारा अभाव हुँदा चितुवा मानव बस्तीमा आएको हुन सक्ने मेयर गौलीको धारणा छ । उनले भने ‘चितुवाले खाने मृग प्रजाति, खरायो, बाँदर, पर्याप्त भएन, वस्तीतिर आएर साना बालबालिका र पशुचौपायालाई आक्रमण गर्न थाल्यो ।’ यहाँको जंगलमा कतिवटा चितुवा छन् भन्ने एकिन नभए पनि सातवटा जति भएको अनुमान गरिएको डिभिजन वन कार्यालय तनहुँको भनाइ छ ।

चितुवाको आक्रमणबाट हालसम्म ६ बालबालिकाले ज्यान गुमाएपछि स्थानीयबासी आक्रोशित छन् । यसले मानव र वन्यजन्तुबीच द्वन्द्व बढाउँदै लगेको छ । यो बीचमा तीनवटा चितुवा मरेको अवस्थामा भेटिएका छन् । सोमबार बिहानमात्रै चितुवाको एउटा बच्चा मृत अवस्थामा फेला परेको छ

चितुवा मार्ने अधिकार

डिभिजन वन कार्यालयले पनि चितुवाले आक्रमण गर्न आए प्रतिकार गर्न र मार्नेसम्मको छुट स्थानीयलाई दिएको छ । यसले वन्यजन्तु र मानवबीच झनै द्वन्द्व बढाउने देखिन्छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डित

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्ला सुरक्षा समितिको बैठकको निर्णयबाट नरभक्षी चितुवालाई गोली हानेर मार्ने आदेश दिइएको बताए । ‘चितुवा पाटेबाघजस्तो अति लोपोन्मुख प्राणी पनि होइन । यदि नरभक्षी हो भने चितुवा, बाघ, भालु आदिलाई हामीले स्थानीय प्रशासन ऐन प्रयोग गरेर मार्न सक्छौं,’ प्रजिअ पण्डितले भने, ‘स्थानीय प्रशासन ऐन २०२८ को दफा ९ को उपदफा ४ ले त्यो अधिकार दिएको छ ।’

‘जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णयसमेत गराएर भरसक जिउँदै पक्रनू, नसके गोली हानी मार्नू र त्यसको हाडखोर तथा छाला जिल्ला वन कार्यालयमा बुझाउनू भनेर आदेश दिएको छ,’ प्रजिअ पण्डितले भने ।

प्रजिअ पण्डितले चितुवा नियन्त्रणका लागि विशेष सुरक्षा दस्ता परिचालन गरी प्रभावित वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको जानकारी पनि दिए ।

यस क्षेत्रमा चितुवा आतंक बढ्दै गएपछि नियन्त्रणको लागि भन्दै गण्डकी प्रदेश सरकारले ३० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, रकम भने आइनसकेको र के–के शीर्षकमा कसरी खर्च गर्ने भन्ने कुरा विधि बनेर आउनै बाँकी रहेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

प्रभावित क्षेत्रका बासिन्दाको जीवन बीमा

डिभिजन वन कार्यालयले नगरपालिकाले वन्यजन्तुसँग मानवको द्वन्द्व बढ्दै गएपछि प्रभावित क्षेत्रका स्थानीयको जीवन बीमा गर्ने नीति ल्याएको छ । चितवनको रत्ननगर नगरपालिकाले जंगली जनावरबाट हुने सम्भावित क्षतिको बीमा गरेकै मोडलमा यहाँ पनि कार्यक्रम सुरु गर्ने सोच बनाएको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले अनलाइनखबरलाई जानकारी दिए ।
चितवनको सौराहा बद्रेनीका १ सय ४९ घरमा मानव र वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरणको लागि नेपालमै पहिलो पटक यसप्रकारको बीमा गरिएको छ । जंगली जनावरबाट हुने मानवीय, भौतिक, घरपालुवा पशु चौपाया र बालीनालीको एकमुष्ठ बीमा गरिएको हो ।

भानु नगरपालिकाको वडा नं. १, २, ३, ४, ११ र १३ का स्थानीय बासिन्दाको पनि जीवन बीमा गराउने काम अघि बढाइएको डिभिजन बन कार्यालयका प्रमुख बरालले बताए । सामुदायिक वन, भानु नगरपालिका, डब्लूडब्लूएफ र स्थानीयको सहभागितामा शिखर इन्स्योरेन्स कम्पनीसँग जीवन बीमा गर्ने कार्यक्रम अगाडि बढाउन लागिएको जानकारी उनले दिए ।

सरकारले वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा ५० हजार रुपैयाँसम्म, गम्भीर घाइते भएमा एक लाख रुपैयाँसम्म र मृत्यु भएमा मृतकका परिवारलाई अधिकतम १० लाख रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने व्यवस्था छ । बीमा कार्यक्रमपछि बिमितले उपचार खर्च दुई लाख, मृत्यु भएमा १० लाख, बाख्रा मरेमा १२ हजार, गाईभैंसी मरेमा ३५ हजार रुपैयाँ र बालीनाली, घरबास क्षति भए क्षतिको मूल्यांकन गरी राहत तथा बीमा रकम उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment