Comments Add Comment

खैँजेडी भजन संरक्षण गर्न नगरपालिकाको तालिम

३ मंसिर, सिन्धुली । यहाँको मौलिक परम्पराअनुसार लगाइने खैँजेडी भजन लोप हुन थालेपछि युवालाई तालिम दिएको छ ।

संस्कृतिलाई जोगाउन कमलामाई नगरपालिकाले जिल्लामा पहिलोपटक युवालाई छनोट गरेर तालिम दिएको हो ।

सोमबारबाट सुरु तालिम तीन दिनसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । सिन्धुलीमा पहिलोपटक लोपोन्मुख खैँजेडी भजनको संरक्षण गर्नका लागि तालीम शुरु गर्ने कमलामाई नगरपालिकालाई धन्यवाद दिँदै प्रदेशसभा सदस्य विनोद खड्काले हराउन लागेका परम्परागत संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कमलामाई नगरपालिका–४ को आर्थिक सहयोगमा सिन्धुली कलाघरको आयोजनामा खैँजेडी भजन तालीम शुरु गरिएको हो । धार्मिक कार्यमा गाइने खैँजेडी भजन लोकप्रिय भएको अग्रजहरुले बताउँदै लोप हुन लागेकामा चिन्ता व्यक्त गर्दै आएका थिए ।

निकै प्रचलित खैँजेडी भजन पछिल्लो समय लोप हुँदै गएको छ । हिन्दू धर्ममा निकै प्रचलित खैँजेडीको तालमा रातभरि नाचिने भजन केही समययता गाउँघरमा अपवादको रुपमा देख्न पाइन्छ । युवा पुस्तामा विकसित पश्चिमा संस्कृतिको आकर्षण र प्रविधिले गर्दा लोप हुँदै गएको हो ।

सिन्धुली जिल्लामा प्रचलित खैँजेडी भजन तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्धका बेलादेखि विस्तारै लोप हुँदै गएको र पछिल्लो समयमा यसको संरक्षण गर्न समेत नसकिएको कमलामाई नगरपालिका–३ का खैँजेडी भजनका प्रशिक्षकसमेत रहनुभएका पोष्टराज गौतमले बताए ।

युवाको पुरानो संस्कृतिमा आर्कषण बढ्नुभन्दा पनि पश्चिमा संस्कृतिको मोहले पुराना रीतिरिवाज हराउँदै गएको अवस्थामा यस्तो तालीमले संस्कृतिसँगै नेपाली पहिचानको समेत जगेर्ना हुने उनको भनाइ छ । तालिममा २५ जनाभन्दा बढी युवाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment