Comments Add Comment

‘त्रिशुली थ्री ए’ उद्घाटनमा पहिलोपटक ओलीले गरे ‘स्मार्ट’ अभ्यास

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबारबाटै स्वीच थिचेर माथिल्लो ‘त्रिशूली थ्री ए’ आयोजनाको उद्घाटन गरे । यो उद्घाटन शैली प्रधानमन्त्रीका लागि आफैंमा नयाँ प्रयोग थियो ।

नयाँ प्रयोग यस अर्थमा कि प्रधानमन्त्रीले स्वीच थिच्दा नुवाकोटको किस्पाङमा रहेको आयोजनाको विद्युत गृहको टर्वाइन आफैं चल्यो । सबैले सोचे, विगतमा जस्तै यता स्वीच थिचेको खबर आएपछि उता टर्बाइन मेसिन चलाएर नाटक मञ्चन गरिएको होला । तर, त्यो होइन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार माथिल्लो त्रिशूली थ्री एको उद्घाटन पूर्णरुपमा डिजिटल प्रविधिबाट गरिएको थियो । प्रधानमन्त्रीका सूचना प्रविधि (आईटी) विज्ञ अस्गर अलीले पहिलोपटक पूर्ण रुपमा नेपाली प्राविधिकले ‘स्मार्ट’ प्रविधिको प्रयोग गरेर ठूला आयोजनाको उद्घाटनको व्यवस्थापन गरेको बताए ।

यसअघि भदौ १५मा भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पाइपलाइनको उद्घाटन पनि रिमोट थिचेरै गरेको देखाइएको थियो । त्यतिबेला भिडियो कन्फ्रेन्स गरेर स्वीच थिचेजस्तो गर्दै पाइपलाइनमा तेल सुचारु गर्ने काम ‘म्यानुअल्ली’ गरिएको थियो । त्यतिबेला दुई देशका प्रधानमन्त्रीले दुईतर्फ स्वीच थिचेपछि पाइपबाट बोतलमा तेल भर्दै भण्डारणमा खन्याइएको थियो ।

माथिल्लो त्रिशूलीमा थ्रि एमा उद्घाटनमा कुनै पनि काम म्यानुअल्ली नगरिएको बताउँछन्, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।

‘हाम्रो सिस्टम कम्युटराइज्ड र अनलाइनमा आधारित हो, त्यसलाई प्रधानमन्त्री कार्यालयमा फाइबर अप्टिकलबाट लिंक गरेका थियौ,’ घिसिङले भने, ‘प्रधानमन्त्रीज्युले टर्वाइन चलाउने गरी कम्प्युटरमा लिंक गरिएको सिस्टमबाट क्लिक गर्दै उद्घाटन भएको हो । उहाँले गरेको सिंहदरबारमा बसेर गर्नुभएको कमान्डबाटै त्रिशूलीमा टर्वाइन चलेको हो ।’

नेपाली प्राविधिकको कौसल

पहिलोपटक प्राधिरकणले अनलाइन प्रविधिबाट आयोजनाको उद्घाटन कार्यक्रम गरेको हो । यसअघि भने विशिष्ट व्यक्तिलाई आयोजनास्थलमै लगेर उद्घाटन गराउने गरिएको थियो ।

प्रधानमन्त्रीका आईटी विज्ञ अली पहिलोपटक पूर्ण रुपमा नेपाली प्राविधिककै कौसलमा यस किसिमको स्मार्ट उद्घाटन गराउन सकिएको जिकीर गर्छन् । उनका अनुसार पेट्रोलियम पाइपलाइनको उद्घाटनमा पनि भारतीय प्राविधिकको सहयोग लिइएको थियो ।

तर, नेपालले आफ्नै परियोजनामा पहिलोपटक स्मार्ट प्रविधि प्रयोग गरेर उद्घाटन गर्न सकेको उनले बताए । अब यसलाई निरन्तरता दिन सकिने उनको भनाइ छ ।

‘यसपटक हामीले आयोजनामा राखिने उद्घाटनको ताम्रलेख पनि सिंदरबारबाट अनावरण गर्न सक्यौं, यहाँ प्रधानमन्त्रीज्युले कम्प्युटरबाट कमान्ड गर्दै क्लिक गर्दा किस्पाङमा ताम्रपत्र अटोमेटिक अनावरण भयो,’ अलीले भने, ‘अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा आईसकेको यो खालको प्रविधि हामीले पनि सफल रुपमा प्रयोग थालेका छौं ।’


यो स्मार्ट शैलीको उद्घाटनको व्यवस्थापन गर्न सोमबार रातभर तयारीमा जुट्नुपरेको विज्ञ अलीले सुनाए । आयोजनाको विद्युत गृहसहित विभिन्न भागमा टेलिपि्रजेन्स सिस्टम राखेर सिंहदरबारबाटै हेर्न र त्यसलाई उद्घाटनपश्चात अवलोलन गर्न सकिने गरी प्रणाली जडान गरिएको उनले बताए ।

यो पनि पढ्नुहोस कुलेखानी तेस्रो पनि एक महिनाभित्रै उद्घाटन

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिरकणले त्रिशूलीबाट मातातीर्थ जोडिने प्रसारणलाइनमा राखेको फाइबर अप्टिकलमार्फत स्मार्ट प्रविधिको व्यवस्थापन गर्न सहज भएको जानकारी दिए ।

‘यस्तो कामले प्राधिकरणलाई नयाँ प्रविधिको प्रयोग गर्न प्रोत्साहित मात्र गर्दैन, आत्मविश्वासी पनि बनाउँछ,’ कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘अब उद्घाटन र शिलान्यासका कार्यक्रममा पाहुनाको भौतिक उपस्थिति नै चाहिन्छ भन्ने मान्यता विस्तारै हटाउँदै लैजान पनि सकिन्छ ।’

प्रधानमन्त्रीलाई सजिलो

प्रधानमन्त्रीका आईटी विज्ञ अली पनि घिसिङको भनाइमा सहमत छन् । यस्तै प्रयोजनका लागि समेत प्रधानमन्त्री कार्यालयभित्र टेलिप्रिजेन्स सिस्टम जोडिएको उनले बताए ।

यसरी हुने प्रविधिको प्रयोगले प्रधानमन्त्रीको महत्वपूर्ण समय मात्रै नभएर सुरक्षा र व्यवस्थापनको १०-१२ लाख राज्यको खर्च जोगिएको बताए ।

‘कुनै दिन महत्वपूर्ण कार्यक्रमहरु परेमा वा प्रधानमन्त्रीज्यू जान सक्ने अवस्था आए सिंहदरबारबाटै आधा-एक घण्टा समय निकालेर उद्घाटन तथा सम्बोधन गर्न सक्नुहुन्छ,’ उनी भन्छन्, ‘कार्यालयबाट हुने प्रधानमन्त्रीज्यूको सम्बोधन प्रत्यक्ष हेर्न र सुन्न सकिने गरी कार्यक्रम स्थलमा डिस्प्ले राख्न सकिन्छ, हिजो हामीले त्यही गरेका हौं ।’

पछिल्लो सयममा प्रधानमन्त्री ओली अस्वथ रहेकाले पनि उनलाई सहज हुने देखिएको छ । उद्घाटनका लागि प्रधानमन्त्रीले आफ्नै कार्यालयको ‘एक्सन रुम’को प्रयोग गर्न सक्छन् । यो रुमबाट उनले राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

आधुनिक प्रविधियुक्त कक्षबाट गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन (लाइभ मनिटरिङ) गर्ने र आयोजनाका प्रमुखसँग सीधा छलफल गर्ने प्रणाली पनि जोडिएका छन् । यो कक्ष जेठ १५ गतेबाट सञ्चालनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment