Comments Add Comment

बारामा स्रोत नखुलेको साढे ३५ लाखसहित २ जना पक्राउ

३ मंसिर, वीरगञ्ज । बाराबाट प्रहरीले स्रोत नखुलेको ३५ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन्  । जिल्ला बाराको सिम्रौनगढ नगरपालिका– ७ झवानी टोल बस्ने २३ बर्षीय सुनिल महतो नुनिया र २२  बर्षीय राजन कुमार दुवे पक्राउ परेका हुन् ।

अवैध हुण्डीको पैसा लिई दुईजना व्यक्तिहरु मोटरसाइकलमा आउँदैछन भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले सोमबार दिउँसो साढे १ बजे उनीहरुलाई नियन्त्रणमा लिएको थियो । बाराकै  पचरौता नगरपालिका–८ लंगडी चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनीहरु पूर्व सिम्रौनगढतिरबाट महेन्द्र आदर्श तर्फ ना २६ प १६४९ नं.को मोटरसाइकलमा आउँदै थिए । पिठ्युँमा बोकेको झोला चेकजाँच गर्दा नेपाली रुपैयाँ १ हजार दरको १२ सय थान र पाँच सय दरको ४ हजार ७ सय थान गरी जम्मा ३५ लाख ५० हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए ।

‘साथमा बोकेको रकमको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिएका हौं ।’ उनले भने ‘ राजन कुमार दुवेको मोबाईलको ह्वाट्स एपमा बिभिन्न बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित चेक तथा भौचरहरुको फोटो, कारोबारको भ्वाईस रेकर्ड, तथा करोडौं रुपैयाको कारोवार गरेको विवरणहरु समेत फेला परेको छ ।’

उनीहरु विरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धि कसूर, २०७३ अन्तर्गत कसुरमा बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ५ को म्याद थप गरी अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment