Comments Add Comment

मन्त्रिपरिषद् हेरफेरबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

सचिवालय बैठकअघि ओली र प्रचण्डबीच छलफल हुँदै

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिए ।

यो बैठकबाट पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने अनुमान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेर गर्दैछन् । तर, शपथ ग्रहणको समय भने टुंगो लागेको छैन ।

शपथग्रहण समारोहको समयको विषयमा राखिएको जिज्ञासामा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘सचिवालय बैठकपछि हुने भन्ने छ, तर समय टुंगो लागिसकेको छैन ।’

सचिवालय बैठकअघि ओली र प्रचण्डबीच छलफल

सचिवालय बैठकअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छुट्टै छलफल हुँदैछ । प्रचण्डको सचिवालय स्रोतका अनुसार प्रचण्ड बिहान नौ बजे ओलीलाई भेट्न बालुवाटार जाँदैछन् । यो भेटमा प्रचण्डले तत्कालीन माओवादीको तर्फबाट मन्त्री बन्नेहरुको सूची प्रधानमन्त्रीलाई दिने बताइएको छ ।

मन्त्रिपरिषद हेरफेरको विषयमा यसअघि पनि ओली र प्रचण्डबीच पटक-पटक छलफल भइसकेको छ । अघिल्ला छलफलमा पार्टी एकताको बाँकी काम र मन्त्रिपरिषद हेरफेर प्याकेजमै टुंगो लगाउने सहमति भएको थियो ।

गत भदौमा प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मेवारी दिने भनेर ओलीले आश्वासन दिएका थिए । तर, ओलीले आश्वासन दिएजस्तो र आफूले खोजेजस्तो जिम्मेवारी नपाएपछि प्रचण्डले अघिल्लो बैठकमा मुखै खोलेर कार्यकारी अध्यक्षमा दाबी प्रस्तुत गरेका थिए ।

अहिले नेकपाको बाँकी एकता प्रक्रिया पनि कार्यकारी अध्यक्षमै अल्झिएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन । नेकपाको ३२ वटा केन्द्रीय विभाग गठन भए पनि सचिव र सदस्यहरु चयन हुन सकेका छैनन् । साविक एमाले र माओवादीबाट मिलाएर पहिले विभाग सदस्यहरु चुन्ने र त्यसपछि सचिव टुंगो लगाउने तयारी भइरहेको नेकपा स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment