Comments Add Comment

राष्ट्रवादमात्रै भन्ने कि आत्मनिर्भर पनि बन्ने ?

अझै बढ्याे भारतसँग नेपालको व्यापार असन्तुलन

४ मंसिर, काठमाडौं । भारतले नेपालमाथि बारम्बार किन हेपाहा प्रवृत्ति देखाउँछ ? नेपालभन्दा ठूलो र शक्तिशाली देश भएर मात्रै होइन, यसको अर्को ठूलो कारण हो, नेपालको परनिर्भरता ।

भारतले नेपाली भूभागलाई आफ्नो नक्साभित्र पारेको विषय अहिले निकै चर्चामा छ । विगतदेखि नेपालप्रति उसको हेपाहा व्यवहारकै निरन्तरता हो यो । किनकि, भारतलाई सबैभन्दा ठूलो घमण्ड यसैमा छ कि उसले नाकामा सामान रोकिदियो भने नेपालीको चुल्हो बल्दैन ।

हुन पनि नेपालको अर्थव्यवस्था अत्यधिक भारतमुखी हुँदै गइरहेको छ । भारतसँग आयात र निर्यातको असन्तुलन लगातार बढिरहेको छ । राष्ट्रिय स्वाधीनताको कुरा गरिरहँदा यो पक्षलाई कुनै पनि सरकारले सम्बोधन गर्न सकेका छैनन् ।

सरकारी विवरण अनुसार, पछिल्लो ५ वर्ष ३ महिनामा भारतसँग नेपालको व्यापार घाटा ३३ खर्ब ५३ अर्बभन्दा बढी छ । सो अवधिमा २ खर्ब १९ अर्ब रुपैयाँको वस्तु भारत निर्यात गर्दा भारतबाट नेपालले ३५ खर्ब ७३ अर्ब रुपैयाँभन्दा धेरैको वस्तु आयात गरेको छ । पेट्रोलियम पदार्थदेखि तरकारीसम्म, गाडीदेखि साडीसम्म भारतसँगै किनेर उपभोग गर्नुपर्ने नियतिले नै भारतको मनोबल बढाएको हो ।

हरेक नेपालीले सोच्नुपर्ने विषय के हो भने घर अगाडिको डिल बाँझै राखेर भारतबाट धनियाँ र लसुनसमेत किन्छौं भने हाम्रो सरकारले लिने राष्ट्रियताको अडान दरिलो नहुन सक्छ ।

नाकाबन्दीबाट नसिकेको पाठ

नेपालले नयाँ संविधान जारी गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै भारतले ६ महिनासम्म नाकाबन्दी लगाइदियो । नाकाबन्दीले नेपालमा उपभोग्य वस्तुहरुको चरम अभाव सिर्जना भयो ।

यदि कालोबजारीमार्फत भारतबाट पेट्रोलियम पदार्थको चुहावट नभएको भए नेपाललाई आफ्नो अडानमा टिक्न मुस्किल पर्ने अवस्था थियो । त्यतिबेला नेपालको अर्थव्यस्था आत्मनिर्भर बनाउनुपर्ने बहस निकै चर्को रूपमा उठ्यो । पेट्रोलियम पदार्थ चीनबाट ल्याउने गृहकार्यसमेत भयो । तर, नाकाबन्दी अन्त्यसँगै आत्मनिर्भरताको बहस सेलाउन पुगेको छ ।

त्यतिबेला ‘बरू साइकलमा हिँडिन्छ, भारतसँग झुकिन्न’ भन्दै भाषण गरेका तत्कालीन एमाओवादी अध्यक्ष प्रचण्ड अहिले सत्तारूढ दलका अध्यक्ष हुन् । तत्कालीन समयमा भारतविरुद्ध अडान लिने भनेर प्रशंसित केपी ओली नै अहिले पनि प्रधानमन्त्री छन् । तर, पनि देशभित्र उत्पादन बढाएर आयात घटाउनेतर्फ ठोस प्रयास भएको छैन । आयातलाई निरुत्साहन र निर्यातलाई प्रोत्साहन गर्ने केही नीति भने सरकारले ल्याएको छ ।

भारत निर्भरताको पराकाष्टा

नेपाल–भारत आर्थिक सहकार्यको औपचारिक सुरुआत ००७ मा नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणबाट सुरु भएको थियो । त्यसयता थुप्रै क्षेत्रमा दुई देशले सहकार्य गरेका छन् ।

दुई देशबीचको व्यापारिक सम्बन्ध भने लगभग एकतर्फी छ । भारतबाट उच्च परिमाणमा आयात गर्ने नेपालले उल्लेख्य वस्तु निर्यात गर्न सकेको छैन । नेपालमै उत्पादन र बजारीकरणको सम्भावना भएका वस्तुहरू समेत भारतसित किनेर उपभोग गर्ने गरिएको छ ।

जस्तो कि, हाम्रो वरपर प्रशस्त फल्न सक्ने कृषि उपज हो, प्याज । तर, प्याजमा नेपालको भारतसँग परनिर्भरता ९८ प्रतिशत छ । भन्सार विभागको विवरण अनुसार, नेपालीले भारतको नासिक, इन्दौंर, कानपुर, चण्डीगढ, लखनउ, गौरखपुर र सिमलालगायतबाट प्याज किनेर ल्याइरहेका छन् ।

आर्थिक वर्ष ०७५/७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँको प्याज नेपालमा भारतबाट आयात भएको थियो । असोज मसान्तसम्मको विवरण अनुसार, नेपालमा भारतबाट ७ लाख ३९ हजार २५३ किलो सुकेको प्याज भित्रिएको छ । हरियो तरकारी खाने प्याजका पात र बिउको हिसाब यहाँ जोडिएको छैन । अहिले भारतले प्याज निर्यातमा कडाइ गर्दा नेपालमा भाउ आकाशिएको छ ।

नेपालमा प्रशस्त मात्रामा खेतीयोग्य जमिन छ । हाम्रो खेतहरूमा फल्ने मुख्य उत्पादन धान हो । तर, भन्सार विभागको विवरणअनुसार गत वर्ष नेपालले ३० अर्ब रुपैयाँभन्दा बढीको चामल आयात गरेकाे छ ।

आलु, साग, काँक्रो, खुर्सानी, गोलभेंडा, फर्सीजस्ता हरिया तरकारी हरेक नेपालीको करेसामा फल्न सम्भव छ । तर यस्ता वस्तुमा भारतसँगको परनिर्भरता कहालीलाग्दो छ । मुलुकभित्रै मागअनुसार उत्पादन नहुँदा तरकारीको ठूलो हिस्सा भारतमै आयात हुने गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार, कालीमाटी बजारमा दैनिक करिब ८ सय टन तरकारी भित्रिन्छ । जसको करिब ४५ प्रतिशत हिस्सा भारतकै हुन्छ । गत वर्ष १३ अर्बभन्दा धेरैको ताजा तरकारी नेपालमा आयात भएको थियो ।

भन्सार विभागका अनुसार, गत वर्ष २० अर्बभन्दा धेरैको फलफूल नेपालमा आयात भएको थियो । जसमा स्याउबाहेकका धेरै फलफूलको बजार हिस्सा भारतले ओगट्छ । तिहारमा दिदीबहिनीले दिने भाइ मसला, जनैदेखि सयपत्रीका मालासम्ममा भारतबाट ल्याइन्छ ।

पछिल्लो पाँच वर्षको नेपाल र भारतको व्यापार घाटा हेर्ने हो भने जिब्रो टोक्नु पर्ने अवस्था छ । आर्थिक वर्ष ०७१/७२ मा भारतसँगको व्यापार घाटा ४ खर्ब ४४ अर्ब १८ करोड तथा आर्थिक वर्ष ०७२/७३ मा ब्यापार घाटा ४ खर्ब ४७ अर्ब ९० करोडभन्दा धेरै पुगेको थियो । आव ०७४/७५ मा ७ खर्ब ६७ अर्ब ३८ करोड पुगेको व्यापारघाटा आव ०७५/७६ मा ८ खर्ब ५५ अर्ब १९ करोडभन्दा माथि पुग्यो । चालु आवको तीन महिनामा भारतसँग नेपालको व्यापार घाटा १ खर्ब ८९ अर्ब ५४ करोड रुपैयाँभन्दा धेरै पुगेको छ ।

‘विपन्न भए अडान कमजोर हुन्छ’

अर्थशास्त्री  केशवराज आचार्य पुँजीगत वस्तुको आयातले मुलुकको हित गरे पनि उपभोग्य वस्तुको आयात अर्थतन्त्रका लागि घातक हुने बताउँछन् । भारतसँगको कुल आयातको थोरै हिस्सा पुँजीगत र धेरै उपभोग्य हुने भएकाले स्वदेशमै उत्पादन बढाएरमात्रै परनिर्भरता तोड्न सकिने उनको भनाइ छ ।

कतारले उसका छिमेकीहरूले लगाएको नाकाबन्दी चिरेर अगाडि बढेको स्मरण गर्दै राजनीतिक दल र सरकारले उपयुक्त नीति बनाएर काम गर्नु पहिलो सर्त हुने आचार्य बताउँछन् ।

‘आफू सबल नभए अरूको मुख ताक्नु पर्छ र जसको मुख ताक्ने हो ऊविरुद्ध बोल्ने हिम्मत हुन्न,’ आचार्यले भने ।

उनी थप्छन्, ‘आफूले चाहे नेपाललाई ठप्प बनाउन सक्छौं भन्ने भारतले जानेको छ । नेपाल सरकारले लिपुलेकबारे भारतसँग कडा अडान लिँदा नाकाबन्दी भोग्नुपर्‍यो भने के विकल्प हुन्छ ? बरू लिपुलेक खाऊ तर ग्यास, चामल, तरकारी र ग्यास देऊ भन्न बाध्य हुनुपर्छ ।’

भारतमात्रै नभएर कुनै पनि छिमेकीमाथिको पूर्णनिर्भरता मुलुकका लागि हितकर नहुने अर्का अर्थशास्त्री डा.चन्द्रमणि अधिकारी बताउँछन् । आमजनताले आफ्नो सोच बदलेर उत्पादनका लागि नयाँ ढंगले अघि बढ्नुपर्ने उनको मत छ ।

‘देश बनाउन उत्पादन महत्त्वपूर्ण हुन्छ र उत्पादनका लागि युवाहरू मुलुकमा रहनु पहिलो सर्त हुन्छ,’ अधिकारीले भने, ‘एउटै देशसँगको पूर्णनिर्भरताको वैकल्पिक बाटोहरूमा सरकारले ध्यान दिँदै विभिन्न मुलुकतर्फ बजार विस्तार गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment