+
+
Shares

पर्साका सरकारी कार्यालयलाई ‘प्लाष्टिक निषेधित क्षेत्र’ बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते १३:२०

५ मंसिर, वीरगञ्ज । पर्साका सरकारी कार्यालयहरुमा ‘प्लाष्टिक झोला’ निषेध गरिने भएको छ । प्लाष्टिकको कपमा चिया समेत नखाने र कार्यालयमा ‘प्लाष्टिक निषेधित क्षेत्र’ लेखिने छ । विगतमा कतिपय सरकारी कार्यालयले प्लाष्टिक निषेधित क्षेत्र लेखेर टाँसेको भएपनि कार्यान्वयनमा थिएन ।

प्लाष्टिकको बढ्दो प्रयोगले मानव जीवनमा नकारात्मक प्रभाव पर्ने गरेकोले प्लाष्टिक झोलालाई निरुत्साहित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको सरकारी कार्यालयका प्रमुखहरुले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रत्येक महिनाको ४ गते बस्ने कार्यालय प्रमुखको बैठकका क्रममा बुधबार प्लाष्टिकको प्रयोगलाई घटाउन कदम चाल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

‘अत्यावश्यक अवस्थामा बाहेक प्लाष्टिकको प्रयोग कम गरौं ।’ कपडा तथा कागजको झोला प्रयोग गरौं । लगायतका नारा लेख्ने समेत निर्णय भएको छ । बैठकमा १४ वटा स्थानीय तह मध्ये बहुदरमाई र पर्सागढी नगरपालिका, पटेर्वासुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ४७ वटा कार्यालयका प्रमुख सहभागी थिए । जिल्लामा संघ, प्रदेश र स्थानीय सरकारका समेत गरी झण्डै ९६ वटाको हाराहारीमा सरकारी कार्यालय छन् ।

जिल्लाका सम्पूर्ण सरकारी कार्यालयमा हानिकारक प्लाष्टिकको प्रयोग घटाउनुको साथै कपडा र कागजका झोला प्रयोगलाई प्रोत्साहन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत भानुभक्त बरालले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिकाले प्लाष्टिक नियन्त्रण औपचारिक घोषणा नै गरिसकेको छ । घोषणा गरेको एक वर्ष वितिसक्दा ‘प्लाष्टिक नियन्त्रण र हर्न निषेध ’ घोषणामै सिमित छ ।

‘हाम्रो वीरगञ्ज, राम्रो वीरगञ्ज’ अभियान मार्फत प्लाष्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्न केही अभियन्ताहरुले आग्रह गर्दै पनि आएका छन् ।

मानव स्वास्थ्य र वातावरणमा हानी पुर्‍याउने प्लाष्टिकको प्रयोग निरुत्साहित गर्न जिल्लाका सबै सरकारी कार्यालयलाई प्लाष्टिक निषेधित क्षेत्र बनाउन खोजिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

‘स्थानीय सरकारको घोषणा कार्यान्वयनमा सघाउन र विभिन्न संघ संस्था एवं निजी प्रतिष्ठानहरुले सञ्चालन गरेको प्लाष्टिकको झोला नियन्त्रण अभियान सफल पार्न कपडा र कागजका झोलाहरु प्रयोग गर्न थालेको सन्दर्भमा सबै सरकारी कार्यालयहरुमा समेत प्लाष्टिकको झोला लगायतका समानको प्रयोगलाई कम गर्दै लैजाने निर्णयमा हामी पुगेका हौं,’ उनले भने, ‘हाललाई कार्यालयमा प्लाष्टिक निषेधित क्षेत्र, ‘अत्यावश्यक अवस्थामा बाहेक प्लाष्टिकको प्रयोग कम गरौं जस्ता नाराहरु लेख्ने, चिया प्लाष्टिकका कपमा प्रयोग नगर्ने भनेका छौं, दिन त तोकेका छैनौं, अनुकुल मिलाएर साथीहरुले कार्यान्वयन गर्नुहुन्छ भन्ने विश्वास छ । यो आजको आवश्यकता पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?