Comments Add Comment

मन्त्री हेरफेर लोकतान्त्रिक मूल्य मान्यता विपरीत : समाजवादी पार्टी

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी  शर्मा ओलीले बुधबार गरेको मन्त्री हेरफेरलाई समाजवादी पार्टीले लोकतान्त्रिक मूल्य मान्यता विपरीत भनेको छ ।

समाजवादी पार्टीको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको बिहीबार बसेको अनौपचारिक बैठकले मन्त्री हेरफेरको निर्णयलाई सकारात्मक रुपमा लिन नसकिने निश्कर्ष निकालेको छ ।

‘मन्त्री फेर्न पाउने अधिकार प्रधानमन्त्रीलाई भए पनि सरकारमा सहभागी अर्को सत्तासाझेदार पार्टीसँग सल्लाह र सहमति विना भएको निर्णयलाई सकारात्मक रुपमा लिन सकिँदैन । यो लोकतान्त्रिक मूल्य मान्यता विपरीत छ’ समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले भने ।

बुधबार प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्दा समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्‍द्र यादवलाई स्वास्थ्यबाट कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा सारेका छन् । त्यस्तै समाजवादी पार्टीकै नेता सुरेन्द्र यादवलाई स्वास्थ्य राज्यमन्त्रीबाट हटाएका छन् ।

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष यादव काठमाडौं बाहिर  रहेकाले पार्टीले  औपचारिक निर्णय भने गरेको छैन । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई गोरखाबाट शुक्रबार विहान काठमाडौं आइपुग्नेछन् । भारत भ्रमणमा रहेका उपेन्द्र यादव पनि शुक्रबार बेलुकी काठमाडौं आइपुग्नेछन् । त्यसपछि बैठक बसेर  औपचारिक निर्णय गर्ने पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment