Comments Add Comment

मूल्य वृद्धि आकासियो, कुन क्षेत्रको कति ?

एक वर्षमै दोब्बरले बढ्यो काठमाडौं उपत्यकाको मूल्य वृद्धि

६ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा काठमाडौं उपत्यकाको मूल्य वृद्धि ८ प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्ष ०७५/७६ को पहिलो त्रैमासमा ४ प्रतिशत रहेको मूल्य वृद्धि बढेर एक वर्षमै ८ प्रतिशत नाघेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार, असोज मसान्तसम्मको उपभोक्ता मुद्रास्फिति काठमाडौंमा ८.१४ प्रतिशत पुगेको छ । कात्तिकसम्म काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फिति रहेको राष्ट्र बैंकले बताएको छ ।

एक वर्षअघि अर्थात् ०७५ असोज महिनामा उपभोक्ता मुद्रास्फिति काठमाडौं उपत्यकामा ४.० प्रतिशत, तराईमा ४.३ प्रतिशत, पहाडमा ६.१ प्रतिशत र हिमालमा ४.२ प्रतिशत रहेको थियो ।

औसतमा समेत उपभोक्ता मुद्रास्फिति ६.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ४.६८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ७.०४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ५.५५ प्रतिशत रहेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकले बताएको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, कपडा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको राष्ट्र बैंकले बताएको छ ।

अनुगमन नगर्दाको प्रतिफल : अर्थविद् अधिकारी

काठमाडौं उपत्यकाको मूल्य वृद्धि निरन्तर बढ्नुको एउटा प्रमुख कारण फितलो अनुगमन भएको अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् । काठमाडौंमा वस्तुहरु उत्पादन नहुनु र बाहिरबाट ल्याएर बिक्री हुने गरेका सामाग्रीहरूको पनि अनुगमन नहुँदा काठमाडौंको मूल्य वृद्धि निरन्तर बढीरहेको अर्थविद् अधिकारीको बुझाइ छ ।

‘काठमाडौं उपत्यकाकोमात्रै पछिल्लो समय ८ प्रतिशत प्लस हुन थालेको छ, ट्रान्सपोर्टेशन कष्ट धेरै लाग्ने भएकाले हिमाल र पहाडको धेरै बढ्नु पर्ने हो तर उल्टो भयो’ उनले भने, ‘पहाड र हिमालमा केही आन्तरिक उत्पादनले यस्तो भएको हुनुपर्छ, काठमाडौंमा त केही उत्पादन नै हुन छाड्यो ।’

बजार अनुगमनलाई सरकारले विशेष ध्यान नदिए मूल्य वृद्धि भयावह हुनसक्ने उनले बताए । मूल्य वृद्धिलाई नियन्त्रणमा राख्न सरकारी तबरबाट व्यापक अनुगमन आजको आवश्यकता भएको अर्थविद् अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment