+
+
Shares

न्यानो डार्बिनको आत्मीय घेरामा नेपथ्य

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ७ गते १४:४९

घडीको सुइ जसै ६ बजेर ४५ मिनेटमा पुगेको थियो, नेपथ्यको चिरपरिचित ६० मिनेट संकेतको ढुकढुकी पर्दामा उभ्रिन सुरु भयो भने अन्तिममा त्यो संकेत दुइवटा शून्यमा आएर अडिनासाथ यहाँस्थित ‘इटालियन क्लब’मा उज्यालोसँगै पहिलो नेपथ्य आवाज गुञ्जियो ।

दर्शक दीर्घा डार्बिनमा पढ्न वा बसोबासका निम्ति आइपुगेका नेपालीहरुको मिश्रित भीँडले भरिएको थियो । कन्सर्टको सुरुवात जसै नेपथ्यको पहिलो गीत ‘आँगनै भरि’बाट भयो त्यसपछि पनि ब्याण्डका चर्चित गीतहरु ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ले निरन्तरता पाउँदै गयो, जसमा दर्शकले गायक अमृतसँगै गाउँदै र नाच्दै साथ दिइरहेका थिए ।

प्रत्येक पुस्ताको हुर्काइमै मिसिएका आवाजले तान्ने यादहरु, आनन्द र गम्भीरताका मिश्रित स्वाद शुक्रबार बेलुकी डार्बिनको वायुमण्डलमा फैलँदै गइरहेको थियो । गीतले जस्तो जस्तो ‘मुड’ सिर्जना गरिरहेको थियो त्यस्तै त्यस्तै भाकामा दर्शकहरु पनि नाच्ने वा हात हल्लाउने गरिरहेका थिए ।

बीच बीचमा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृतले ब्याण्डसँगको यात्राका अनुभवहरु सुनाइरहेका थिए, जसलाई सुनेर उत्तेजनामा चिच्याउने र ताली बजाउने काम पनि सँगसँगै चलिरहेकै थियो ।

‘संसारमा नेपालीलाई इमान्दारको रुपमा चिन्छन्। पुर्खा र अग्रजले कमाएको इज्जतमा खलल आउन नदिनु होला,’ बीच बीचमा आफ्नो सन्देश पनि दिइरहेका उनी भन्दैगए, ‘हामीमध्ये धेरै काम गर्न विदेशिएका छौं । कामलाइ ईमान्दारीका साथ निभाउनु होला ।’

अष्ट्रेलिया सरकारले यतिबेला यहाँ आउन चाहने नेपालीहरुलाई भिषाको प्राथमिकतामा तल राखेको ब्यापक चर्चा चलिरहेकै सन्दर्भमा अमृतले यस्तो धारणा ब्यक्त गरेका थिए ।

अष्ट्रेलियाको ‘नर्दन टेरिटरी’ राज्यमा पर्ने डार्बिन यस मुलुककै उत्तर पश्चिमी समुद्री किनारामा अवस्थित छ । स्थायी बसोबासको चाहना राख्नेहरुका निम्ति सहज अनुमति प्रदान गर्न यो राज्यलाई ‘रिजनल रुरल एरिया’को वर्गीकरणमा पारिएको छ, जहाँ आप्रवासी आवेदकले थप अंक पाउने गर्छन् । तत्कालका निम्ति यस्तो सुविधाको प्रयोग गरेर स्थायी बसोबासको निस्सा लिनका निम्ति धेरैले यस्ता भेगमा आफ्नो बसाइँ सार्दैआएको पाइन्छ । यसरी तत्कालको बसोबास कै हिसाबले अधिकांश आप्रवासीहरुको रोजाइका ठाउँ बनेकैले यहाँ नेपालीहरुको जनसंख्यामा पनि उतारचढाव आइरहने गर्छ । एकपटक स्थायी निस्सा पाइसकेपछि आप्रवासीहरु फेरि फर्केर आफुलाई अनुकूल लाग्ने सहरहरुमै बसोबास सार्छन्।
पछिल्लो समय भने लामै समय यतै बसोबास गर्नेहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

‘यसरी यता बसोबास गर्ने नेपालीहरुले गतिला कन्सर्ट हेर्ने मौका पाउन मुश्किलै पथ्र्यो,’ स्थानीय आयोजक ‘गोर्खा पल्टन’का श्याम थापा भन्छन्, ‘चार वर्षअघि नेपथ्य पहिलोपटक आएर सिर्जना गरेको माहौललाई यसपाला फेरि नेपथ्यले नै झन् व्यवस्थित र आजसम्मकै सबैभन्दा ठूलो आयोजनाका साथ उपस्थिती जनाएर स्थानीयमाझ तरंग सिर्जना गरिदिएको छ ।’

कन्सर्टको आयोजना ५ सय दर्शक अटाउने चिटिक्कको अनि आत्मीय ‘इटालियन क्लब’मा गरिएको थियो ।

‘प्रस्तोताका रुपमा उभिँदा मेरोनिम्ति हल कत्रो छ र कति मानिस अटाएका छन् भन्ने कुराले खासै महत्व राख्दैन,’ कन्सर्ट  सकिएपछि गायक अमृतले भने, ‘कतिजना दर्शक आए भन्ने भन्दा पनि आएका दर्शक कति रमाए भन्ने तर्फ मेरो जिज्ञासा हुने गर्छ ।’ ‘मैले मेरा श्रोता दर्शकलाई राम्ररी सम्प्रेषित गर्न सकेँ कि सकिँन भन्ने नै जान्न म खोजिरहेको थिएँ,’ उनले थपे, ‘डार्बिनको यो साँझ सानो र आत्मीय घेरासँग हामी एकाकार भयौं भन्ने कुराले मलाई सन्तुष्टि मिलिरहेको छ ।’

सायद यहीँ भावनाले होला, कन्सर्ट भैरहेकै बेला पनि अमृत क्यामरा लिएर त्यहाँका दृश्यहरुलाई कैद गर्नमा तल्लीन देखिएका थिए ।

नेपथ्यको जारी अष्ट्रेलिया श्रृंखला अब एडिलेड सहरतर्फ अघि बढ्नेछ जहाँ स्थानीय ‘एचक्यू कम्प्लेस’मा ब्याण्डले डिसेम्बर ३ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ ।

नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार नेपालको कुना काप्चामा सबैभन्दा बढी घुमेको ब्याण्ड पनि संभवत यहि रहेको अनुमान गर्छन् । ‘हामीले सहर मात्र होइन साना ठाउँमा पनि आफूलाई पु¥याएका छौं,’ किरण थप्छन्, ‘चालिसवटा जिल्ला नाघिसकेको नेपथ्य प्रदर्शित स्थानहरुमा फिदिम, बेनी, वालिङ, पाल्पा, तम्घास, सन्धिखर्कजस्ता थुप्रै साना सहर बजारहरु पनि जोडिएका छन् ।’ ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर डाँडाकाँडाका दर्शकहरुसम्म पहुँच बनाएका दिनहरुकै याद शुक्रबार बेलुकी डार्बिनको प्रस्तुतीले पनि दिलाएको किरणले बताए ।

सन् २००१ देखि यस ब्याण्डलाई व्यवस्थापन गर्न थालेको नेपालयले नै त्यसयता मुलुकभित्रदेखि बाहिरसम्मै ठूला सहर अनि साना घेरासम्म नेपथ्यलाई पुर्याउँदै आएको छ ।
‘यतिबेला संसारभर नेपालीहरु फैलँदै गइरहेको अवस्थामा नेपथ्यको पहुँच बढाउन पाँच सयको हाराहारीमा दर्शक जुट्ने ठाउँहरुलाई अनुकुल हुनेगरि योजना गर्ने सोच अनुरुप डार्बिनको यो कार्यक्रम एक प्रयोग को रुप मा लिएका थियौ जुन सफल भयो,’ किरणले भने, ‘डार्बिनको सफलताले मलाई त्यो संभावनाको बाटो देखाएको छ ।’
यस किसिमको यात्रामा केहि ठूला शोका साथसाथै सानो संख्याको आत्मीय दर्शक घेरामा पनि आफूलाई लैजाने अभ्यास अघि बढेको उनले प्रष्ट पारे ।

‘कुनैपनि कलाकारले प्रसिद्धिको उकालो समातेपछि आफूलाई उँभो ठाउँमै अड्याउन खोजिरहन्छ, जबकि अमृत र नेपथ्यले भने डार्बिन र फिदिमजस्ता दुरदराजका कमैले वास्ता गर्ने स्थानका दर्शकसँगको सम्पर्कलाई समेत प्राथमिकतामा राख्दै आएको छ,’ किरणले थपे, ‘यसरी आफूलाई लचिलो बनाएको ब्याण्डसँग काम गर्न पाउनु एकातिर खुशीको कुरो हो भने अर्कोतर्फ यस्ता स्थानहरुमा सीमित श्रोत देख्दा देख्दै पनि उत्तिकै गुणस्तरीय प्रस्तुती दिन तम्तयार स्थानीय आयोजकहरु पनि बन्दनीय छन् ।’

नेपथ्यका कन्सर्टहरुमा सधैँ देखिने दृश्यलाई निरन्तरता दिँदै डार्बिनमा पनि दर्शकहरुले आफ्ना बुढा बाबुआमादेखि केटाकेटीसम्म साथै लिएर आएका थिए । त्यसैमध्येका एक थिए नितेशराज पन्त । प्रसिद्ध ‘हिजोआजका कुरा’का निर्देशक एवं कलाकार नितेश कुनै समय नेपालमा टेलिभिजनका चर्चित हस्ती थिए । उनी हाल डार्बिनमै सामुदायिक सञ्चारका क्षेत्रमा आवद्ध रहेर बसोबास गर्दैआएका छन् ।

‘सदैव हाम्रो मनमुटु छुँदै आएको नेपथ्यको शो गजबको मात्र होइन मैले चिताएको भन्दा राम्रो भयो,’ नितेशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले सम्मान गर्ने अमृत दाईले संगीतका माध्यमबाट जुन हार्दिकताको सञ्चार गरिरहनुभएको छ त्यसले हामी सबैलाई जन्मेको मुलुकप्रतिको दायित्व झकझक्याइ रहन्छ ।’

डार्बिनबाट एडिलेडहुँदै ब्याण्ड त्यसपछि ताजमानियाको होबार्ट, सिड्नी भएर अन्तिममा मेलबर्न पुग्नेछ । त्यहाँ डिसेम्बर २३ तारिखको अन्तिम शोसहित यस वर्षको अष्ट्रेलिया यात्रा सम्पन्न हुनेछ ।

स्टेजमा सँधैझैँ अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?