Comments Add Comment

त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा केयूले कलेज चलाउने

वार्षिक १५ हजारमा भाडा सम्झौता, सम्पदाविदको विरोध

त्रिपुरेश्वर महादेव मन्दिर पुनर्निर्माण हुँदै । तस्वीर : शंकर गिरी/अनलाइनखबर

९ मंसिर, काठमाडौं । त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं विश्वविद्यालयले मन्दिरको सत्तलमै कलेज खोल्ने तयारी गरेको छ । गुठी संस्थानसँग त्रिपुरेश्वर महादेव मन्दिरको क्षेत्र नगण्य मूल्यमा भाडामा लिएर केयूले कलेज सञ्चालन गर्न लागेको हो ।

विश्वविद्यालयले मन्दिरको सत्तलसँगै पुरै क्षेत्र ३० वर्ष भोगचलन गर्ने गरी वार्षिक १५ हजार रुपैयाँ भाडा तिर्ने गरी गुठी सस्थानसँग सम्झौता गरिसकेको छ । स्थानीय र सम्पदाप्रेमीहरुले यो सम्झौताको विरोध गरेका छन् । सांस्कृतिक सम्पदालाई असर पर्ने गरी कलेज खोल्न नमिल्ने उनीहरुको तर्क छ ।

सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले शिक्षाको नाममा संस्कृति मास्ने काम भइरहेको बताए । सास्ंकृतिक सम्पदा संरक्षण गर्ने अभिभारा लिएको गुठी संस्थानले नै व्यापारिक स्वार्थको कारण संवेदनशील क्षेत्र बेच्नु आपत्तिजनक भएको उनको भनाइ छ ।

‘जुनसुकै बाहनामा सांस्कृतिक सम्पदा मास्ने परिपाटीले गलत शिक्षा दिन्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘भोलि अर्कोले आएर भट्टि चलाउन वा डान्सबार चलाउन जग्गा माग्ला, गुठी संस्थानले दिन्छ त ?’

केयुकी प्रोजेक्ट अफिसर पूजा अमात्यले काठमाडौं युनिभर्सिटीले संगीत विभाग खोल्न सत्तल भाडामा लिएको बताइन् । भूकम्प आउनु अगाडि नै कलेज खोल्नका लागि गुठी संस्थानसँग सम्झौता भएको उनको भनाइ छ ।

यसअघि टेकुमा रहेको पचली भैरवको पोखरीको जग्गा मिचेर सामुदायिक विद्यालयको निर्माणाधीन पक्की भवन स्थानीयले भत्काइदिएका थिए । यस्तै टंकेश्वर निलबाराहीको मन्दिर परिसर पनि मास्न खोजिएको थियो । तर स्थानीयले विरोध गरेपछि योजना सफल भएन ।

सम्पदाविद श्रेष्ठका अनुसार पहिले पहिले पाटी–पौवामा व्यवहारिक शिक्षा दिने चलन थियो । केही निजी गुठीहरुलाई पाटीमा पढाउनको लागि गुठीको जग्गा दिने गरिन्थो । तर पछिल्लो समय गुठी संस्थानले बेइमानी गर्न थालेको उनी बताउँछन् ।

केयूले संगीत पढाउने कलेज खोल्नको लागि मन्दिर पुनर्निर्माण गरिदिने बाहनामा सत्तल कब्जा गरेको आरोप स्थानीयको छ । सम्पदाप्रेमीहरुले पनि केयूले पुरातात्विक सम्पदाभित्र क्याम्पस सञ्चालन गर्नको लागि मन्दिरसँगै सत्तल पनि पुनर्निर्माण गर्नको लागि भन्दै कब्जा गरेको गुनासो गरेका छन् ।

‘हामीले बुझ्दा मन्दिरको सत्तलमा कलेज खोल्नु गैरकानुनी पनि हुँदो रहेछ,’ एक स्थानीय युवकले भने ।

मन्दिरको पुनर्निर्माणसँगै सत्तलको पुनर्निर्माण पनि केयूले नै गरिरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिरको पुनर्निर्माण गर्ने जिम्मा लिए पनि थाइल्याडबाट आएको सहयोग केयूलाई हस्तान्तरण गरेको थियो ।

केयुकी प्रोजेक्ट अफिसर पूजा अमात्यले काठमाडौं युनिभर्सिटीले संगीत विभाग खोल्न सत्तल भाडामा लिएको बताइन् । भूकम्प आउनु अगाडि नै कलेज खोल्नका लागि गुठी संस्थानसँग सम्झौता भएको उनको भनाइ छ ।

अमात्यले भनिन्, ‘सत्तलको माथिल्लो तलामा कलेज खोलिन्छ ।‘

यसअघि उक्त कलेज भक्क्तपुरमा थियो । सो क्याम्पसमा जग्गाको विवाद भएकाले त्रिपुरेश्वर महादेव मन्दिरको जग्गा रोजेको हो ।

संस्थान भन्छ : कलेज खोज्नु सही

गुठी संस्थानका पदाधिकारीले भने कलेज खोल्नु ठीक भएको प्रतिक्रिया दिएका छन् । संस्थानका सूचना अधिकारी सरोज थपलियाले केयूलाई कलेज खोल्नको लागि अनुमति दिएको स्वीकार गरे तर संस्कृति मास्नेभन्दा सुरक्षा गर्ने हिसाबले दिएको जिकिर गरे ।

‘राज्यले मन्दिरको सरंक्षणमा वास्ता नगरेको अवस्थामा अरु कसैले तत्परता देखाउँदा नदिने कुरै भएन,’ उनले अनलाइखबरसँग भने, ‘लोकबाजा संग्रहालय पनि भाडामा बसिरहेको छ । खोइ, यसअघि सम्पदाविद्हरु खुसी नै थिए । अहिले किन दुखी भएछन् त ?’

मन्दिरको सत्तलमा कलेज खोल्दा सांस्कृतिक सम्पदा मासिने डर हुँदैन ? भन्ने अनलाइनखबरको प्रश्नमा उनले जवाफ दिए, ‘केयूले यहाँ ५० करोड रुपैयाँ खर्च गरेको छ, लगानी गरेपछि केही न केही त लिइहाल्छ नि, सित्तैमा कसले लगानी गर्छ ?’

गुठी संस्थानका अनुसार केयूले पहिले सत्तल मात्रै बनाउने भनेको थियो । भूकम्पले मन्दिर भत्किएपछि यसको पुनर्निर्माण केयूलाई नै जिम्मा दिइएको हो । मन्दिर पुनर्निर्माण भूकम्प गएको वर्ष २०७२ को माघबाट सुरु गरिएको थियो ।

विसं. १८८० मा रणबहादुर शाहको सम्झनामा उनकी श्रीमती ललित त्रिपुरा सुन्दरीले सो मन्दिर बनाएकी थिइन् ।

पुनर्निर्माण सुस्त

काठको अभावले गर्दा पुनर्निर्माणको काम सुस्त बनेको केयूले जनाएको छ । मन्दिरको टुँडालका लागि चहिने काठ अभाव भएको हो ।

पुनर्निर्माण गर्नका लागि बुट्टा बनाउन चाहिने काठ भक्तपुरबाट ल्याउने भनिएता पनि मन्दिरको छाना हाल्न चाहिने २२ फिट लामो काठ नभएको केयूकी प्रोजेक्ट अफिसर अमात्यले बताइन् । मन्दिर र सत्तल पुनर्निर्माणका लागि चाहिने काठ अधिकांश भक्तपुरबाट ल्याइने भए पनि सालको काठ तराईबाट ल्याउनुपर्ने भएकाले पुनर्निर्माणमा समेत असर पर्ने उनको भनाइ छ ।

भूकम्पका कारण मन्दिरको माथिको छाना र गजुरमा पनि धेरै क्षति पुगेको थियो । मन्दिरसँगै सत्तलको जगसमेत भत्किएको थियो । पुनर्निर्माण गर्ने क्रममा मन्दिरको टुँडाल पुरानै प्रयोग गरे पनि छानाको लागि चाहिने काठ सबै नयाँ फेर्न लागिएको हो । गजुरको काम सकिएको छ ।

अमात्यका अनुसार सत्तल निर्माण गर्न आवश्यक काठ हालसम्म वन विभागसँग सहकार्य गरी ल्याइएको हो । मन्दिरको छानो छाउने २०÷२२ फिट लामो काठका लागि सग्लो खालको रुख खोज्नुपर्ने हुन्छ । त्यसको लागि पर्याप्त रुख भेटिएको छैन ।

अबको २ बर्षभित्र मन्दिर र सत्तलको पुनर्निर्माण सकिने गरी काम भइरहेको अमात्यले बताइन् । सत्तलको पश्चिम भाग भने भत्काउनै बाँकी रहेको छ ।

केयुले मन्दिर र सत्तलको पुनर्निर्माणको लागि १९ करोड रुपैयाँ बजेट छुट्याएको थियो । जसमध्ये केयुकै स्रोतबाट २ करोड र र १७ करोड विभिन्न निकायबाट सहयोग जुटाइएको थियो ।

हाल मन्दिर र सत्तलको पुनर्निर्माणमा ९ करोड रुपैयाँ खर्च भइसकेको छ । खर्च भएको रकममध्ये थाइल्याण्डबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत १० लाख ४९ हजार रकम पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment