Comments Add Comment

के अब पर्यटक ठगिने छैनन् ?

‘डलर फेयर’को नाममा पर्यटकमाथि लिइएको तीन गुणासम्म बढी शुल्कका कारण पर्यटकहरु ठगिएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा गठित कार्यदलले ठहर गरेको छ । पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा गठित कार्यदलले पर्यटकहरुमाथि आन्तरिक उडानमा नेपाली र भारतीयसँग तीन गुणासम्म शुल्क लिइनु एक प्रकारको ठगी भएको ठहर गरेको हो ।

गत भदौ महिनामा मन्त्रालयले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा छुट दिने सम्बन्धमा, आन्तरिक उडानमा विदेशी पर्यटकहरुमाथि भएको चर्काे मूल्य आदिको विषयमा अध्ययन गरेर सुझाव दिने जिम्मेवारी तोकिएको थियो ।

कार्यदलमा अर्थ मन्त्रालयका सहसचिव, उद्योग मन्त्रालयका सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक, नेपाल वायुसेवा निगमका निर्देशकस्तरका प्रतिनिधि, लेखा विज्ञ सौरभ रिजाल र वायुसेवा संचालक संघ नेपालका प्रतिनिधिलाई सदस्यका रुपमा तोकिएको छ । यसले योसहित विभिन्न ५ वटा विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी तोकिएको थियो । कार्यदलले अबको दुई/तीन दिनमा सो अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिएर मन्त्रालयमा बुझाउने तयारी गरिरहेको छ ।

संयोजक श्रेष्ठले अबको दुई/तीन दिनमा प्रतिवेदन बुझाउने तयारी भइसकेको जानकारी दिए । कार्यदलले अध्ययनको क्रममा विभिन्न ट्राभल एजेन्सीलाई कमिसन र त्यसैबाट आएको पैसा सरकारले दूर्गम क्षेत्रमा हवाई सेवाको बिस्तारको लागि खर्च गर्ने भन्ने प्रावधान रहेकोले यो व्यवस्था बन्दै गर्न पनि कठिन रहेको देखिएको छ ।

तर, यसरी तीन गुणासम्म महंगो शुल्क लिइँदा पर्यटकहरुमाथि अन्याय हुने भएकोले यसमा केही समायोजन गर्नुपर्ने ठहर कार्यदलको विभिन्न बैठकले गरेको छ । यो कायदलले सुझाव मात्रै दिने भएकोले त्यसको कार्यान्वयन कसरी हुन्छ भन्नेबारे मन्त्रालय नै जानकार रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यो विषयमा विभिन्न सरोकारवालाहरुसँग कुराकानी गर्दा पर्यटकहरुमाथि यो शुल्कसम्बन्धी व्यवस्थाले पर्यटकहरुमाथि अन्याय भएको ठहर कार्यदलले गरेको हो । तर, वायुसेवा सञ्चालकहरुले विदेशी पर्यटक र नेपाली पर्यटकहरुको शुल्कमा यति धेरै भिन्नता नल्याएको खण्डमा वायुसेवा सञ्चालनमा नै समस्या हुने बताउने गरेका छन् ।

भारत बाहेकको विदेशी पर्यटकले काठमाडौंबाट पोखरा जानको लागि तिर्ने पैसाले भारतीय र नेपालीहरुले भारतको राजधानी नयाँदिल्ली पुग्न सकिने विषय समेटेर मंसिर ३ गते अनलाइनखबरले एउटा समाचार प्रकाशित गरेको थियो । यो मात्रै नभएर यस्तो अतिरिक्त शुल्कको मार सबैतिरको उडानमा देखिएको छ ।

जस अनुसार भारत बाहेकको अरु मुलुकका विदेशीहरुले काठमाडौंबाट पोखरा पुग्नको लागि १२३ डलर तिर्नुपर्छ । जबकी नेपाल एयरलाइन्समा सस्तो दरमा टिकट पाएको बेलामा ८० डलरसम्ममा भारतको राजधानी दिल्ली पुग्न सकिन्छ । समयको हिसाबमा पनि काठमाडौंबाट पोखरा आधा घण्टाको यात्रामा पुग्न सकिन्छ भने दिल्लीको लागि एक घण्टा ४० मिनेट यात्रा गर्नुपर्छ ।

यो पनि पढ्नुहोस कसरी ठगिन्छन् विदेशी पाहुना ?

कुनै नेपाली यात्रुले करिब साढे १४ हजार रुपैयाँ पोखरा जानको लागि मात्रै तिर्नुपर्छ । काठमाडौंबाट पोखरा नै जानको लागि भारतीय र नेपाली पर्यटकहरुले भने न्यूनतम २७ सय रुपैयाँदेखि अधिकतम ५ हजार ५० रुपैयाँसम्म तिरे पुग्छ । यो झण्डै ३ गुणा बढी मूल्य अरु केही नभएर कमिसनकै लागि लिइने गरेको हो ।

काठमाडौंबाट पोखरा जाने विदेशी यात्रुसँग १२३ डलर लिएबापत त्यसको २५ प्रतिशतले हुन आउने ३० डलरभन्दा धेरै पैसा ट्राभल एजेन्सीले कमिसनबापत पाउँछन् । सोही कमिसनको लागि नै पर्यटकहरु चर्काे मूल्य तिर्न बाध्य छन् । त्यसैमाथि डलर फेयरमा भने सिट खाली हुँदा पाइने छुट पनि दिने गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

धपक्क दशरथ रंगशाला

Advertisment