+
+

गैरनेपालीलाई वंशजको नागरिकता दिएको आरोपमा ८ जनाविरुद्ध भ्रष्टचारको मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते २०:४५

९ मंसिर, काठमाडौं । गैरनेपालीलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. २  बस्ने अजहर हुसेन र आरिफ हुसेनलाई गैरकानूनी रुपमा नेपाली नागरिकताको प्रमाणपत्र दिएको आरोपमा पौडेलसहित वीरगञ्ज महानगरपालिका वडा नं. २  का वडाध्यक्ष शेष अव्वास, जिल्ला प्रशासन कार्यालय पर्साका नायव सुब्बा चन्द्रदेव ठाकुर र प्रशासकीय अधिकृत सदनकुमार कर्णविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी  दिए । झुट्टा विवरणको आधारमा नागरिकता लिने वीरगञ्ज महानगरपालिका वडा नं. २  बस्ने आरिफ हुसेन र सवरुन खातुनविरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ ।

बसाइसराइको सरकारी कागजातमा घरमुलीको विवरण सच्चाएको, वीरगञ्ज महानगरपालिका वडा नं. २  को सिफारिसमा केरमेट गरी झुट्टा विवरणको आधारमा अजहर र आरिफको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा उनीहरु संलग्नता देखिएको कोइरालाले जानकारी दिए ।

यस्तै सोमबार नै वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्षसहित पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीसहित ४ जनाविरुद्ध बिशेष अदालत काठमडौंमा मुदा दायर भएको छ । दुई फरक मुद्दामा पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र नासु चन्द्रदेव ठाकुर दोहोरिएका छन् ।

झुट्टा विवरणको आधारमा ममताकुमारी गुप्तालाई नागरिकता प्रमाणपत्र दिएको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष गजेन्द्र प्रसाद कुर्मी, पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी पौडेल र नासु ठाकुरविरुद्ध अख्तियारले मुद्धा दायर गराएको छ । झुट्टा विवरण पेश गरी नागरिकता लिने ममताकुमारीविरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट गलत कागजातको आधारमा गैरनेपालीलाई वंशजको आधारमा नागरिकता प्रमाणपत्र दिएको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा उनीहरु चारैजना मिलेर ममताकुमारी गुप्ताको नामको नेपाली नागरिकताको पतिको नामको खण्डमा जयप्रकाश प्रसाद गुप्ता लेखी सच्चाएको,  स्थानीय पञ्जिकाधिकारीबाट जारी हुने सरकारी कागजातहरुमा समेत नाम लगायतका विवरण सच्याई झुट्टा विवरणको आधारमा आशिषकुमार गुप्ताको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा सँलगन रहेको आरोपमा मुदा दायर गराइएको प्रवक्ता कोईरालाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?