Comments Add Comment

काठमाडौंमा मर्निङ वाक : मृत्युलाई जिस्क्याएजस्तो !

पैदलयात्रु सडकमा सबैभन्दा असुरक्षित

१० मंसिर, काठमाडौं । आइतबार बिहान नयाँ बानेश्वरमा मर्निङ वाक गरिरहेका डाक्टर प्रभु जोशीलाई गाडीले ठक्कर दिएर भाग्यो । उनले घटनास्थलमै ज्यान गुमाए ।

गत शुक्रबारयताका तीन दिनमा देशका विभिन्न स्थानमा सवारी साधनको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको यो चौथो घटना थियो । सडकको छेउमा हिँडिरहेका वा बाटो काटिरहेका यात्रु सवारी दुर्घटनामा पर्ने क्रम पछिल्ला दिनमा बढिरहेको छ ।

शुक्रबार पूर्वी नवलपरासीको सर्दीमा होङ्सी सिमेन्टको टिप्परको ठक्करबाट एक पैदलयात्रुको मुत्यु भएको थियो । शनिबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको बन्दीमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय ३० वर्षीय रामबहादुर रोकायाले ज्यान गुमाएका थिए । आइतबार नै चितवनको दासढुंगामा ट्रकले एक पैदलयात्रीको ज्यान लियो ।

सडकमा सबैभन्दा पहिलो प्राथमिकता पैदलयात्रुलाई दिनुपर्ने मान्यता छ । तर, नेपालका सडकहरू पैदलयात्रुकै लागि सबैभन्दा असुरक्षित बनिरहेका छन् । सवारी साधनको लापरबाही र पेलानले गर्दा अनाहकमा ज्यान गइरहेको छ ।

मृत्यु हुनेमा ३६ प्रतिशत यात्रु

गत आर्थिक वर्ष ०७५/७६ मा काठमाडौं उपत्यकाभित्र भएका सवारी दुर्घटनामा २५४ जनाले ज्यान गुमाउँदा ९३ जना पैदलयात्रु मात्रै थिए । यो कुल संख्याको ३६ प्रतिशत हो ।

पछिल्ला वर्षमा काठमाडौंमा सडक विस्तार भएपछि पैदलयात्रुको मृत्यु हुने क्रम उल्टो बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाभित्र आर्थिक वर्ष ०७०/७१ मा ५३ जना पैदल यात्रुले सवारीको ठक्करबाट ज्यान गुमाएका थिए । त्यसपछि क्रमशः आर्थिक वर्ष ०७१/७२ मा ५७ जना, ०७२/७३ मा ६५ जना, ०७३/७४ मा ७९ जना र ०७४/७५ मा ६३ जना पैदलयात्रुको मृत्यु भएको रेकर्ड छ । चालु आर्थिक वर्षका साउनदेखि असोजसम्म उपत्याकाको सडकमा ५९ जनाले ज्यान गुमाएकोमा २९ जना पैदल यात्रु नै छन् ।

पछिल्लो एक महिनामा मात्रै उपत्यकाभित्र सवारीमा दुर्घटनामा १५ जनाको ज्यान गएकोमा ९ जना पैदलयात्रु छन् ।

बिहान बढी जोखिम

काठमाडौंमा प्रायः पैदलयात्रुको मृत्यु बिहानको समयमा हुने गरेको छ । विशेषगरी ‘मर्निङ वाक’लगायतका विभिन्न प्रयोजनमा सडकमा निस्किएकाहरू दुर्घटनाको शिकार बन्ने गरेका छन् ।

काठमाडौंमा हुने कुल दुर्घटनामध्ये ३० प्रतिशत बिहान ६ बजेदेखि मध्याह्नसम्म हुन्छ । गत वर्ष कुल ८ हजार ५ सय ११ वटा दुर्घटना हुँदा २ हजार ५ ६६ वटा दुर्घटना यही समयमा भएको थियो ।

बिहान सडक खाली हुने भएकाले सवारीहरू तीव्र गतिमा हुइँकिने गरेका छन् भने पैदलयात्रु पनि बिन्दास भएर बीचबीचै हिँड्छन् । जाडो महिनामा भिजिबिलिटी पनि कमजोर हुन्छ । यस्तो समयमा पैदलयात्रु बाटो काट्दा मात्र होइन, फुटपाथमै पनि दुर्घटनामा पर्ने गरेका छन् ।

काठमाडौंमा हुने ४० प्रतिशत सवारी दुर्घटना दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेसम्म हुन्छ । बेलुकी ६ बजेदेखि राति १२ बजेसम्म करिब २५ प्रतिशत दुर्घटना हुने गरेका छन् । राति १२ बजेदेखि विमान ६ बजेसम्म सबैभन्दा कम करिब ५ प्रतिशतमात्रै दुर्घटना हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाउँछ ।

विज्ञ भन्छन्– राज्यको कमजोरी

सडक सुरक्षा विज्ञहरू सरकारले सडक बनाउँदा पैदलयात्रु पनि छन् भन्ने बिर्सिने गरेका कारण यस्तो अवस्था आएको बताउँछन् । पैदलयात्रुको असुरक्षाका विषयमा सडक सुरक्षा विज्ञ पदमबहादुर शाहीको विचार यस्तो छ–

नेपालका सडकमा गाडी चढ्नेभन्दा पैदल हिँड्ने यात्रु धेरै छन् भन्ने तथ्यलाई सरकारले पूरै बेवास्ता गर्दै आएको छ । पैदल हिँड्नु नै मृत्युलाई जिस्काएजस्तो हुने अवस्था निकै गम्भीर र दुखद् हो ।

सडक विस्तारका लागि भनेर अर्बौं खर्च गरियो, तर पैदलयात्रुको लागि फुटपाथमा राज्यले कति लगानी गरेको छ ? पैदलयात्रुलाई सुरक्षित बनाउने हो भने सबैभन्दा पहिले फुटपाथबिनाको सडक नै बनाउन हुन्न । फुटपाथ नराखेपछि यात्रु र सवारी सँग–सँगै सडकमा आउने भएकाले जोखिम निम्तिन्छ नै ।

काठमाडौंमा मात्रै हैन देशभरका शहरमा फुटपाथको सञ्जाल नै बनाउनुपर्छ । जेब्रा क्रसिङ र आकाशेपुलहरू पनि पर्याप्त स्थानमा राख्नुपर्छ । भएका जेब्रा क्रसिङ सबै मेटिएका छन्, त्यसलाई देखिने खालको बनाउनुपर्छ । रिंगरोडस्ता चौडा सडकमा पैदलयात्रुले बत्ती थिचेर बाटो काट्ने प्रणाली जोड्नुपर्छ ।

पैदलयात्रुलाई कति महत्त्व दिने भनेर सवारीचालकलाई सिकाउन जरुरी छ । हाल सवारी चालकहरूले पैदलयात्रुलाई हेयको दृष्टिले हेर्ने गरेका छन् । जेब्रा क्रसिङमा पैदलयात्रु देखिएपछि सवारी रोक्ने बानीको विकास गराउनुपर्छ ।

यस्तै, सडकहरूमा रेलिङहरू राख्न लगाउने, जेब्राक्रस र आकासे पुलबाट मात्रै बाटो काट्न सिकाउने गरेमा मात्र पनि धेरै पैदलयात्रुको जीवन जोगाउन सकिन्छ । सडकहरूलाई पैदलयात्रुमैत्री बनाउन सरकारले योजना नै बनाउन जरुरी छ । सडक सुरक्षाका विषयमा सरकारले नीति, नियम र पूर्वाधार निर्माणका लागि लगानीमा जोड दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment