Comments Add Comment

पोखरा रंगशालामा भीआईपी प्यारापिट साग पछिमात्रै

११ मंसिर, पोखरा । आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन ४ दिन बाँकी हुँदा पोखरा रंगशालाको पुनर्निर्माण अझै सकिएको छैन । रंगशाला रंगरोगन गर्नेदेखि रंगीबिरंगी फूलले सजाउने काम भइरहेको छ ।

महिला फुटबल हुने तय भएको फुटबल रंगशाला अहिलेसम्म पूर्ण रुपमा तयार भएको छैन । १० हजार सिट क्षमताको प्यारापिट जडान गर्ने जिम्मा भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जीएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएका छन् ।

तर, अहिलेसम्म जम्मा ५ हजार सिट क्षमताको प्यारापिटमात्रै जडान भएको छ ।

ग्यालरी ए, बी र सीमा विभाजन गरेर अहिले प्यारापिट जडान भइरहेको स्टेडियमका प्रोजेक्ट म्यानेजर दीपक बरालले जानकारी दिए । उनले सी ग्यालरीको मात्र जडान सकिएको बताए । यो करिब ५ हजार सिट क्षमताको हो ।

सागको महिला फुटबलका लागि २ ग्यालरीमा मात्रै प्यारापिट जडान गरिने बरालले बताए । प्यारापिट जडानको काम सकिन अझै ३/४ दिन लाग्ने बरालको भनाइ छ ।

भीआईपी प्यारापिट जडान भइसकेको भए पनि निर्माण कम्पनीले अहिलेसम्म सिट जडान गरेको छैन । भीआईपी र भीभीआईपी प्यारापिटमा खेल सुरु हुनुअघि सिट जडान गर्दा असुरक्षित हुने भएकाले सिट जडान नगरिएको प्रोजेक्ट म्यानेजर दीपक बरालले सुनाए । उनले भने, ‘भीआईपी र भीभीआईपी प्यारापिटमा सिट जडान पछि गर्छौं । अहिले नै जडान गर्दा जो पनि जाने र फोहोर गर्ने समस्या आउने देखियो ।’

रंगशालाको बाहिरी भागमा भएको सिन्थेटिक एथ्लेटिक ट्र्याकको काम पनि अझै सकिएको छैन । प्रोजेक्ट म्यानेजर बरालले ट्र्याकको माथिल्लो भाग सकिएको भए पनि अरु काम अझै बाँकी रहेको जानकारी दिए । उनले भने, ‘टप लेयरको काम सकिइसक्यो । ट्रयाकमा मार्किङ पनि गरिसक्यौं । तर, प्वाइन्टका काम भोलि (बिहीबार) देखि मात्रै सुरु हुन्छ ।’

पोखरामा हुने तय भएको महिला फुटबल मंसिर १७ गतेदेखि सुरु हुँदैछ । पहिलो खेलमा आयोजक राष्ट्र नेपालले श्रीलंकासँग भिड्ने भएको छ । १३ औं सागका ८ खेल पोखरामा हुने तय छ । त्यसमध्ये महिला फुटबल र क्रिकेट, ह्यान्डबल, आर्चरी र ब्याडमिन्टन पोखरा रंगशालामा हुने तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment