Comments Add Comment

कलकत्ते काँइयोले चम्किएका रोज

एकताका विवाह, पार्टी वा पिकनिकमा नेपाली गीत विरलै बज्थे । देशको युवा–पुस्ता विदेशी संगीतमै रमाएको थियो । फेरि, युवा–युवतीलाई झुमाउने खालका नेपाली गीत पनि त्यति आएका थिएनन् ।

२०६३ सालतिर रोज मोक्तानको आवाजमा एउटा गीत बजारमा आयो, ‘कलकत्ते काँइयो …’ । जयनन्द लामाको पुरानो गीतलाई रिमिक्स भर्सनमा तयार गरिएको यो गीतमा युवापुस्ता तानियो ।

विवाह र पार्टीमा यो गीत घन्किन थाल्यो ।

‘डम्फु रे’ एल्बममा ‘कलकत्ते काँइयो’ सँगै ‘हेलम्बुको बजारमा’, ‘हिउँ पर्‍यो फुरुरु’ पनि समावेश थिए । यी सबै गीतहरु दर्शक–स्रोताले मन पराए र रोजको चर्चा चुलियो । सेलो बिटमा तयार भएका गीतहरु डान्सिङ नम्बरका रुपमा स्थापित भए ।

रोज आफ्नो एल्बम हिट हुनुको श्रेय ‘कलकत्ते काँइयो’ लाई नै दिन्छन् । उनले भने, ‘त्यो एल्बममा समावेश गीतहरु सबै राम्रा थिए । तर एल्बम बिकाउने गीत चाहीँ कलकत्ते काँइयो बन्यो ।’

‘डम्फु रे’ एल्बमपछि रोजलाई देश तथा विदेशका कार्यक्रमहरुमा धेरै माग भयो । यगी गीत गाउन उनले १४ वटा देशसम्म पुग्ने अवसर पाए । सेलो गीतलाई नेपाली भाषामा ढाल्ने दिने ट्रेण्ड सेटर बन्न पुगे रोज ।

रोज मोक्तानको यो पहिलो एल्बम भने थिएन । उनले यसअघि नै सातवटा ‘तामाङ सेलो’ एल्बम निकालिसकेका थिए । एउटा नेपाली भाषाको एल्बम पनि बजारमा आइसकेको थियो ।

तामाङ भाषाका स्रोताहरुमा पहिल्यै हिट थिए रोज । ‘सेलो किङ’ का रुपमा चिनिन्थे उनी । तामाङ भाषाका गीतहरु गाएर राम्रै पैसा पनि कमाइरहेका थिए । तर पूर्ण सन्तुष्ट भने थिएनन् । उनलाई सबै नेपालीबीच पुग्नु थियो, र त्यसका लागि नेपाली भाषाकै गीतको सहारा लिनु अपरिहार्य हुन्थ्यो ।

तर गीति कम्पनीहरुले रोजसँग तामाङ भाषाकै गीतहरु माग्थे । उनको स्वरमा नेपाली गीत रेकर्ड गराउनको लागि कोही तयार नभइरहेको बेला मास्टर रेकर्डिङले रोजलाई नेपाली भाषाको एल्बम निकाल्ने अवसर दियो । खुसी हुँदै रोजले एल्बम तयार गरे । एल्बमको नाम थियो, ‘चेप्टे सुन’ ।

उक्त एल्बमले नेपाली दर्शकलाई लोभ्याउन सकेन । त्यसैले रोज पुन: तामाङ गीतमा नै फर्किए । यद्यपि, उनले नेपाली गीतहरु कम्पोज भने गरिरहेका थिए । आफूलाई लोक-पप प्याट्रन मन पर्ने भएकाले उनको कम्पोजिसनका गीत त्यस्तै थिए । पछि बुढासुब्बासँग मिलेर रोजले ‘डम्फु रे’ एल्बम तयार गरे । बल्ल उनको सपना साकार भयो । आफूले गरेको मेहनतलाई स्रोताले कदर गरेपछि दंग परे, रोज ।

भन्छन्, ‘मैले सेलो बिटलाई नेपाली भाषा दिइरहेको थिएँ । यसलाई स्वीकार्नु हुन्छ वा हुन्न भन्ने ठुलो डर थियो । धेरैले माया गर्दिनुभयो । खुसीले फुरुङ्गै थिएँ ।’

रोज आफ्नो एल्बम हिट हुनुको श्रेय ‘कलकत्ते काँइयो’ लाई नै दिन्छन् । उनले भने, ‘त्यो एल्बममा समावेश गीतहरु सबै राम्रा थिए । तर एल्बम बिकाउने गीत चाहीँ कलकत्ते काँइयो बन्यो । यसले अरु गीतहरु पनि सुनिए र हिट भए ।’

रेकर्डिङ भइसकेको र दर्शकले रुचाइसकेको गीत थियो कलकत्ते काँइयो । यसलाई आफ्नो एल्बममा रिमिक्स गरेर बजारमा ल्याउन चुनौती नै थियो । आफूलाई मन पर्ने सर्जक जयनन्दसँग मागेको गीत भएकाले पनि त्यसलाई राम्रो बनाउनु थियो ।

उनी भन्छन्, ‘मलाई जयनन्द दाइको कम्पोजिसन मन पर्थ्यो । त्यसैले उहाँसँग गीत माग्न गएको थिएँ । उहाँले नै रिमिक्स गर भन्नुभयो । उहाँको गीतको मर्म नमर्ने गरी मैले रिमिक्स गरेँ ।’

कलकत्ते काँइयोपछि रोजले अर्को रिमिक्स गीत गाउने अवसर पाए, ‘बाबरी फूलको बोट’ । कुनै जमानामा देश पिटेको उक्त गीतमा ननाच्ने कमै होलान । यसको रिमिक्स बनाउनु पनि कम चुनौतीपूर्ण थिए । तर यसमा पनि उनी सफल भए । उनको सांगीतिक करिअरको अर्को कोशेढुंगा बन्यो, बाबरी फूलको बोट ।

0000

रामेछापमा जन्मेका रोजलाई बाल्यकालदेखि नै गीत संगीतमा खुबै रुची थियो । स्कुलमा हुने कार्यक्रमदेखि हाट बजारमा हुने कार्यक्रमहरुमा पनि उनी गीत गाउने गर्थे । साथी–संगतदेखि शिक्षकले गर्ने प्रशंसामा उनी मख्ख पर्थे ।

रोजका बुबा काठमाडौंमा जागिरे थिए । त्यसैले बुबासँगै बसेर पढ्न भनेर उनी काठमाडौं आए । उनी बुवासँग बानेश्वरमा बस्थे । उनीहरु बस्ने घर गायक अमर तण्डुकारको थियो । घरको माहोल नै संगीतमय थियो । रोजलाई के खोज्छस् कानो आँखो भइहाल्यो । शनिबारको विदामा उनी अमरकै पछाडि लागेर भजन मण्डली धाउन थाले । त्यसपछि संगीतमा उनको रुचि झनै गहिरियो ।

२०४८ सालमा रोजले रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरे । तत्कालिन समयमा गायन क्षेत्रमा लाग्नेहरुको लागि एक मात्र अवसर थियो, रेडियो नेपाल । त्यहाँ पास हुनु भनेको संगीतको एसएलसीसरह मानिन्थ्यो । त्यसैले राज पनि आफ्नो सफलतामा खुशीले गदगद भएका थिए ।

रोजले २०४८ सालमा नै पहिलो गीतका रुपमा तामाङ भाषाको गीत ‘बुद्धको माने बौद्धमा’ रेकर्ड गराए । रेडियो नेपालमा गीत रेकर्ड गराइसकेका उनले २०५० सालमा तामाङ समुदायले गरेको तामाङ भाषाको गीत गायन प्रतियोगीतामा पनि भाग लिए, जहाँ उनी दोस्रो भए । त्यहाँ गोपाल योन्जन प्रमुख अतिथि थिए । योञ्जनले टप ४ जनालाई गीत रेकर्ड गराइदिने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसमा रोजले पनि मौका पाए ।

गीत रेकर्ड गर्ने क्रममा गोपाल योन्जनबाट धेरै कुराहरु सिक्न पाएको रोज बताउँछन् । उनले भने, ‘म त उहाँको घर धाइरहन्थे । उहाँले योगेन्द्र सरलाई भनेर मलाई गीत सिकाउन लगाउनुभएको थियो । उहाँले १ महिना जतिमा मलाई चेक गर्नुहुन्थ्यो ।’

त्यो समय रोजले गोपाल योन्जनको एक एल्बममा कोरश गाउने मौका पाएका थिए । ‘निशानी ५२’ नामक एल्बममा उनले कोरश गाएका थिए । रोज भन्छन्, ‘त्यस एल्बममा रामकृष्ण ढकाल, यम बराल, मलगायतले कोरस गाएका थियौँ ।’

किन सुस्ताए ?

रोज मोक्तानका गीतहरु पछिल्लो समय कमै सुनिन्छ । केही सुस्ताएका छन् उनी । तर, पनि आफू गीत संगीतबाट टाढा नभएको उनी बताउँछन् ।

‘हो, पहिलाको तुलनामा मेरो गीतहरु कम भएका हुन् । तर, संगीत क्षेत्रबाट म टाढा भएको छैन,’ उनले भने ।

केही साता अगाडि मात्रै रोजको नयाँ गीत सार्वजनिक भएको छ । सेलो विटमा तयार भएको यस गीतलाई रोजले आफ्नै युट्युब च्यानबाट हालेका छन् । ‘तरुनी’ बोलको यस गीतले पाएको प्रतिक्रियाबाट रोज निकै सन्तुष्ट छन् । आफ्नो नयाँ युट्युब च्यानल भएका कारण भ्युज भने कम भएको उनी बताउँछन् ।

आगामी दिनमा पनि संगीत क्षेत्रमा नै सक्रिय रहने रोजका योजना छ । उनले भने, ‘मैले अहिले जुन स्थान पाएको छु त्यो संगीतले नै दिएको हो । त्यसैले आउने दिनमा पनि संगीतमा नै काम गरिरहने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment