Comments Add Comment

मञ्चमा दाह्री पालेको मुस्लिमलाई पनि राखिदिनोस् न बाबा !

मैले लुम्बिनीका बारेमा तीनपटक प्रदेशसभामा कुरा उठाइसकेको छु । संघीय प्रणालीमा जाँदै गर्दा लुम्बिनीमा प्रदेशसभा पनि छ भनेर चिनाउनुपर्छ भनेर मैले तीन/तीनपटक प्रदेश सरकारको ध्यानाकर्षण गराएको छु । प्रदेश सरकारका पर्यटन मन्त्रीले हामीले गर्नुपर्ने सिफारिसहरु संघीय सरकारलाई गरिसक्या छौं, छिटै नै कानून संशोधन भएर स्थानीय तहका प्रमुख, प्रदेशसभा, प्रतिनिधिसभाका माननीयज्यूहरुलाई लुम्बिनी विकास बोर्डको सदस्यमा समावेश गरिनेछ र यसलाई वृहत् बनाउँदै अगाडि बढिने छ भन्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । पर्यटनमन्त्रीलाई सोध्दै गर्दा खै माथिबाट जवाफ आएन, हामीले गर्नुपर्ने कामहरु गरेका छौं भनेर जवाफ दिनुभयो । आशा गरौं, हाम्रो घनश्याम भुसालजी मन्त्री भएपछि अलि छिटो होला कि ?

मैले समाज र विकासको सन्दर्भ अलिकति जोड्न चाहें । ४० वर्षदेखि यो लुम्बिनीको विकासको सन्दर्भ आउँदै गर्दा विगतका सबै सरकारहरु फेल भएका छन् वा भिजन नभएको भन्छु म । लुम्बिनी भनेको अहिले एउटा सग्लो मानव हो । सग्लो मानवलाई सिंगार्न सकिएन भने ऊ कुरुप देखिन्छ । भैरहवा–लुम्बिनी सडकखण्डमा नेपालभरिका सिमेन्ट उद्योगहरु ल्याएर कसले राख्यो ? हिजो चाहे त्यो नेकपाको सरकार होस्, चाहे माओवादीको सरकार होस्, चाहे कांग्रेसको सरकार होस् । के त्यत्तिबेला लुम्बिनी थिएन ? लुम्बिनीको अस्थित्व १२० वर्षदेखि यहाँ छ । यो सबै उहाँहरुले बुझ्नुभएको हो ।

नेपालले बेच्न सक्ने मात्रै एउटा कुरा हो पर्यटन । इण्डियाले कोइला बेच्छ, खनिज पदार्थ बेच्छ । अबरले पेट्रोलियम पदार्थहरु बेच्छ । त्यो केही वर्षपछि सकिन सक्छ । तर, यो पर्यटन त जति किन्यो, त्यति बढिरहन्छ । त्यसैले अबको दिनमा आएर चाहे नेकपा होस्, चाहे कांग्रेस होस् उहाँहरुले आत्मालोचना गर्नैपर्छ कि हामीले गलत ठाउँमा ती उद्योगहरु स्थापित गर्ने निर्णय ग¥यौं । अहिले यो हटाउनका लागि घाँडो भएको छ । सर्वोच्चले आदेश दिन्छ, तर, देशकै अर्थतन्त्र धरासायी हुने हो कि ? यी उद्योगमा पनि जनताकै पैसा हो । बैंकको लगानी भएको छ । बैंकमा भएको पैसा तपाई हाम्रै हो । यी उद्योगहरु हट्दै गर्दा सिंगो अर्थतन्त्रलाई नै असर पर्ने हो कि ? बडो दोधारमा छ यो राज्य ।

लुम्बिनीमा विगतमा एउटा त्रुटी भयो । यहाँ धेरै संरचनाहरु बने, मोनाष्टीका नाममा । त्यसको नक्सा, डिजाइनिङ लुम्बिनी विकास कोषले स्वीकृत गरिसकेपछि मात्रै निर्माण संरचना बन्ने/बनाउने कोषको ऐन/नियमावलीमा व्यवस्था छ । निश्चत प्रतिशत डिपोजिट पनि राख्ने प्रावधान पनि होला ।

लुम्बिनीको वरिपरि करिब ७० प्रतिशत इस्लाम धर्मावलम्बीहरुको बसोबास रहेको सर्वविदितै छ । तर, लुम्बिनीसँग उनीहरुको कनेक्टिभिटी शून्य छ

तर, यी संरचनाहरु बन्दै गर्दा मजस्ता धेरै स्थानीयहरुको घर यहाँ नजिकै छन् । हाम्रो परिवारको मात्रै ५३ विघा जग्गा अधिग्रहण भएको छ । लुम्बिनीमा यी संरचनाहरु बन्दै गर्दा मठ मन्दिरका नाममा ठूला धर्मशालै बनाए । त्यतिबेला कसैले वास्ता गरेन । यहाँ के संरचनाहरु बन्दैछन्, हामी स्थानीयले भन्न पनि नमिल्ने । आज यहाँ समस्या के छ भने बहुराष्ट्रले धर्मशाला बनाएका छन् । थाईल्याण्डको छ, श्रीलंकाको छ । बसका बस टुरिष्ट आउँछन्, यहीँभित्र बस्छन् । झगडा गर्न पनि नमिल्ने । भोलि लुम्बिनीमा विदेशीहरुलाई अशान्ति मच्चाइयो भन्ने आरोप लाग्ला । ज्ञापनपत्र बुझाऔं, विरोधका कार्यक्रम राखौं, समस्यै समस्या छन् ।

करोडौं लगानी गरेर होटल बनाउँदै गर्दा होटल व्यवसायीलाई सोध्नोस्, बैंकको ऋण तिर्न कस्तो गाह्रो छ । पर्यटकहरु कहाँ छन् भन्दाखेरि मान्छे त भित्रै धर्मशालामा बसेका छन् । यसलाई कसरी समाधान गर्ने ? विगतको यस्तो त्रुटी अब नहोस् ।

यहाँका यस्ता कुराहरु हामीले पनि बोल्न नमिल्ने । बोल्दा भोलि लुम्बिनीले गर्दाखेरि राष्ट्रमाथि नै आँच आउला कि ? त्यसकारण यस्ता संरचनाहरु भोलि नहुन् भनेर सम्बन्धित निकायलाई पत्रकारको कलमले सचेत गराओस् । भएका गल्तीहरु सुधार्नलाई म आग्रह गर्दछु ।

आज प्रमुख राजनीतिक मुद्दाहरु वार्ता र सम्वादका माध्यमबाट समाधान गरेर निर्वाचन हुँदै हामी यहाँसम्म आएका छौं । अबको यात्रा समृद्धि हो भन्नेमा कसैको विवाद छैन । लुम्बिनीको सन्दर्भमा हामीले धार्मिक पर्यटन भन्दै गर्दा लुम्बिनीको परिभाषालाई धार्मिक पर्यटनसँग मात्रै नजोडियोस् । यसलाई अध्यात्मसँग पनि जोडियोस् र शान्तिसँग पनि जोडियोस् । मक्का मदिनाभन्दा यो फरक परिवेश हो । त्यहाँ मुस्लिमलाई मात्र अनुमति छ । पशुपतिमा हिन्दुलाई मात्र अनुमति छ । तर, लुम्बिनी फरक परिवेश हो ।

हामीसँग अहिले मोबाइल सबैको हात–हातमा छ । गुगलमा सर्च गरेर बर्थ प्लेस अफ लर्ड बुद्ध भन्नेवित्तिकै लुम्बिनी देखाइहाल्छ । राज्यले अब एउटा शान्तिको शहर, शान्तिको उदगमस्थल, आध्यात्मको थलोका रुपमा लुम्बिनी हो भन्ने कुरालाई देशव्यापीरुपमा स्थापित गर्न सक्नुपर्छ । आज सामान्य थकान हुँदा आज लुम्बिनी जाऔं, आरामले बसौं भन्ने गरिन्छ । विश्वमा पैसा खर्च गर्न सक्ने मान्छेहरु असंख्य र अथाह छन् । उनीहरु आइसकेपछि यहाँको समाज र समृद्धि कहाँ पुग्छ ? अब यसमा विचार गर्नुपर्छ । बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रचार गरिराख्नुपर्ने अवस्था छैन ।

घरमा पाहुना आउन लाग्दा हामी सफा राख्ने गर्छाैं । यो लुम्बिनीमा कतिखेर पाहुना आउँछन्, थाहै हुँदैनन् । त्यसैले सधैं सफा राख्नुपर्छ । प्रदेश नम्बर १ का मुख्यमन्त्रीले भारतबाट आउने पर्यटकहरुले सास्ती भोग्दैगर्दा क्षमा माग्छौं भन्नुभयो । त्यसैले तपाईहरु पनि न्यूनतम शुल्कमात्रै लिनोस् । मैले होटलवालाहरुलाई पनि भन्ने गरेको छु ।

रामचन्द्र श्रेष्ठजीले बडो मार्मिक कुरा भन्नुभयो कि गुगलबाट हेर्दा लुम्बिनीमा मस्जिदै मस्जिदहरु देखिन्छन् । यो बडो चासोको विषय छ क्या ! लुम्बिनीको वरिपरि करिब ७० प्रतिशत इस्लाम धर्मावलम्बीहरुको बसोबास रहेको सर्वविदितै छ । तर, लुम्बिनीसँग उनीहरुको कनेक्टिभिटी शून्य छ । मैले बुटवलमा लुम्बिनी भ्रमण वर्षको औपचारिक कार्यक्रममै उठेर मुख्यमन्त्रीसमक्ष भनेको छु, लुम्बिनी विकास कोषका उपाध्यक्षलाई पनि पटक–पटक भन्या छु । न्युज फेस्टिभलमा पनि हाम्रो भव्य उदघाटन समारोह भयो, त्यसमा कम्तिमा एकजना मञ्चमा दाह्री पालेको, टोपी लगाएको मुस्लिम समुदायको धर्मावलम्वीलाई पनि राखिदिनोस् न बाबा ! मैले यसो भन्दै गर्दा साथीहरुलाई, निकायहरुलाई के कस्तो फिल हुने हो !

यो पनि पढ्नुहोस दुई लुम्बिनी : पर्खालभित्र, पर्खाल बाहिर !

सामाजिक सदभावको कुरा गर्नुहुन्छ भने अधिग्रहण गरिएको ११५६ विघा जग्गामा बहुसंख्यक मुस्लिमहरुकै थियो । उहाँहरुले सम्पदा क्षेत्रभित्र परेको आफूहरुको पूजा गर्ने मस्जिदचाहिँ यथावत राखिनुपर्छ, यसबाट समाजिक सदभाव र सभ्यताको पहिचान पनि हुन्छ भनेकोमा त्यतिबेलाको राज्यले पनि मान्थ्यो । तर, वहाँहरुले त्यो पनि भत्काउन दिनुभयो । त्यो एउटा सभ्यता र संस्कृति थियो ।

त्यतिसम्म पनि योगदान दिएर यो ठाउँलाई सुदृढ गर्नुपर्छ भन्ने अभिप्रायले जग्गा दिनुभएका मुस्लिम समुदायलाई आज कार्यक्रम गर्दैगर्दा उपेक्षित गर्ने गरिएको छ । यो गुनासोको सम्वोधन गर्नुपर्छ भनेर मैले बारम्बार भन्दै आएको छु । राज्यले बनाउने सबै कुरा हामी लागू गर्छौं । घर वरपर सफा राख्छौं । तर, अब लुम्बिनीबासीले जग्गा दिँदैनन् ।

विश्वविद्यालयको कुरा पनि आयो । यहाँको विश्वविद्यालयमा होटल म्यानेजमेन्ट पढाइ भैराखेको छ । आज १२ देखि १३ वर्षको अवधिमा बुद्ध सभ्यता र संस्कृतिमा कतिजना विद्यार्थीले भर्ना भए ? बुद्ध सभ्यता र संस्कृतिको पढाइ गरेरमात्रै यो विश्वविद्यालय सर्भाइभ हुन सक्छ कि सक्दैन ? म त के भन्छु भने यसलाई प्रादेशिक विश्वविद्यालयमा रुपान्तरण गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment