Comments Add Comment

सिद्धबाबाको आश्रममा घीनलाग्दो हर्कत– ब्रोसरमा राखेर पत्रकारलाई नगद !

भीआईपी बलात्कार आरोपीलाई अस्पतालमै हिरासतको सुविधा

१४ मंसिर, बिराटनगर । सुनसरीको चतराधाम निवासी कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी परेको छ । तर, गिरी अहिलेसम्म बिराटनगरस्थित बिराट नर्सिङ होमको दोस्रो तल्लास्थित गाइनो वार्डको ५ नम्बर कोठामा ‘मुटुको समस्या’ भन्दै बसिरहेका छन् । नेपाल प्रहरीले उनलाई सुरक्षा गार्डसमेत उपलब्ध गराउँदै आएको हुनाले उनी भीआइपी अभियुक्त हुन् ।

‘कृष्णदासजी महाराज’ भनेर चिनिने बाबाजीको पहुँच प्रहरीका माथिल्ला अधिकारीहरु, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, नेता अनि शीतलनिवाससम्मै देखिएको छ विगतदेखि नै ।

राष्ट्रपति र सिंगै प्रदेश सरकारलाई चतरामा बोलाउन र नक्शा पास नगरेको भवन राष्ट्रपतिबाट उदघाटन गराउन सक्ने ल्याकत भएका बाबाजीविरुद्ध बलात्कारको अभियोग दर्ता भएपछि यसबारे स्थलगत रुपमा बुझ्न हामी शुक्रबार चतरास्थित सिद्धबाबाको १२८ कोठे नवनिर्मित आश्रममा पुग्यौं ।

बाबाजीको यो आलिशान आश्रम सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको स्थानीयले बारम्बार गुनासो गर्दै आइरहे पनि सत्ताको आडमा नियम मिच्नेमाथि कुनै कारवाही हुन सकेको छैन । मुख्यमन्त्री शेरधन राईले नै ‘म कृष्णदासजी महाराजबाट प्रभावित भएँ’ भनिसकेपछि उनलाई अहिलेसम्म कसैले छुन सकेको छैन ।’
शुक्रबार चतरा पुगेर हामीले सिद्धबाबाको विषयमा उनका सहयोगीहरुसँग केही कुरा सोधखोज गर्‍यौं । आश्रममा साधक र साधिकाहरु भेटिए । जवान महिलाहरुको उपस्थिति पनि बाक्लै देखिन्थ्यो । तर, त्यहाँ कृष्णदासजी महाराज अर्थात् सिद्धबाबा थिएनन्, उनी बिराटनगर पुगिसकेका थिए ।
यो पनि पढ्नुहोस मुख्यमन्त्री शेरधन राईले भने- महाराजजीबाट प्रभावित भइयो

शुक्रबार दिउँसो विभिन्न सञ्चार माध्यममा ‘सिद्धबाबा पक्राउ’ भनेर समाचारहरु आए । तर, प्रहरीले उनलाई आइतबार मात्र गिरफ्तार गर्ने भन्दै साइत हेरेर बसिरहेको छ । अदालतबाट पक्राउ पूर्जी नआएको बाहना प्रहरीले बनाइरहेको छ । अदालत स्रोतले भने पक्राउ पूर्जी जारी भैसकेको बताएको छ । बलात्कारको जाहेरी परिसकेपछि कुनै पनि सर्बसाधारण व्यक्ति तत्काल हिरासतमा पर्ने गरेको छ ।

तर, भीआइपीहरुले भने अस्पताललाई नै हिरासत बनाउने गरेका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराकै पालादेखि अस्पताललाई भीआइपीको हिरासत बनाउने नजीर स्थापित गरिसकेको छ नेपाल प्रहरीले ।

ब्रोसर पल्टाएर अध्ययन गर्न खोज्दा त्यहाँभित्र तीन हजार रुपैयाँ भेटियो । यस्तो तुच्छ आपराधिक मानसिकता बाबाजीको ‘आध्यात्मिक थलो’ भित्र कसरी जाग्रित भयो ?

शुक्रबार हामी बाबाजीको आश्रमबाट रिपोर्टिङ सकेर निस्कनै लाग्दा बाबाजीमा सहयोगी बुद्ध शाक्य नाम गरेका व्यक्तिले ‘अध्ययनका लागि’ भन्दै तीनवटा ‘ब्रोसर’ थमाए । एउटा ब्रोसर प्रदेश १ सरकारसँग मिलेर गरिएको हरित अभियानको विषयमा थियो, जहाँ राष्ट्रपति र मुख्यमन्त्रीलाई चतरामा ल्याइएको बारे सगर्व वर्णन गरिएको रहेछ । दोस्रो ब्रोसर उनको आध्यात्मिक प्रतिष्ठानको र तेस्रोचाहिँ आश्रमको विषयमा परिचय दिइएको रहेछ । हामी ती ब्रोसरहरु नपल्टाई ब्यागमा राखेर मोटरसाइकलमा फर्कियौं ।

एक युवतीले बाबाजीलाई निरन्तर प्रेमपूर्ण म्यासेजहरु पठाएको स्क्रिन सट कृष्णदासका सहयोगीहरुले प्रहरीका हाकिमहरुलाई उपलब्ध गराएका रहेछन् । तिनै स्क्रिन सटहरु हामीले पनि इमेलमार्फत प्राप्त गर्‍यौं । र, शुक्रबार चतराबाट फर्कनासाथ त्यसबारे एउटा समाचार लेखेर अनलाइनखबरमा प्रकाशित गर्‍यौं । बाबाजीमाथि षडयन्त्र भइरहेको भन्ने उनका अनुयायीहरुको दाबीलाई पनि हामीले समाचारमा ठाउँ दियौं ।
यो पनि पढ्नुहोस कृष्णदासलाई महिलाको म्यासेजः ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुन्छ !

तर, समाचार लेखिसकेपछि साँझ ती ब्रोसरहरु पल्टाएर अध्ययन गर्न खोज्दा त्यहाँभित्र तीन हजार रुपैयाँ भेटियो ।

लगत्तै ब्रोसर उपलब्ध गराउने बुद्ध शाक्यलाई फोन गरेर सोधियो–‘ब्रोसरभित्र ३ हजार रुपैयाँ हाल्नुभएको रहेछ, तपाईहरुले यस्तो काम किन गर्नुभएको ?

शाक्यले तपाईभन्दा अगाडि चतरा आएका सुनसरीका पत्रकारहरुलाई पनि यसैगरी दिइएको थियो, त्यही भएर तपाईलाई पनि दिएको भन्ने जवाफ फर्काए ।

हामीले उनलाई त्यो पैसा फिर्ता लिन आउन भन्यौं । जवाफमा उनले ‘हैन, अब त्यो पैसाको विज्ञापन हालिदिनोस्’ भने ।

हामीले यस्तो काइते प्रस्तावलाई स्वीकार गर्ने प्रश्नै भएन । एउटा व्यवसायिक पत्रकारलाई प्रभावित पार्ने यस्तो तुच्छ आपराधिक मानसिकता त्यो ‘आध्यात्मिक थलो’ भित्र कसरी जाग्रित भयो ? हामीलाई बाबाजीका चेलाहरुको पारा देखेर अचम्म लाग्यो ।

यस्तो गलत कार्य नगर्न आग्रह गरेपछि बाबाजीका सहयोगीले म्यासेज पठाएर ‘हाम्रो हरित आन्दोलनको सूचना प्रसारित गर्न वा सो रकम फिर्ता गरिदिन भनेका छन् । झुक्याएर थमाइएको नोटबारे म्यासेजमा भनिएको छ, ‘यो हाम्रो सामाजिक अभियानको प्रमोसनका लागि हो ।’

कसैलाई पनि घुस दिनु भनेको फौजदारी अपराध हो । त्यसैले, हामीले यो रकम सिद्धबाबाको बलात्कारसम्बन्धी जाहेरी दर्ता भएको सुनसरी प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने र बाबाजीका सहयोगीमाथि कारवाहीका लागि निवेदन दिने निर्णय लिएका छौं । ती ब्रोसरहरु र तीन हजार नगद अनलाइनखबरका सम्वाददातासँग सुरक्षित रहेको छ ।

भीआइपीसँगको कनेक्सन

विगतदेखि नै विभिन्न विवादहरुमा तानिँदै आएका सिद्धबाबाले बोलाउनासाथ त्यहाँ जाने र कानून मिचेर बनाइएका संरचनाहरुमा लाहाछाप लगाइदिने कार्य कम्युनिष्ट सरकारका मुख्यमन्त्री र राष्ट्रपतिसम्मले गरिदिएको हुनाले बलात्कार आरोपी बाबाजीको कनेक्सन सरकारको माथिल्लो तहसम्मै रहेको प्रष्ट हुन्छ । यही कारणले बाबाजीमाथि अनुसन्धान गर्नु प्रहरीका लागि बिरालाको घाँटीमा घण्टी झुण्ड्याउनुजस्तै बन्न पुगेको देखिन्छ ।

त्यसो त विहीबार नै चतरामा प्रदेश १ का  डीआइजी सुटुक्क आएको र बाबाजीलाई भेटेर फर्केको चर्चा चतराका स्थानीयबासीहरुले गरे । कनिष्ट प्रहरीहरुले पनि डीआईजीले बाबाजीलाई भेट गरेको बताएका छन् । तर, डीआइजी ठाकुरप्रसाद ज्ञवाली भने आफूले बाबाजीलाई नभेटेको बताउँछन् ।

बिराट नर्सिङ होममा रहेका बाबाजीले हेडक्वार्टरमा रहेका प्रहरी हाकिमहरुसँग पनि निरन्तर सम्पर्क गरिरहेको बुझिएको छ । कतिपय प्रहरीका श्रीमती नै बाबाजीका भक्त रहेको उनका सहयोगीहरु बताउँछन् ।

बिराटनगर नर्सिङ होममा पुग्दा बाबाजीले पत्रकारसँग बोल्न मानेनन् । उनले ‘समय आएपछि बोल्छु’ मात्र भने । बाबाजीका अंगरक्षकले अस्पतालमा उनको तस्वीरसमेत खिच्न दिएनन् ।

प्रहरीले अहिलेसम्म उनका अंगरक्षकलाई फिर्ता बोलाएको छैन । यद्यपि प्रहरीले बाबाजीमाथि निगरानी भइरहेको र अनुसन्धान सुरु भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment