Comments Add Comment

चितवनमा १० महिनामा ८० एचआइभी संक्रमित भेटिए

१५ मंसिर, चितवन । चितवनमा वितेको १० महिनामा ८० जना नयाँ एचआइभी संक्रमित फेला परेका छन् ।

भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरले दिएको जानकारी अनुसार पछिल्लो १० महिनामा ८० जना नयाँ एचआईभी संक्रमित उपचार गर्न आएका छन् ।

अस्पताल र समुदायस्तरमा १३ हजार ६२५ जनाको एचआईभी परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । जसमध्ये ४३ जना पुरुष, ३५ जना महिला र २ जना बालबालिका छन् ।

एचआईभी र टिबी लागेका २१ जना छन् । सन् २०१९ मा १ सय १६ जनाले एआरभी औषधि लिन सुरु गरेका छन् ।

सन् २०१९ मा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश रक्सी सेवन, लिभर र मुटु रोगी, टिबी भएका संक्रमित भएकाहरु रहेको एआरटी सेन्टरका संयोजक तथा एड्स हेल्थकेयर फाउण्डेशन (एएचएफ)का क्षेत्रीय संयोजक कृष्णहरी सापकोटाले जानकारी दिए ।

एचआईभी संक्रिमित भइसकेपछि शरीरमा भाइरस फैलिन नदिन नियमित ‘एआरभी’ औषधि दिने गरिन्छ । स्वास्थ्य संस्थामा यो औषधि निःशुल्क पाइन्छ । एचआईभी संक्रमितहरुको उपचार तथा अन्य आकस्मिक काम गर्दा एचआइभीको खतरा भएका १५ जनालाई पिईपी सेवा प्रदान गरिएको छ ।

एचआईभी सर्न नदिन ‘पीईपी’ उपचार पद्धति भरतपुर अस्पतालमा उपलब्ध छ । बलात्कार वा अन्य असुरक्षित यौनसम्पर्क अथवा एचआइभी संक्रमितको उपचार गर्दा सुईका कारणले हुन सक्ने जोखिमलाई कम गराउन ७२ घण्टाभित्र पीइपी उपचार गरेमा संक्रमणबाट जोखिन सकिन्छ ।

यो औषधि २८ दिनसम्म लिनुपर्छ । वैदेशिक रोजगारीबाट फर्किएका, यौनकर्मी महिला, समलिंगि, लागुऔषध प्रयोगकर्ता संक्रमणको उच्च जोखिममा छन् । असुरक्षित यौन सम्पर्क, रगत, संक्रमित आमाबाट जन्मेका बच्चामा एचआईभी सर्ने खतरा बढी हुन्छ ।

सन् २००७ देखि २०१९ सम्म १ हजार ७ सय ९३ जना एचआइभी संक्रमितको पत्ता लागेको सेन्टरको अभिलेखमा उल्लेख छ ।

सन् २०१८ मा १ हजार १ सय ११, सन् २०१७ मा ९३ जनामा संक्रमण देखिएको थियो । नेपालमा २९ हजार ८ सय ७८ जना संक्रमित रहेको अनुमान छ ।

अहिलेसम्म १९ हजार ७ सय २ जना एचआइभी संक्रमितको पहिचान भएको छ । सन् २०१८ मा नेपालमा ८ सय ७० जना नयाँ संक्रमित फेला परेका थिए । सो वर्ष ९१० जनाको एचआइभी एड्सका कारणले मृत्यु भएको थियो ।

विश्व एड्स दिवसमा विविध कार्यक्रम

३२ औँ विश्व एड्स दिवसको अवसर पारेर चितवनका विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । एआरटी सेन्टर भरतपुरले भरतपुर कारागारभित्रका कैदीवन्दी र भरतपुर-७ क्यान्सर अस्पताल अगाडि एचआइभी परीक्षण कार्यक्रम राखिएको हो ।

यस्तै, भरतपुर अस्पताल, मालपोत चोक, विशाल चोक, गणेशस्थानसम्म सचेतनामूलक अटो र्‍याली निकालिएको छ ।

कण्डम बाड्दै एचआईभी एड्सविरुद्धका जनचेतना पम्पेलेटहरु वितरण हुनेछन् । कार्यक्रममा एचएफ नेपाल, स्वास्थ्य कार्यालय चितवन, भरतपुर अस्पताल, भरतपुर महानगर स्वास्थ्य शाखाका कर्मचारीहरु लगायत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment