Comments Add Comment

यता साग उद्घाटन, पोखरा रंगशालामा धमाधम काम

१५ मंसिर, पोखरा । आइतबार सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का २७ मध्ये ८ खेल पोखरामा हुँदैछ । साग उद्घाटनसँगै पोखरा रंगशालामा फरक दृश्य पनि देखियो ।

रंगशालामा एकातर्फ कडा सुरक्षाबीच १३ औं साग सञ्चालन भइरहेको छ । तर, त्यसकै अर्कातर्फ रंगशाला पुनर्निर्माणको काम धमाधम भइरहेको छ । आइतबार बिहान साग महिला फुटबल टोलीले पहिलो पटक नवनिर्मित रंगशालामा भएको फुटबल मैदानमा अभ्यास गरे । उनीहरुले अभ्यासलगत्तै मैदान पुनः मर्मत गरियो ।

मैदानको दुबो केही दिनअघिमात्रै रोपिएकाले मैदान आधा हरियो देखिन्छ भने आधा फुस्रो देखिन्छ । आयोजक टोली दुबोको कारण खेल नरोकिने र दुबो फेर्दै भए पनि खेल जारी रहने बताइरहेको छ । खेल मंसिर १७ गतेदेखि सुरु हुँदैछ ।

मैदानबाहिरको सिन्थेटिक एथ्लेटिक ट्र्याकको कामसमेत पूरा सकिएको छैन । प्राविधिक त्यसमा लागिरहेका छन् । १० हजार सिट क्षमताको प्यारापिट जडान गरिने भनिए पनि करिब ९ हजार सिट क्षमतामात्रै जडान गरिएको छ । महिला फुटबल खेलाडीका लागि चेन्जिङ रुम अझै तयार भइसकेको छैन ।

रंगशाला प्रवेशद्वारमा शनिबारदेखि नेपालको झन्डाअंकित फूलबारी बनाउन लागिएको छ । त्यसका लागि मैदानबाट बचेको दुबो बिच्छ्याएर सजाउने काम भइरहेको छ । शनिबारसम्म धुलाम्मे पोखरा रंगशालामा अभ्यासका लागि आउने खेलाडी मुखमा मास्क लगाएर आएको देखिन्थ्यो । तर, आइतबारदेखि त्यो भने देखिँदैन ।

रंगशालामा बनेको बाटो र वरिपरि खनिएका ठाउँमा धुलो नउडोस् भन्नका लागि प्रशस्त पानीको व्यवस्था गरिएको छ । जसमा प्रत्येक घन्टा पानी छ्याप्दै धुलो रोक्ने प्रयास गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment