Comments Add Comment

सरकारप्रति असन्तुष्टि बढेको पुष्टि भयो : कांग्रेस

१६ मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपचुनावले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि गरेको बताएको छ । साथै चुनावी परिणामले नेकपालाई ‘आजै सच्चिने कि भोलि सक्किने’ भन्ने सन्देश दिएको उसको दाबी छ ।

५२ पदका लागि भएको उपचुनावमा नेकपाले ३० जितेको छ भने कांग्रेसले १३ । प्रतिनिधिसभा सदस्यतर्फ कास्की २ र प्रदेशसभातर्फ बाग्लुङ २ ख र दाङ ३ ख मा आफ्नो बर्चश्व कायमै राखेको नेकपाले प्रदेशसभातर्फ भक्तपुर १ क र स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख गुमाएको छ ।

यस्तै यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष र यसअघि राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पनि नेकपाले नै जितेको छ । वडातर्फ यसअघि जितेका ६ स्थानमा हार व्यहोर्‍यो भने त्यो भन्दा बढी अन्यत्र जितेको छ ।

दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्षमा हात पारेको जितलाई देखाएर सरकारको पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष गर्न सुविधा सरकार र नेकपासँग रहेको कांग्रेसले बताएको छ ।

तर केही सन्देशमूलक वडा, एक उपमहानगरपालिका नेतृत्व अनि एक प्रदेश क्षेत्रको परिणामले नेकपालाई ‘आजै सच्चिने कि भोलि सक्किने’ सन्देश दिएको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने । सक्किने भन्नुको अर्थ भोलिको परिणाम झनै प्रतिकूल आउनेतर्फ गरिएको संकेत भएको उनले बताए ।

कास्की र दाङमा राजनीतिक प्रभावभन्दा सहानुभूतिका मत संयोजन भएको भन्दै उनले बालुङसहित तीनै क्षेत्रमा मतान्तर घटाएको उल्लेख गरे ।

कांग्रेसले एक गाउँपालिका अध्यक्ष एक उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएको भन्दै उनले यसको समीक्षा हुने बताए । तर प्रदेश २ को रौतहट, सुदूरपश्चिम प्रदेशको बैतडी, प्रदेश ५ को अर्घाखाँची, प्रदेश ३ को चितवन, प्रदेश १ को धरान र उपत्यकाको भक्तपुरमा प्राप्त परिणामले कांग्रेसलाई विशेष रुपले उत्साही तुल्याएको छ,’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment