Comments Add Comment

कास्की २ को उपचुनाव : साझा र विवेकशीलले कति मत पाए ?

नेताहरु भन्छन्- अपेक्षाअनुसार मत आएन

१५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा साझा पार्टीबाट उम्मेदवारी दिएकी रजनी केसीको दाबी थियो, ‘कास्की २ बाट विजयको विगुल फुक्छौं ।’

उसले उम्मेदवारी घोषणादेखि घरदैलो शुभारम्भसम्म सबैलाई पछि पनि पारेको थियो । तर मतगणना भने त्यसो भएन । आइतबार विहान १२ हजार ६२६ मत गणना हुँदासम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराईले ८ हजार २६८ मत पाएकी छन् भने नेपाली कांग्रेसका खेमराज पौडेलले ३ हजार ६८२ । त्यहाँ अरु उम्मेदवारले हजार कटाउन सकेका छैनन् ।

साझा पार्टीकी रजनी केसीले ९० मत पाएकी छन् । उनी पाँचौं स्थानमा छिन् ।

विवेकशील नेपाली दलकी जमुना शर्माले मात्र १० मत पाएकी छन् । उनलाई स्वतन्त्र उम्मेदवार कमलजंग कुँवरले जितेका छन् । उनको २५ मत छ ।

चुनावी परिणामप्रति के भन्छन् ?

साझा पार्टीका प्रवक्ता सूर्यराज अचार्यले कास्की २ मा अपेक्षाअनुसार मत नआएको स्वीकार गरे । आफूहरु राजनीतिक रोग मुक्त गर्न भनेर राजनीतिमा आएको भन्दै उनले भने, ‘त्यो कति जटिल रहेछ भन्ने यो निर्वाचनले देखाउँछ ।’

विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले कास्की २ मा आफ्नो पार्टीको अपेक्षाअनुसार मत नआएको बताए । ‘योभन्दा हाम्रो अपेक्षा बढी नै थियो । तर त्यसअनुसार मत आएन,’ उनले भने ।

स्रोतकाअनुसार आन्तरिक बैठकहरुमा नेताहरुले ५ सय कट्ने अनुमान गरेका थिए । कास्कीको चुनावले पार्टी फुटबाट नराम्रो सन्देश गएको पुष्टि गरेको विवेकशीलका नेताहरुले बताएका छन् । पार्टी दर्ता नगरेका कारण जमुनाले स्वतन्त्र उम्मेदवार बन्नु र उम्मेदवार नयाँ अनुहार हुँदा पनि प्रभाव परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment