Comments Add Comment

सुर्खेतमा मौसमको जानकारी दिने ‘राडार’ सञ्चालन

राडारको उद्घाटन गर्दै ऊर्जामन्त्री वर्षमान पुन ।

१७ मंसिर, काठमाडौं । मौसम सम्बन्धी पूर्वसूचना दिने रेडियो डिटेक्सन एण्ड रेन्जिङ ‘राडार’को औपचारिक सुरु भएको छ । एक वर्ष अगाडि सुर्खेतको रातानाङलामा निर्माण गरिएको राडारको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन् ।

संघीय मन्त्रीले काठमाडौंबाट गएर राडार उद्घाटन गर्दा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने कार्यक्रममा देखिएनन् । उनले लामो समयदेखि जल तथा मौसम कार्यालय सुर्खेतबाट नसार्न केन्द्र सरकारसँग माग गरिरहेका थिए ।

यद्यपि, अन्य कार्यक्रम पनि भएकोले मुख्यमन्त्री शाही उद्घाटनमा सहभागी नभएको बताइएको छ । उनले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई पठाएका थिए ।

कार्यालयको लफडा

सुर्खेत-दैलेख सीमा क्षेत्रमा तीन वर्षअघि निर्माण सुरु भएको राडारको काम करिब एक वर्ष अगाडि नै सम्पन्न भएको थियो । तर, प्राविधिक कठिनाइ र केही प्रशासनिक कारण सुरु हुन सकेको थिएन ।

राडारको मंगलबार औपचारिक उद्घाटन गरिए पनि अझैं यसबाट सूचना संकलनको पूरा काम हुन केही समय लाग्ने विभागका एक कर्मचारीले बताए । ‘एक वर्ष अगाडि निर्माण सम्पन्न भएको थियो अहिले औपचारिक उद्घाटन भयो । पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्छ । तर त्यो वर्षा अगाडि नै हुन्छ,’ उनले भने ।

संघीय संरचनाअघि सुर्खेतको वीरेन्द्रनगरमा मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालय थियो । जसले दुई विकास क्षेत्रको मौसमी विवरण संकलन तथा वितरण गर्थ्यो ।

यो पनि पढ्नुहोस कहाँ हरायो हावाहुरीको पूर्वजानकारी दिने मौसमी राडार ?

यो कार्यालयको नाम क्षेत्रीय हावापानी कार्यालय हुँदै अहिले जल तथा मौसम कार्यालय, कोहलपुर (हाल सुर्खेत) बनाइएको छ । यो कार्यालय जल तथा मौसम विज्ञान विभागअन्तर्गतको कार्यालय हो ।

लामो समय जलस्रोत मन्त्रालयमा रहेको विभाग कहिले विज्ञान, कहिले वातावरण हुँदै अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत छ ।

मन्त्रालय फेरिएपछि सुर्खेत कार्यालय तानातानमा पर्‍यो । कार्यालय प्रदेश-५ मा सार्ने हल्ला चलिरहेका बेला कर्णाली प्रदेश सरकार र कर्णालीबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदले वीरेन्द्रनगरमै राख्न माग गरे ।

तर, रोल्पा घर भएका ऊर्जामन्त्री वर्षमान पुनले कर्णालीमा रहेको कार्यालय आफ्नो प्रदेश भित्रको कोहलपुरमा सार्ने निर्णय गरे ।

ऊर्जा मन्त्रीको आश्वासन

सुर्खेतको कार्यालय बाँके सार्ने चलखेल गरेको आरोप ऊर्जामन्त्री पुनलाई छ । तर, राडारको औपचारिक उद्घाटनका क्रममा भने मन्त्री पुनले कार्यालय सुर्खेतमै रहने बताए । उद्घाटनपछि सम्बोधनको अन्तिममा मन्त्री पुनले कार्यालय सुर्खेतमै रहने भन्दै सहभागीलाई आश्वासन दिएका हुन् ।

सोही क्रममा मन्त्री पुनले पूर्व सूचना प्रणालीले नागरिकको सुरक्षामा महतवपूर्ण सहयोग गर्ने बताएका हुन । मौसमका कारण हुने जोखिमबारे राडारमार्फत पूर्व जानकारी हुने भएकोले जोखिम व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ छ ।

‘पहिले मानिसहरु आकाश हेरेर मौसमबारे जानकारी लिन्थे, अब सबै जानकारी सिस्टममार्फत् नै हुने भयो,’ उनले कार्यक्रममा भने, ‘बरु यसले दिने सूचनाहरु जनताको कानसम्म सहजै पुग्ने वातावरण मिलाउनु जरुरी छ ।’

प्रदेश सरकारको माग

मौसमी राडार सञ्चालन विभाग र सुर्खेतमा रहेको कार्यालयबाट हुने हो । राडार सञ्चालन गर्ने कर्मचारी यही कार्यालयका हुन्छन् ।

राडार कर्णालीको सुर्खेत-दैलेख सीमा क्षेत्रमा भएकोले कार्यालय वीरेन्द्रनगरमै हुनुपर्ने माग प्रदेश सरकारको थियो । राडार जडान गरिएको स्थान र अहिले कार्यालय रहेको स्थान नजिकै छ । तर, बाँके सार्दा कम्तिमा सय किलोमिटर टाढा हुन्छ ।

कार्यालयका केही प्राविधिक दिनरात राडार जडान गरिएको ठाउँमै बस्नु पर्छ त्यसले गर्दा पनि कार्यालय टाढा हुँदा असहज हुने तर्क गरिएको छ ।

राडार भएको ठाउँबाट र कार्यालय भएको ठाउँबाट सूचना संकलन गरिन्छ । राडार भएको ठाउँमा इन्टरनेट चाहिँदैन । तर, कार्यालयमा इन्टरनेटकै माध्यमबाट काम हुन्छ ।

अहिलेसम्म कार्यालय वीरेन्द्रनगरमै छ । कहिले सर्छ वा सर्दैन भन्ने टुंगो नभएकोले पनि यसअघि राडार सञ्चालनमा आउने नसकेको विभागका एक कर्मचारी बताउँछन् ।

राडारले के गर्छ ?

यो मौसमको पूर्वसूचना दिने अत्याधुनिक प्रविधि हो । ‘वेदर सर्भिलेन्स राडार’ समेत भनिने मौसमी राडारको सहायतले वर्षाकाे गति, मात्रा, हावाको बहावको मापन र चट्याङ-हावाहुरी आदिीको पूर्वानुमान गर्न सक्दछ ।

जल तथा मौसम विज्ञान विभागले मौसमका कारण हुने प्राकृतिक प्रकोप नियन्त्रणका लागि देशका तीन ठाउँमा राडार जडान गर्ने प्रस्ताव गरेको थियो । सोही अनुसार सुर्खेतमा जडान गरिएको हो ।

यसले साविकको मध्य तथा सुदूरसहित पश्चिमाञ्चल र भारतको केही क्षेत्रलाई कभर गर्छ । यसपछि पाल्पा र उदयपुरमा जडान गर्ने लक्ष्य छ ।
राडारको संचालन जल तथा मौसम विज्ञान विभाग काठमाडौं र सुर्खेतस्थित कार्यालयबाट हुन्छ । मुख्यतः यसले २ घण्टा अगाडि मौसम सम्बन्धी सूचना दिन्छ । जसलाई ‘नाउ कास्टिङ’ भनिन्छ ।

यसबाट कति वर्षा हुन्छ ? बादल कहाँ छ र कति समयमा आइपुग्छ भन्ने सूचना पाइन्छ । साथै पानी मात्रै पर्छ कि असिना वा असिना पानी भन्ने जानकारी पनि हुन्छ । यही सूचनालाई थप विश्लेषण सम्भावित चट्याङ र बाढीपहिरोबारे नागरिकलाई सूचित गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment