News Summary
Generated by OK AI. Editorially reviewed.- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारीसहित सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको छ।
- प्रसाईंले देशभर आन्दोलन गर्ने घोषणा गरेका थिए र पक्राउपछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था थप चुस्त पारिएको छ।
- प्रसाईंविरुद्ध मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौंले डकुमेन्टेशन सुरु गरेको र सार्वजनिक शान्तिमा खलल पुग्ने अभिव्यक्तिका कारण अनुसन्धान अघि बढाइएको छ।
२ मंसिर, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी प्रहरीले गरेको छ ।
सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं मध्यराति पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउने तयारीअनुसार डकुमेन्टेशनको काम सुरु गरेको छ ।
प्रसाईंले बोलेका अभिव्यक्तिले सार्वजनिक शान्ति भंग गर्ने किसिमको रहेकाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
‘अभिव्यक्ति स्वतन्त्रताको नाममा उहाँले दिनु भएका अभिव्यक्तिले सार्वजनिक शान्तिमा खलल पुग्ने देखिन्छ’ एसपी भट्टराईले अनलाइनखबरसँग भने, ‘जसअनुसार सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गछौं ।’
प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तिव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।
अहिले प्रसाईंलाई परिसरको भद्रकालीस्थित हिरासतमा राखिएको छ । मध्यराति पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको छ ।
प्रसाईं पक्राउ पछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने भन्दै उपत्यकाको सुरक्षा थप चुस्त बनाइएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीन वटै जिल्ला प्रहरी परिसरलाई निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पार्न भनेको छ । सोही अनुसार अहिले सडकमा बाक्लो रुपमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।
सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं पक्राउ परेपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने बताएका थिए । त्यसपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
प्रतिक्रिया 4