Comments Add Comment
कास्कीमा कहाँ चुक्यो कांग्रेस ? :

अब म उठ्दिनँ, युवामा ऊर्जा भर्छु : खेमराज

सरकारै उत्रियो, व्यवस्थापनमा चुक्यौं– सभापति केसी

१७ मंसिर, पोखरा । कांग्रेस नेता खेमराज पौडेलले कास्की क्षेत्र नम्बर २ मा टिकट पाएपछि कांग्रेसको सन्देश थियो, ‘निष्ठावान नेताले टिकट पाए । योसँगै कांग्रेसीजन एक भए । योबेला चुनाव जितिन्छ ।’

देशकै एकमात्र प्रतिनिधिसभाको उपनिर्वाचन भएको कास्की–२ कांग्रेसका निम्ति एक अवसर थियो । जीवनभर कांग्रेसमा निष्ठाको राजनीति गरेका पौडेलले उपनिर्वाचनमा टिकट पाउनु नै कास्की कांग्रेसभित्र उपलब्धी ठानिएको थियो ।

पञ्चायतदेखि विभिन्न राजनीतिक आन्दोलनमा होमिँदै जीवनको ६० वर्ष पार्टीलाई योगदान गरेर पनि अवसर नपाएका अभागी नेता ‘खेमराज गुरु’ यो उपनिर्वाचनमा पनि भाग्यमानी ठहरिएनन् । १६ जना आकांक्षीमध्येबाट खेमराजले टिकट पाएपछि सबै एक भएको उद्घोष गर्दै कांग्रेसले चुनावी अभियान थाल्यो । चुनावी सारगर्मी बढ्दै जाँदा जीत कसको हुन्छ यसै भन्न सक्ने अवस्था थिएन ।

विद्या वा खेमराज जसले चुनाव जिते पनि झिनो मतान्तरले जित्ने धेरैको अनुमान थियो । नेकपाले भने पहिलेभन्दा ५ हजार मतान्तर बढाउँदै १३ हजार ८ सय ४६ जित्ने दाबी गरेको थियो । थोरै मतले भए पनि जित्ने नत्र भने मतान्तर कम गरेर नेकपा अलोकप्रिय रहेको सन्देश दिन कांग्रेसले चाहेको थियो ।

स्वर्गीय रवीन्द्र अधिकारीको बिरासतमा प्राध्यापन छाडेर कास्की २ को टिकट हात पार्दै राजनीतिमा पुनरोदय गरेकी विद्या भट्टराई अधिकारी संसद यात्रा तय गर्न सफल भइन् । त्यो पनि पहिलेको भन्दा लोकप्रिय मतान्तरका साथ ।

कांग्रेसभित्रको एकता र मतदाताको सदभावले चुनाव जित्ने आत्मविश्वासमा रहेका खेमराज ८ हजार ४ सय ३ मतान्तरका पछि परे । विद्याले २४ हजार ३ सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत ल्याए । अघिल्लो चुनावमा रवीन्द्र अधिकारीले ८ हजार ५ सय ४६ मतान्तरले कास्की–२ मा ह्याट्रिक मारेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।

विद्यालाई नेकपालेमात्रै होइन, कांग्रेसले पनि सबैभन्दा बलियो उम्मेदवारकै रुपमा हेरेको थियो । तर, वौद्धिक र राजनीतिक पृष्ठभूमि हुँदै राजनीतिमा पुनरागमन गरेकी विद्यामाथि जसरी सहानुभूति छ, त्यसरी नै निस्वार्थी, राजनीतिक निष्ठा र प्राध्यापन पेशाबाटै आएका खेमराजप्रति पनि सद्भाव रहने कांग्रेसको दाबी थियो । मतपारिणामले त्यस्तो देखाएन ।

लालकिल्ला तोड्छ् भनेर लागेका उम्मेदवार खेमराजको दाँतमा ढुंगा लाग्यो । एक भएको भनिएको कांग्रेसले बलियो जनमत पनि सिर्जना गर्न सकेन ।

कांग्रेसका शीर्षनेताहरु सबै पोखरा खाएर खेमराजका पक्षमा भोट मागे । सभापति शेरबहादुर देउवादेखि गगन थापा, विश्वप्रकाश शर्मासम्मले यो चुनाव कांग्रेसका निम्ति जित्नै पर्ने बताए । नेता मिनेन्द्र रिजालले त कास्की गाउँ–गाउँ पुगेर भोट मागे । रिजाल खेमराजलाई जिताउन खटिएका केन्द्रका कमाण्डर पनि थिए । तर, पनि खेमराजका पक्षमा अपेक्षित जनमत नै देखिएन ।

कास्की कांग्रेसका एक नेता भन्छन्, ‘जित्छन् भन्ने विश्वासले भन्दा मतान्तर कम गर्न र एकताको सन्देश दिँदै जनमत सिर्जना गर्ने उपयुक्त पात्रका रुपमा खेमराजलाई कांग्रेसले टिकट दिएको थियो ।’

नेकपाको बाहुल्य मानिएको कास्की–२ मा अबको निर्वाचनमा पनि साँच्चिकै जित्ने गरी उम्मेदवार बनाउन एक कदम पछि हटेर सोच्नुपर्ने अवस्था कांग्रेसभित्र आएको छ ।

कांग्रेस नेता यज्ञबहादुर थापाले उम्मेदवार सबै हिसाबले ठीक उठाए पनि व्यवस्थापनमा कमजोरी रहेको बताउँछन् । एकताको सन्देश भनिए पनि कांग्रेसको सांगठनिक कमजोरी भएको थापाले बताए । ‘एक त ढिला गरी उम्मेदवार उठायौं । अर्को व्यवस्थापन र प्रचारमा हामी चुक्यौं,’ थापाले भने, ‘सांगठनिक कमजोरी भएकै हो । तुलनात्मक हिसाबले मत बढाउन सकेनौं ।’

अब म उठ्दिनँ, युवामा ऊर्जा भर्छु  : खेमराज

हामी कहाँ चुक्यौं । कहाँ कमजोरी भयो, यो समीक्षा पार्टीले पनि गर्ला । उपनिर्वाचनमा पार्टीले जुन विश्वास गरेर मलाई टिकट दियो, मैले पार्टीले ढिलै भए पनि न्याय ग¥यो भन्ने सोचेकै छु । जनताको मप्रति ठूलो स्नेह र सदभाव थियो । माया, ममता र सद्भाव अहिले पनि पाइराखेको छु । पाउन नसकेको ठूलो अभिमतमात्र हो । जुन मैले अभिमत प्राप्त गरें, त्यसका निम्ति मतदातालाई धन्यवाद भन्नै पर्छ ।

यो निर्वाचन व्यक्ति वा पार्टीसँग थिएन । सरकार र उसको रबैयाप्रति थियो । त्यसकारण सरकारले नै केही चुनावी हत्कण्डा अपनायो । पैसा, कम्मल बाँड्ने, जनतालाई नियतबस तर्साउने काम पनि भएकै हो । यो पनि मत घट्नुको एउटा कारण हो ।

नेपाली कांग्रेसको पनि जुन किसिमको स्वस्थ संगठन बनाएर अगाडि बढ्नुपर्नेमा कमजोरी रह्यो । संगठनको चुस्ततामा पनि चुक्यौं । यो अर्को कारण हो ।

मेरो उम्मेदवारीलाई लिएर जुनखालको माहोल बनेको थियो । सद्भाव र सहानुभूति पार्टीबाट भयो । अन्य पार्टीका साथीबाट पनि सद्भाव थियो । तल्लो तहसम्म हामी पस्न सकेनौं । ग्रास लेबलसम्म पुग्न नसकेपछि केही जनमत सुरक्षित गर्न सकिएन । त्यो जनमतलाई प्रभावित पार्ने काम पनि भयो ।

नेपाली कांग्रेसप्रति जसरी जनताले रेसपोन्स गर्नुपथ्यो । त्यो नभएको मैले पनि समीक्षा गरेको छु । पार्टीले पनि जनताले माया गर्ने खालका कार्यक्रम गरेर जानुपर्ने रहेछ । पार्टी जनतासँग जोडिन सकेको रहेछ कि रहेनछ एक पटक कांग्रेसभित्र समीक्षा हुन जरुरी छ । जनताको ज्यादै नजिक रहेका काम गर भन्ने सन्देश अहिलेको निर्वाचनले दिएको छ । मतान्तर किन यति धेरै भयो भनेर पार्टी र आफ्नो पनि खोजको विषय छ ।

निर्वाचनको पराजयले मेरो यात्रा रोकिँदैन । जुन खालको आस्था र निष्ठाका साथ राजनीति गरेको थिए, त्यो जारी नै रहन्छ । निर्वाचनमा जनताका माझ जुन प्रतिवद्धता गरेको थिएँ । त्यो पूरा गर्ने प्रयासमै लाग्ने छु ।

अबका निर्वाचनमा म सायद उठ्दिनँ होला । उमेर ढल्किँदै गयो । पार्टीमा थुप्रै युवाहरु छन् । ती युवाहरुकै हातमा भोलिको भविष्य छ । युवा नै अब राजनीतिमा होमिनुपर्छ । मौका पनि युवाहरुले पाउनुपर्छ । मजस्तो पाको मान्छेले अनुभाव साटेर युवालाई ऊर्जा भर्नुपर्छ । उनीहरुलाई जाँगरिलो र हस्तक्षेपकारी बनाउनुपर्छ । अबका निर्वाचनमा म लालायित भएर जान्न । युवा भाइहरुलाई प्रोत्साहन दिएर अवसर तिमीहरुकै हातमा, समाउन सिक भनेर म लाग्नेछु ।

मेरो कमजोरी भए नेतृत्व छोड्न तयार छु : केसी

त्यसो त कांग्रेसभित्र अन्त्य भयो भनिएको प्रतिघातको शेष अझै पनि केही बाँकी नै रहेको यो निर्वाचनमा पनि देखाएको एक नेताले बताए । खेमराज जिताउने प्रचार कमाण्डर तथा कास्की सभापति कृष्ण केसीको व्यवस्थापकीय कमजोरीप्रति पनि केहीले प्रश्न उठाएका छन् । विद्याप्रति बढी नै जनताले सहाभूति हुने गरी नेकपाले चुनावी रणनीति अपनाएका कारण पनि कांग्रेसले कम मत ल्याएको नेताहरु बताउँछन् । ‘विद्याको ठाउँमा जोसुकै भए पनि खेमराजले चुनाव जित्थे, नजिते पनि यो मतान्तर हुने थिएन,’ कास्कीका एक नेताले भने, ‘कांग्रेसका निम्ति यो चुनाव जित्ने मौका थियो, तर बलियो अवसर थिएन ।’

तर, पार्टीको समीक्षा गर्नै बाँकी रहेको कास्की कांग्रेस सभापति केसीले बताए । झिनो मतान्तरले हार–जीत हुन्छ भन्ने कांग्रेसलाई मात्र होइन, नेकपाको पनि अनुमान रहेको सभापति कृष्ण केसीको भनाइ थियो ।

कास्कीको सभापति नै चुनावी कमाण्डर भएकाले आफ्नो पनि कमजोरी रहेको केसीको भनाइ छ । ‘यो चुनावको नतिजा कांग्रेलाईमात्र होइन, नेकपालाई अनपेक्षित रह्यो,’ केसीले भने, ‘हामी कहाँ चुक्यौं भनेर मैले पनि समीक्षा गरिरहेको छु ।’ पूर्वाग्रही ढंगले होइन, पार्टी स्पष्ट समीक्षा गर्ने तयारी भइरहेको केसीले बताए ।

‘कोही नेतृत्वमा आएर कास्कीको संगठन बन्छ भने म छोड्न पनि तयार छु,’ केसीले भने, ‘तल्लो तहसम्म यसरी संगठन परिचालन कास्कीमा कमै भएको थियो ।’ विद्यालाई जिताउन सिंगो राज्य संयन्त्र नै नांगो ढंगले लागेको केसीको आरोप थियो । चुनावलाई नै लक्ष्य गरेर जनतालाई तर्साउनेदेखि डीएसपी सरुवा गर्नेसम्मका काम सरकारले गरेको केसीको भनाइ थियो ।

संगठन निर्माणका लागि सबैखाले विकल्पहरु खुला गरेर समीक्षा गर्न आफूले पार्टीमा आग्रह गरेको केसीले बताए । ‘समीक्षा गर्दै जाँदा नेतृत्वको कारण हो र अर्को नेतृत्वमा आउँदा कास्की कांग्रेसको संगठन बन्छ भने म छोड्न पनि तयार छु,’ केसीले भने, ‘तर, समीक्षा वस्तुपरक हुनुपर्छ । यो परिणामले गम्भीर बनाएको छ ।’ राज्य नै निर्लज्ज ढंगले लाग्दा पनि कांग्रेसले चिर्न नसकेको उनको तर्क छ ।

जीवनको उत्तराद्र्धमा उपनिर्वाचनको टिकट पाएका खेमराज भने अब पार्टीको राजनीतिमा निष्ठाका साथ लाग्ने तर चुनावमा भने अब युवाले मौका पाउनुपर्ने बताए । माया, ममता र सद्भाव अहिले पनि पाइराखेको तर जनमत पाउन नसकेको उम्मेदवार पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment