Comments Add Comment

डोटीका शिक्षा इकाइ प्रमुख ७ महिनामा ४४ दिन हाजिर

१८ मंसिर, सिलगढी । एक सरकारी कर्मचारी २ सय १० दिनको अवधीमा कति दिन कार्यालयमा हाजिर भयो होला भन्ने अनुमान गर्न सक्नु हुन्छ ? धेरै कम हाजिर भएको भए डेढ सय दिन भन्नु होला । तर डोटीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको हकमो त्यो अनुमान गलत हुन्छ ।

डोटीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अमर प्रसाद भट्टले सात महिना अर्थात् दुई सय १० दिनमा ४४ दिन मात्रै कार्यालयमा हाजिर भएका छन् । भट्टको हाजिरी रेकर्ड देखेर डोटी जिल्ला प्रशासन कार्यालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गर्न बाध्य भएको छ । इकाइ प्रमुखलाई तत्काल कार्यालयमा हाजिर गराउने व्यवस्था मिलाउन वा अर्को इकाइ प्रमुखको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयले मन्त्रालयलाई पत्राचार गरेको हो ।

भट्टको हाजिर हेर्दा २०७६ बैशाख १ गतेदेखि मंसिर १६ गतेसम्म ४४ दिनमात्र कार्यालयमा उपस्थित रहेको देखियो । पछिल्लो समय उनले कात्तिक २२ देखि मंसिर ५ गतेसम्म काठमाडौं काज लेखेका छन् । मंसिर ८ र ९ गतेको हाजिर रिक्त देखिन्छ । मंसिर १० र १३ गतेसम्म पर्व बिदा लेखेको र मंसिर १५ देखि पुस ५ गतेसम्म घरबिदा लेखेको देखिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

इकाइ प्रमुख भट्ट लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको, उपस्थित हुँदासमेत जिम्मेवारी बहन नगरेको, कार्यालयको नाममा रहेको मोबाइल फोनसमेत आफूसँग लिई सम्पर्कविहीन भएको, जिल्ला भित्रका विद्यालय तथा विद्यालय व्यवस्थापन समिति, सरकारी कार्यालय, स्थानीय सरकारबाट आएका गुनासाहरु सुनुवाइ नगरेकाले शिक्षा मन्त्रालय, गृह मन्त्रालय र शिक्षा विभागलाई पत्राचार गरेर जानकारी गराइएको प्रजिअ पौडेलले बताए । उनले भने, ‘मकहाँ पनि शिक्षा क्षेत्रका थुप्रै गुनासाहरु आएका छन् । मैले इकाइ प्रमुखसँग ब्यक्तिगत र कार्यालयको दुवै मोबाइलमा सम्पर्क गर्दा न फोन रिसिभ हुन्छ, न रिप्लाई आउँछ ।’

शिक्षा विकास तथा समन्वय इकाइ डोटीका प्रमुखको व्यवहार र कार्यशैलीका कारण जिल्लाको शैक्षिक क्षेत्रमा अनपेक्षित समस्या सिर्जना हुन सक्ने भन्दै प्रशासनले समस्या समाधानका लागि माथिल्लो निकायमा पत्राचार गरेको हो ।

शिक्षा इकाइका विषयमा विभिन्न सञ्चार माध्ययमा आएका समाचारलाई समेत आधार मान्दै जिल्ला प्रशासनले शिक्षा मन्त्रालय, गृह मन्त्रालय र शिक्षा विभागमा पत्राचार गरेको बताएको छ । पत्रमा शिक्षक सेवा आयोगबाट छनोट भई आएका शिक्षकहरुलाई समयमैै पदस्थापन गर्न नसक्नु, पदस्थापन गर्दा आर्थिक चलखेल हुनु, पदस्थापन गरिएको स्थानमा हाजिर नगराई फिर्ता भएका शिक्षकहरुको व्यवस्थापन नगरेको जस्ता कारणहरु उल्लेख गरिएको छ ।

यस्तै, विभिन्न विद्यालयमा रहेका करार शिक्षकहरुका लागि गरिएको विज्ञापन अनुसार चार महिनासम्म पनि परीक्षा सञ्चालन गर्न अनुमति नदिएको, कात्तिक २२ गतेदेखि शिक्षा समन्वय इकाइ प्रमुख कहाँ छन् भन्ने कार्यालयलाई समेत जानकारी नभएको, जिल्ला सभाले शिक्षा विकास तथा समन्वय इकाइ डोटीलाई समन्वय नगर्ने कार्यालयको सूचिमा राखेको कुराहरु उल्लेख गरिएको छ ।
यो पनि पढ्नुहोस स्थायी शिक्षकका पीडा : शिक्षाले पालिका पठाउँछ, पालिकाले शिक्षा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment