Comments Add Comment

दुःख स्थायी छैन

दुःख जीवनको एउटा स्वाभाविक प्रक्रिया हो जस्तो लाग्छ । जीवनमा दुःख आएकै कारण त सुखका मार्ग खोज्न प्रेरित गरे जस्तो पनि लाग्छ । दुःख आएन भने सुख कसरी थाहा पाउने भनेर तर्क गर्न पनि सकिन्छ । तर दुःख तथ्य होइन, एउटा धारणा हो । जस्तो धारणा बनायो परिणाम त्यस्तै आइलाग्छ ।

दृष्टि सही नहुँदा दुःखको महसुस हुन्छ । जीवन जिउने क्रममा हाम्रा धेरै धारणाहरु बन्ने गर्दछन् र दुःखको महसुस दिलाउने गर्दछन् । अस्वीकार, सजगताको कमी, समझको कमी र विवेकको कमीले दुःख निम्त्याउने गर्दछ । दुःख एक किसिमको उत्तेजना हो । जसरी सुख एक उत्तेजना र आफ्नै आर्जन हो, त्यसैगरी दुःख पनि एक किसिमको उत्तेजना र आफ्नै आर्जन हो ।

यसो हेर्दा अरुको कारणले दुःख आए जस्तो, अरुले दुःख दिएजस्तो लाग्छ तर गहिराइबाट सोचौं त ! दिने काम अरुको भयो, लिने कि नलिने हाम्रो रोजाइमा छ । दुःख लिनुपर्छ भनेर कसैले हामीलाई वाध्य पार्न सक्दैन । कसैले दुःखी या सुखी बनाउँदैमा हामी बन्छौं भने हाम्रो आफ्नो स्वभावको प्रयोग भएन । अरुकै इशारामा चल्ने, अरुले जता लैजान्छ, त्यतै लाग्ने र म को हुँ त भनेर विचार नपुर्‍याउने व्यक्तिलाई दुःखी बन्न पनि सजिलो छ ।

दुःख र सुख परिस्थिति अनुसार निर्धारण गरिन्छ, त्यसैले यी स्थायी छैनन् । किनकि परिस्थिति पनि सधैं एकनास रहँदैन, स्थायी हुँदैन । तर मनस्थितिले यसलाई स्थायी बनाइराख्न सहयोग पुर्‍याउँछ ।

परिस्थितिलाई हामी परिवर्तन गर्न सक्दैनौं । तर, मनस्थिति सम्हाल्न, मनलाई जान्न र विवेकको प्रयोग गर्न हामी सक्छौं । मानिसले जुन कुरालाई दुःख भन्ठानेका हुन्छन्, ती दुःख असम्यक दृष्टि अर्थात् बेहोशीको कारण आउने गर्दछन् ।

कोही व्यक्ति कतै लड्यो या केही घटना भयो र दुःखी छ, सोध्यौं भने उनको जवाफ आउँछ– होस नै पाइनँ, कसरी लडेंछु ।

मानसिक दुःख कम गर्ने एकमात्र उपाय सजगता र ध्यानको अभ्यास हो । किनकि ध्यानले आत्मबल बढाउँछ र दुःखलाई दुःखका रुपमा नहेरी एक घटना र तथ्यका रुपमा हेर्न सक्ने बनाउँछ ।

हुन त धन, तन, मन र बुद्धिले महसुस गर्ने दुःख मानिसले धेरै अनुभूति गरेका हुन्छन् । धन गुम्यो या भनेजति आर्जन गर्न सकिएन, शेयरमा घाटा लाग्यो, जग्गाको भाउ घट्यो, अर्थात् धनको अभावले भनेको काम गर्न सकिएन आदिमा मानिसले दुःख महसुस गर्छ । शरीरमा अस्वस्थताका कारण दुःख महसुस हुन सक्छ । आफूले चाहेको कुरा प्राप्त भएन भने मनमा दुःख लाग्छ ।

धेरै जानेर, बुझेर गरेको काम पनि बिग्रयो भने बुद्दिको तहमा दुःखको महसुस हुन सक्छ । तर, यसकै विपरीत धन आर्जन भए, व्यापारमा नाफा भए सुखको महसुस हुन्छ । शरीर स्वस्थ हुँदा त्यसै सुखी जस्तो लाग्छ । शरीर स्वस्थ हुँदा त अझ शरीरका अंगहरुको ख्याल समेत हुँदैन, शरीर नै बिर्सन्छौं हामी । भनेको कुरा पाइयो भने मन खुसी हुन्छ ।

आफूले चाहेको कुरा गर्न सकियो भने आफू बुद्दिमानी लाग्छ । सुख र दुःख मनले उब्जाइ रहने तरंग हुन् । जुन कुरालाई या परिस्थितिलाई दुःख मानिएको छ, तिनलाई गहिराईमा गएर हेर्‍याे भने त्यो दुःख नहुन सक्छ । त्यसैले दुःख स्थायी छैन ।

दुःखका घटना र परिस्थतिलाई हामी सच्याउन सक्दैनौं । तर, हामीले दुःख भनेर बनाएका कथालाई भने सच्याउन सकिन्छ यो हाम्रो हातमा छ । दुःखबाट भाग्न सकिन्न । तर, दुःखप्रति जाग्न सकिन्छ । किनकि कतिपय दुःख जीवन जिउन नजानेर आउँछन् । हाम्रो जीवनशैली, आचार, आहार, सम्बन्ध, कर्म जसमा हामीले सजगता अपनाउनुपर्छ । सजगता भएन भने दुःख आउँछ ।

हाम्रो खाने, जिउने, कर्म गर्ने, बोलीवचन र सम्बन्ध सही ठाउँमा भएनन् भने दुःखको महसुस गर्नुपर्ने हुन्छ । हाम्रा सबै क्रियाकलाप सही भए भने दुःख बाँकी रहँदैन । सुख र दुःख भन्दा परको, हामीभित्रको आनन्द भाव जुन हाम्रो स्वभाव हो, त्यो मात्र स्थायी छ ।

जीवनमा यो बन्नु छ भनेर एउटा आकांक्षा सधैं बोकेर हिँडेको हुन्छ । प्रत्येक मनुष्य जीवनमा अरु केही बन्नु छैन बरु जे सम्भावना छ हामीमा त्यसले प्रकट हुन पाउनुपर्छ । एउटा बीउ माटोमा अंकुरण भएर वृक्ष बनेजस्तै हामीभित्रको प्रेमरुपी, पूर्णतारुपी बीउ पनि अंकुरण हुन दिनु परेको छ ।

जीवनलाई सम्भावनाको कसीमा राखेर जिउनुपर्छ । हाम्रा धेरै दर्शनशास्त्रले जीवनलाई दुःख र समस्याका रुपमा प्रस्तुत गरेका छन् । तर, जुन दिनदेखि जीवनप्रतिको आकांक्षा छाडेर, खाली हुन जान्यो, अस्तित्वको शरणमा सबै छोड्न जान्यो, त्यस दिनदेखि व्यक्ति अरु स्वस्थ, मस्त, धनवान, एक पूर्ण व्यक्तिको अनुभूति गर्न थाल्छ । पूर्ण समग्रताको रहस्य खुल्छ ।

जीवनमा हरेक क्रियाकलाप विल्कुल नयाँ आयामबाट प्रस्तुत हुन थाल्छन् । जीवन, आफू छु र हुनुमा सार्थक बोध हुन थाल्दछ । जीवनमा समस्या र दुःख मात्र देख्ने व्यक्तिहरुले पनि बुझ्नु जरुरी छ कि जब जीवन नै स्थायी छैन त समस्या र दुःख कसरी स्थायी होलान् ?

भनिन्छ, सकारात्मक तरिकाले लिने हो भने शब्द संगीत बन्छ, गीत नृत्य बन्छ, मुस्कान हाँसो बन्दछ, बुद्धि ध्यान बन्दछ र जीवन उत्सव बन्दछ त्यसैले जीवनमा जस्तो परिस्थिति आए पनि सकारात्मक रुपमा लिएर अगाडी बढ्न सक्नेले नै जीवनलाई उत्सवपूर्ण बिताउन सक्छ ।

प्राकृतिक रुपमा जन्मेका हामी प्रकृतिजस्तो स्वस्फूर्त भने बन्न सक्दैनौं । नदीनाला, चराचुरुंगी, रुखविरुवा सबै आफ्नै स्वभावमा मस्त छन्, कहिल्यै चिन्ता छैन प्रकृतिमा । मानिस भने यसको विपरीत जहिले जुन विषयमा पनि चिन्ताग्रस्त देखिन्छ ।

वास्तवमा, जीवनले हामीलाई कुनै उद्देश्य, कुनै उपलब्धिमा पनि विराम दिन्न । र, अनेक तरिकाले नयाँ प्रश्न खडा गर्छ । हाम्रो विचारमा मनुष्य हुनुको गरिमा पनि यसैमा छ कि म मेरो जीवनको बारेमा निरन्तर चिन्तन गरुँ, सोचूँ, विचारुँ र सत्य पत्ता लगाउने कोसिस गरुँ ।

हामीलाई विचारको क्षमता शायद यसै कारणले दिइएको छ कि बाँच्नुको, कर्म गर्नुको उद्देश्यका बारेमा विचार गर्न सकुँ । तर, हामीले हाम्रो जीवन जीउने शैली, जीवनलाई हेर्ने दृष्टिकोणलाई केलायौं भने पाउँछौं कि दैनिक कमाउने, खाने र परिवार बसाउने क्रममै हाम्रो समय सकिन्छ र जिउनुका मुलभूत कुराहरुमा हामी प्रवेश गर्न नै सक्दैनौं ।

केही व्यक्ति जसले अलिकति भए पनि आफूलाई नियाल्ने कोसिस गरे, तीमध्ये पनि अधिकांश सिद्धान्त, दर्शन र वाद–विवादको जालमा बेरिएर जीवनको गहिराईलाई नै नछोइकन समाप्त भए । वास्तवमा जीवनको गहिराइमा प्रवेश गर्न नसक्नु नै दुःख, पीडा, तनाव एवं सन्तापको कारण हो ।

( ‘रहस्य : जीवन र प्रेम’ पुस्तकबाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment