Comments Add Comment

१०० औं स्वर्णको संयोग : ओहो ! म त भाग्यमानी रहेछु

१८ मंसिर, काठमाडौं । ३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार १०० स्वर्ण पूरा गरेको छ । सागमा आफ्नो पहिलो र देशको १०० औं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दोका सक्षम कार्कीलाई जुर्‍यो ।

बधुबार सातदोबाटोमा भएको खेलमा ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् ।

स्वर्ण जितेपछि देशको झण्डा फर्फराउन पाउँदा छुट्टै खुसी मिलेको उनले सुनाए । ‘सिल्भर ३ पटक भइसेकेका थियो । १०१६ मा (स्वर्ण जित्न) चुकेको थिएँ’, स्वर्ण जितेपछि निकै हर्षित मुद्रामा देखिएका कार्कीले भने, यो मेरो पहिलो गोल्ड हो ।’

तेक्वान्दोको क्यारोगीतर्फ यो पटक वीरबहादुर महरा र काजल श्रेष्ठले स्वर्ण जितेका थिए तर निमा गुरुङ, निशा रावलहरु चुकिसकेका थिए । साथीहरु राम्रो खेल्दाखेल्दै पनि स्वर्णमा चुकेपछि आफूले केही गरौं जस्तो भएको उनले सुुनाए ।

उनी स्वर्णको खुसी मनाइरहेका थिए । आफूले सागमा नेपालका लागि १०० औं जितेको थाहा पाएका रहेनछन् । तपाईले जितेको स्वर्ण सागको इतिहासमा १०० औं हो, थाहा छ ? भन्ने प्रश्नमा उनले भने, ओहो ! मलाई थाहै थिएन ।’

उनले हाँस्दै अघि भने, ‘म त भाग्यमानी रहेछु ।’

तस्वीरः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment