Comments Add Comment

जाडो मौसममा सडक दुर्घटनाको जोखिम

नेपालमा सडक दुर्घटनाका कारण वर्षेनी तीन हजारभन्दा बढीको ज्यान जान थालेको छ । विगत एक दशकमा भएका प्रकोपहरूमा सडक दुर्घटनाबाट सबै भन्दा बढी मानिस मारिएका र घाइते भएका छन् । नेपालमा सडक दुर्घटना चुनौती बन्दै गएको छ ।

केही विकसित देशमा भएका सुधारले सडक दुर्घटना कम गर्न सकिन्छ भन्ने आशा जगाएका छन् । तैपनि, यो एक विश्वव्यापी समस्या रहिरहेको छ ।

ओपन ट्रान्सपोर्ट जर्नलका अनुसार सडक दुर्घटनामा विश्वमा बार्षिक १२ लाख ४० हजार मानिसहरू मारिन्छन् । यसमध्ये ८५ प्रतिशत मृत्यु नेपालजस्ता विकासशील देशहरूमा हुन्छ । विश्वमा युवा मृत्युको पहिलो कारण सडक दुर्घटना हो । सम्पूर्ण अकाल मृत्युका कारणहरूमा यो आठौं ठूलो कारण हो । विश्वमा सडक दुर्घटनामा घाइते हुने र अंगभंग भई जीवनभर अपाङ्ग भएर बाँच्न बाध्य हुनेहरूको संख्या बर्षेनी लाखौंको दरमा बढिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० तिर सडक दुर्घटना सम्पुर्ण समग्र अपांगताको तेस्रो ठूलो कारण हुनेछ । बीस बर्ष अघिसम्म (सन् १९९८) यो नवौं स्थानमा थियो । नेपालमा औसतमा बर्षेनी तीन हजार भन्दा बढी मानिसहरु सडक दुर्घटनामा भम्भिर घाइते हुन्छन् । ती मध्ये धेरैलेजीवनभर अपाङ्गताको कहर खेप्नुपर्छ ।

बिश्वमा गुड्ने सवारी साधनहरु मध्ये ५२ प्रतिशत जति मात्र बिकासशील देशमा गुड्छन् । तर, संसारमा हुने बार्षिक दुर्घटनाको ८० प्रतिशत यहीँ हुन्छ । आर्थिक हिसावले यी देशमा कूल राष्ट्रिय उत्पादनको १ – ३ प्रतिशत सडक दुर्घटनामा खर्च या नोक्सान हुन्छ ।

हुस्सु र तुवाँलोका कारण हुने सडक दुर्घटना

सडक दुर्घटना हुनमा सडक, सवारी साधन, चालक र मौसमी अवस्था प्रमुख रुपमा जिम्मेवार हुन्छन् भन्ने मान्यता छ । यिनीहरू अन्तरनिर्भर हुन्छन् । यी मध्ये कुनै एउटा पक्ष कमजोर हुनासाथ अर्कोलाई प्रतिकूल असर पर्छ र दुर्घटनाको सम्भावना बढेर जान्छ । यो सबै प्रकारका सवारी साधन र चालकहरूमा लागु हुन्छ ।

नेपालमा जाडो मौसममा चल्ने शीतलहरले सडक दुर्घटनाको जोखिम बढाउँछन् । शीत, तुषारो, हिमपातले सडक चिप्लो र हिलो बनाइदिन्छन् । हुस्सु, तुवाँलोको कारण दृष्टिपथ (भिजिविलिटि) धुमिल हुन जान्छ । यी अवस्थाले सडक दुर्घटनाको जोखिम बढ्छ । तैपनि, हवाईयात्रामा मौसमका बारेमा गरिनेजस्तो चासो र अध्ययन सडकका सवालमा गरिएको पाइँदैन ।

मौसमी अवस्थामा हुस्सु र तुवाँलो नै सडक दुर्घटनाका प्रमुख कारण हुन् । छिमेकी देश भारतमा कुहिरोका कारण हुने सडक दुर्घटनामा बार्षिक ११ हजारभन्दा बढी मानिसको ज्यान जान्छ । मध्यपूर्वमा गरिएका सडक दुर्घटनासम्बन्धी अध्ययनहरूबाट पनि हुस्सु, तुवाँलोका कारण सडक दुर्घटना बढ्ने पुष्टि भएको छ ।

नेपालमा पनि मौसमका कारण, खास गरी हुस्सु र तुवाँलोका कारण धेरै दुर्घटना हुन्छन् । तैपनि, खराब मौसमका कारण के कति सडक दुर्घटना हुन्छन् भनेर यकिन गर्न सकिने तथ्याङ्क उपलब्ध छैनन् । मौसमका कारण हुने दुर्घटनाका बारेमा उचित ज्ञान र चासो नभएकाले धेरैजसो दुर्घटनामा चालकको लापरवाही भनेर लेख्ने चलन छ । ट्राफिक प्रहरीले राखेको २०७०/०७१ देखि २०७५/०७६ सम्मको तथ्यांक अनुसार बर्षेनी दश हजार भन्दा बढी सवारी दुर्घटना हुन थालेका छन् । जसमा१४ देखि १९ घटनाहरू मात्रै मौसमको कारण भनी जनाइएका छन् ।

चालक र ट्राफिक तालीम, प्रशिक्षणमा मौसमका कारण के कसरी दुर्घटना हुन्छ भन्ने बिषय बढाउन पर्ने देखिन्छ । यसमा आमरुपमा चासो, ज्ञान बढाउन र निराकरणका उपाय अपनाउन गहन अध्ययनहरू जरुरी छन् । अध्ययनबाट अहिले हेक्का नराखिएका उपयोगी जानकारी आउन सक्छन् । युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाका मोहम्मद अब्देलको टोलीले फ्लोरिडामा गरेको अध्ययनमा बिहान ५ बजेदेखि ८ बजेसम्मको समयमा दुर्घटना धेरै भएको पाइएको थियो भने डिसेम्बर – फेबु्रवरी महिनामा बढी सडक दुर्घटना भएका पाइएका थिए । यी मुलतः जाडो याममा लाग्ने हुस्सु र तुवाँलोकै कारण थिए ।

सावधानीले सडक दुर्घटना कम गर्न सकिन्छ

सडक दुर्घटना हुनबाट बच्न चालकहरूको शीप र सावधानी अत्यन्त महत्वपुर्ण हुन्छ । लामो समयसम्म बिना आराम गाडी चलाइरहने गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ । त्यसैले कतिपय देशमा लगातार केही समय गाडी चलाएपछि निश्चित समयसम्म चालकले आराम गर्नैपर्ने कानुनी व्यवस्था छ । यस्ता उपायबाट दुर्घटनामा उल्लेख्य कमी आएको अध्ययनहरूले देखाएका छन् ।

चालकले सडक र सडकमा भएका अन्य गतिविधि र मौसमी अवस्थाका बारेमा चनाखो भई नियन्त्रित गतिमा सवारी साधन चलाउनुपर्छ । सडकमा हुने सूचना र निर्देश चिन्हहरू पालना गर्ने अभ्यास बसाउन सुरक्षात्मक ब्यवहार सिक्नु–सिकाउनु उपयुक्त हुन्छ ।

सडक आसपासको वातावरणले चालकलाई निकै प्रभाव पार्छ । अभ्याससहित गरिएका विभिन्न अध्ययनले भिजिविलिटी ५० मिटर भन्दा कम भएपछि चालकमा दबाव बढ्छ भन्ने पुष्टि गरेका छन् । तर, चालकले यसको ख्याल नगरेका हुन सक्छन् । दृष्टिपथका अवस्था अनुसार आफ्नो सवारी रोक्न चाहिने दुरी अगाडि खालि राखेर सवारीको गति नियन्त्रण गरी चलाएमा सुरक्षित साथ गाडी रोक्न सकिन्छ । अगाडिको गुडिरहेको गाडीलाई उछिन्नु परेमा आफूलाई चाहिने दुरी ख्याल गर्नुपर्छ ।

मौसमी अवस्थाको ख्याल गरी सावधानी अपनाए सडक दुर्घटना उल्लेख्यरुपमा कम हुन्छन् । यसका लागि सबैलाई सानैदेखि सडक सुरक्षा चेतना, शिक्षा र अभ्यासको आवश्यकता छ । ध्यान दिनुपर्ने र बानी बसाउनुपर्ने कुराहरू निकै धेरै छन् । ‘बाटो राम्ररी काट्नु है !’ भनेर मात्र पुग्दैन ।

शीत लहरका समयमा चालक, बटुवा, सर्वसाधारणले अपनाउनुपर्ने अनुशासन र सावधानीका बारेमा सार्वजनिक सन्देशहरुको विकास र प्रशारण गर्न राष्ट्रिय पहल हुनु पर्ने देखिन्छ । मान्छेहरूले के सिक्नुपर्छ र उनीहरूले त्यो कसरी सिक्छन् र असल अभ्यास अवलम्बन गर्छन् भन्ने जान्नअझै अध्ययन र परीक्षण आवश्यक छन् ।

सडक सुरक्षामा उल्लेख्य सुधार गरी जोखिम कम गर्न सकिन्छ । पर्याप्त संरचनात्मक उपायहरू अपनाएर साथै चालकहरू अनुशासित भएर केही विकसित देशहरूमा सडक दुर्घटना कम भएका छन् । हामी पनि सडक दुर्घटना कम गर्न सक्छौं । हुस्सु, तुवाँलो लागेर जोखिम हुने सडकमा ठाउँठाउँमा भिजिविलिटी नाप्ने उपकरण र जोखिम अवस्थाको जानकारी दिने डिस्प्ले राख्नुपर्छ ।सडक सुरक्षा चिन्हहरू दुरुस्त राख्ने र अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्छ ।

मौसम पूर्वानुमान, ट्राफिक व्यवस्थापन र यातायात सञ्चालकहरूबिच समन्वय हुन अपरिहार्य छ । शीतलहरलाई ध्यानमा राखी उपयुक्त नभएका सवारी साधनलाई सडकमा प्रवेश गर्न नदिने जस्ता कडा अभ्यासहरू जरुरी छन् । सबैको पहल र आत्म–अनुशासनले सडक सुरक्षा सम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment