Comments Add Comment

सुटिङ खेलाडीका दुःख : भारतसँग गोली र पाकिस्तानसँग पेस्तोल मागेर प्रतिष्पर्धा

मागेर खेल्दा पनि पदकको आश

१८ मंसिर, काठमाडौं । ‘परीक्षाको सबै तयारी सकियो, पढ्न चाहिँ बाँकी छ भने जस्तै छ हाम्रो अवस्था’, १३औं दक्षिण एसियाली खेलकुद (साग) का सुटिङ खेलाडीले दुखेसो पोखे ।

चार वर्षअघि गएको भूकम्पले क्षतिग्रस्त सातदोबाटोको सुटिङ रेन्ज दक्षिण एसियाली खेलकुद उद्घाटनको पूर्वसन्ध्यामा तयार त भयो तर, प्रतिष्पर्धामा उत्रिन हतियार उपलब्ध भएन । चीनको सहयोगमा बनेको अत्याधुनिक सुटिङ रेन्ज निर्माण भइरहेकै वेला भएपनि डेढ महिनादेखि खेलाडीले अभ्यास थालेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्ले पनि खेलअगावै हतियार आउने आश्वसन दिएको थियो ।

तर, बुधबार नेपाली सुटरहरू २० वर्ष पुरानो राइफल लिएर प्रतिष्पर्धामा उत्रिए । २० वर्षअघि नेपालमा भएको आठौं संस्करणको सागमा चीनले उपहार स्वरुप दिएको हतियार लिएर खेलाडीहरु प्रष्पिर्धामा उत्रिएका थिए ।

टिमतर्फ ५० मिटर राइफलमा पाँचौ स्थानमा सीमित रह्यो महिलातर्फ १० मिटर एयर राइफलमा छैठौं र पुरुषतर्फ २५ मिटर सेन्टर फायर पेस्तोलमा अन्तिम स्थानमा रह्यो ।

पर्याप्य अभ्यास गर्न नपाएको र हतियार पनि नभएकाले नेपालको प्रदर्शन राम्रो हुन नसकेको प्रशिक्षकहरु बताउँछन् ।

साग तयारी समितिका संयोजक भन्छन्, ‘अहिले पनि खरिद प्रक्रिया जारी छ । पछि भए पनि आउँछ ।’

हतियार नभएपछि २५ मिटर सेन्टर फायरमा सहभागी एक खेलाडीले श्रीलंकासँग हतियार मागेर खेलेका थिए भने अर्काले भारतसँग गोली र पाकिस्तानसँग पेस्तोल मागेर खेले । मागेको हतियारकै भरमा सहभागी भए पनि नेपालले पदक भने आश गरेको थियो । ‘हामीले गोल्डको आशा लिएका छैनौं । किनभने, भारतको टीम बलियो । तर त्यसपछि केहीमा हाम्रो अपेक्षा हो’, प्रशिक्षक उपेन्द्र थापा भन्छन् ।

यद्यपि, हालसम्म सुटिङमा नेपालले पदक जित्न सकेको छैन । अब १० मिटरको एयर पेस्तोलको खेल बाँकी छ ।

कार्यविधि नै ढिलो

प्रशिक्षकहरुकाअनुसार सुटिङ संघले ६ महिना अगावै हतियार उपलब्ध गराइदिन भनेर खेलकुद परिषद्लाई पत्राचार गरेको थियो ।

तर, परिषद्ले कार्यविधि नै ढिलो गरी बनाउँदा टेन्डर प्रक्रिया पनि पछाडि धकेलियो । ‘सार्वजनिक खरिद ऐनअनुसार हतियार खरिद गर्नुपर्ने थियो । त्यसक्रममा दुई पटक टेण्डर रद्द भयो’, साग तयारी समितिका संयोजक रिम रानाभाट भन्छन्, ‘यही प्रविधिक कारणले हतियार आउन ढिला भएको हो ।’

यसअघि नेपालले १० मिटर पेस्तोलमा मात्र भाग लिने गरेको दाबी गर्दै उनले यो पटक नेपालले सहभागिता जनाउनु नै मुख्य कुरा भएको तर्क गरेका छन् । रानाभाटले भने, ‘यसपालि २० मिटर सेन्ट्रल फायर पेस्तोल र ५० फिटर राइफल थपिएको थियो । अरु देशसँग लिएर भए पनि सुरुवात् भयो यही मुख्य कुरा हो ।’

प्रहरीको पेस्तोल काम लागेन

प्रशिक्षकहरुले नेपाल प्रहरीसँग भएको पेस्तोल मागेर काम चलाउनेबारे पनि छलफल गरेको थिए ।

तर प्रहरीसँग ९ एमएमको पेस्तोल मात्र छ । जबकी खेलका लागि ३२ क्यालिभरको पेस्तोल चाहिन्थ्यो । त्यसैले अन्य मुलुकका खेलाडीले ‘ब्याकअप’का रुपमा ल्याएको हतियार प्रयोग गरेर नेपाली सुटरले सागमा सहभागिता जनाए ।

तयारी समितिका रानाभाट भन्छन्, ‘अहिले पनि खरिद प्रक्रिया जारी छ । पछि भए पनि आउँछ ।’

नेपालले सन् १९९१ मा भएको पाँचौं संस्करणको सागमा सुटिङमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । १२ औं संस्करणसम्ममा नेपालले थप एक रजत र चार कास्य पदक जितेको थियो ।

१३ औं संस्करणमा भने भारतले तीन स्वर्ण, तीन रजत र एक कास्य जित्दा पाकिस्तानले एक स्वर्ण र दुई कास्य, बंगलादेशले एक रजत र श्रीलंकाले एक कास्य पदक जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment