
१९ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको सफलता आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक समसामयिक राजनीति, प्रदूषण शुल्कको उपयोगलगायत विषयलाई पनि अखबारहरूले महत्त्व दिएर छापेका छन् ।
अन्नपूर्णले दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार स्वर्णको शतक पार गरेको लेखेको छ । समाचार अनुसार, सागको इतिहासमा नेपालले जितेको कुल स्वर्ण पदकको संख्या १ सय पुगेको छ । नेपालका लागि दक्षिण एसियाली खेलकुदमा एक सयौं स्वर्ण पदक जित्ने अवसर घरेलु मैदानमै जुर्नु अर्को संयोग हो ।
जारी सागमा नेपालले २९ स्वर्ण हासिल गरेको छ । भारत ३४ स्वर्णका साथ पदक तालिकाको पहिलो नम्बरमा छ ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेको दाबी पनि अन्नपूर्णले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने तयारी गरेको समाचारमा उल्लेख छ ।
नेकपा सचिवालय बैठकमा बुधबार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफू प्रधानमन्त्री ओलीको प्रस्तावमा सरकारको विशेष दूत बनेर दिल्ली जान लागेको जानकारी दिएका थिए । ‘भारतीय पक्षबाट जवाफ नआएकाले टुंगो नलागेको नेता नेपालले बताए’, अन्नपूर्णले लेखेको छ ।
राजधानीको नजर प्रदूषण शुल्कमाथि परेको छ । राजधानीका अनुसार मुलुकभर प्रदूषणको मात्रा बढे पनि यसको नियन्त्रणका लागि जम्मा भएको रकम सरकारी ढुकुटीमा थन्किएको छ । सरकारले प्रदूषण शुल्क शीर्षकमा सात अर्ब जम्मा गरे पनि त्यो सरकारी ढुकुटीमा थन्किएको हो ।
कर्मचारी परीक्षाको तयारीमा लाग्दा सेवाप्रवाहमा असर परेको भन्दै राजधानीले चिन्ता व्यक्त गरेको छ ।
राजधानी लेख्छ– सेवाप्रवेश गरेको केही वर्षभित्रै आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत छिट्टै प्रमोसन हुनसक्ने वर्तमान कानूनी व्यवस्थाका कारण आमकर्मचारी कार्यलयको कामै छाडेर पठनपाठनमा सामेल हुने गरेका छन् ।’
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
प्रतिक्रिया 4