+
+
Shares

सागले पर्यटक बढाउने सरकारको विश्वास, विदेशी पत्रकारलाई ब्रिफिङ गरिने

अच्युत पुरी अच्युत पुरी
२०७६ मंसिर १९ गते ११:५४

१९ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का लागि करिब ५ हजार विदेशी पाहुना यतिबेला नेपालमा छन् । उनीहरूमध्ये कोही खेलाडी, कोही प्रशिक्षक, व्यवस्थापक, सञ्चारकर्मी र उच्चपदस्थ सरकारी अधिकारी छन् ।

दक्षिण एसियाका ७ राष्ट्रबाट उनीहरू नेपालमा आएका हुन् । नेपालले सागको आयोजनालाई भव्य बनाउन कुनै कसर बाँकी राखेको छैन । यो इभेन्टले नेपालको भ्रमण वर्षलाई पनि सघाउ पुग्ने विश्वास सरकारी अधिकारीहरूले लिएका छन् ।

हरेक देशका राष्ट्रिय खेलाडीहरू तीन देशका नागरिकका निम्ति सेलिब्रेटी हुन् । उनीहरूको खेल र अन्य क्रियाकलापलाई आफ्नो देशका फ्यानहरूले पछ्याइरहेका हुन्छन् । त्यसैले एकैसाथ ठूलो संख्यामा खेलाडीहरू आउँदा ती देशमा नेपालको प्रचार हुने अपेक्षा राखिनु स्वभाविकै हो ।

नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी भन्छन्, ‘सागमा जति पनि विदेशी सहभागी हुनुहुन्छ, उहाँहरू आफ्नो मुलुकमा प्रभाव पार्ने व्यक्ति हो, त्यसकारण उहाँहरू नेपालमा रहँदा मात्र पनि राम्रो प्रभाव पर्छ ।’

खेलाडी मात्र होइन, ती देशबाट सञ्चारमाध्यमहरू पनि आएका छन् । उनीहरूले नेपालमा हुने सागका इभेन्टहरू प्रकाशन/प्रसारण गर्दा नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास जोशीको छ । खेलको प्रयोजनका लागि भित्रिएका भए पनि उनीहरूले नेपालबारे लैजाने सकारात्मक सन्देशले पनि थप प्रभाव पार्ने उनको भनाइ छ ।

दक्षिण एसिया नेपालका लागि पर्यटनको ठूलो स्रोत हो । यस क्षेत्रबाट कूल पर्यटक आगमनको २५ प्रतिशतभन्दा बढी पर्यटक नेपाल आउने गरेका छन् । सन् २०१९ को ८ महिना (जनवरी–अक्टोवर) महिनामा सार्क क्षेत्रबाट कूल २ लाख ५० हजार २ सय ४३ जना पर्यटक भित्रिएको तथ्यांक रहेको छ ।

भारत, श्रीलंका र बंगलादेश मुख्य बजार

सार्क क्षेत्रमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारत, बंगलादेश र श्रीलंकाका पर्यटकको रहेको छ । तथ्यांक अनुसार भारतबाट मात्र पछिल्लो ८ महिनामा १ लाख ६९ हजार ९ सय ५२ जना पर्यटक नेपाल आएका छन् । भारतीय पर्यटकको वृद्धिदर समग्रमा ५ प्रतिशत देखिएको छ । बंगलादेशबाट १९ हजार २ सय ७९ पर्यटक भित्रिँदा वृद्धिदर भने घट्दो क्रममा रहेको छ । श्रीलंकाबाट ५७ हजार २ सय ४० जना पर्यटक नेपाल आएका छन् । श्रीलकांली पर्यटकको संख्यामा भने सकारात्मक वृद्धि रहेको तथ्यांकले देखाएको छ ।

पत्रकारलाई बिफ्रिङको तयारी

नेपाल पर्यटन बोर्डले आसन्न भ्रमण वर्षबारे सागमा आएका विदेशी पत्रकारका लागि बिफ्रिङ कार्यक्रम राखेको छ । त्यस अवसरमा नेपालबारे जानकारी गराउँदै सकारात्मक प्रचारका लागि आग्रह गरिने बोर्डका सीईओ जोशीले जानकारी दिए । उनका अनुसार नेपाल किन घुम्नलायक हो भन्नेबारे पत्रकारलाई जानकारी गराइने छ । इच्छुक पत्रकारलाई साइटसिनमा समेत लैजाने योजना बोर्डको छ ।

‘सागको व्यस्त तालिकाबाट कुनै विदेशी पत्रकार नेपालमा साइटसिनमा जान चाहनु भयो भने त्यसको व्यवस्थासमेत हामी मिलाउने छौं’, उनले भने ।

ठूलो इभेन्टमा सफलता

साग दक्षिण एसियाकै सर्वाधिक ठूलो खेल मेला हो । यसका लागि करोडौं बजेट खर्च भएको छ भने ठूलो जनशक्ति खटिएका छन् ।

नेपालमा आएका हजारौं विदेशी पाहुनालाई सन्तुष्ट हुनेगरी व्यवस्थापन गर्नु चुनौतीको कुरा हो । सागको सफल आयोजनाले नेपाल ठूला सभा–सम्मेलन गर्न सक्षम र सुरक्षित मुलुक हो भन्ने सन्देश प्रवाहित गर्ने पर्यटन क्षेत्रका सरोकारवालाको विश्वास छ ।

होटल संघ नेपाल (हान) का कार्यकारी सदस्य युवराज श्रेष्ठ भन्छन्, ‘हामी आतिथ्यका दृष्टिकोणबाट पाहुनाको सेवामा कुनै कसर बाँकी राख्नेछैनाैं, ताकि त्यसले भ्रमण वर्षमा समेत सकारात्मक प्रभाव पारोस् ।’

बोर्डका सीईओ जोशीसमेत ‘माइस इभेन्ट’का लागि नेपाल सक्षम छ भन्ने सन्देश यस प्रतियोगिताले दिने बताउँछन् । भारत, पाकिस्तानका ठुल्ठूला कम्पनीले आफ्नो साधारणसभा तथा वार्षिक बैठकहरू विदेशमा गर्छन् । त्यस्ता समूहलाई आकर्षित गर्न सके पनि पर्यटनमा ठूलो उपलब्धि हुनसक्ने उनले बताए ।

खाँचो हवाई सञ्जालको

दक्षिण एसियाली मुलुलकमध्ये अहिले भारत, बंगलादेश र भुटानसँग मात्र नेपालको सीधा हवाई सम्पर्क स्थापित भएको छ । श्रीलंका, माल्दिभ्सलगायत मुलुकसँग हवाई सम्पर्क स्थापित भएको छैन । पाकिस्तानबाट पनि नेपालमा ठूलो संख्यामा पर्यटक आउँछन् । तर, पाकिस्तान एयरलाइन्सको उडान बन्द भएसँगै नेपाल र पाकिस्तानको हवाई सम्पर्क टुटेको छ ।

हवाई सम्पर्क स्थापित गर्न सके दक्षिण एसियाली मुलुकबाट ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना छ । श्रीलंकाको कोलम्बोमा हिमालय एयरलाइन्सले चार्टर्ड उडान गरे पनि नियमित उडान भने गर्न सकेन ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?