Comments Add Comment

प्रधानमन्त्रीको उपचार खर्च साढे २ लाख

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको अनुसार  शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो ।

यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको थियो । यहाँ आईसीयू बेडको एक दिनको शुल्क १२ सय ५० रुपैयाँ छ ।

डा. श्रेष्ठले भने, ‘हामीले एकमुस्ट रकम हिसाब गरेर यो खर्च निकालेका हौं । उहाँलाई सामान्य नागरिकसरहकै शुल्क लिइएको हो ।’

१० दिनअघि एपेण्डिसाइटिसको अप्रेसन गरेका प्रम ओली १० दिनपछि आज डिस्चार्ज भएका हुन् ।

गत वर्ष छातीमा ‘इन्फेक्सन’ भएर ५ दिन मनमोहन सेन्टर बस्दा साढे २५ हजार रुपैयाँ लागेको थियो । निर्देशक श्रेष्ठले भने, ‘यो पटक अप्रेसन गरेको भएकाले उपचार खर्च बढेको हो ।’

उपचारमा संग्लग्न एक चिकित्सकका अनुसार प्रम ओली अस्पतालको सेवा सुविधाप्रति खुशी भएका छन् ।

अस्पतालबाट बाहिरिँदा हात हल्लाउँदै निस्केका प्रम ओलीले अस्पतालका चिकित्सकलाई धन्यवादसमेत दिए। उनी निस्किदै गर्दा भने, ‘यो अस्पतालमा उपचार गर्न पाउँदा म धेरै खुशी छु। म ठीक भएर फर्केको छु।’

चिकित्सकका अनुसार अप्रेसन गरेको बाहिरी घाउ निको भए पनि भित्री घाउ निको हुन केही समय लाग्नेछ । हिँडडुल गर्न तथा धेरै उठबस नगर्न प्रम ओलीलाई चिकित्सकहरुले सल्लाह दिएका छन् । उपचारमा संग्लग्न एक चिकित्सकले भने, ‘अब उहाँ नियमित काम गर्न सक्नु हुनेछ । तर, अप्रेसनको घाउ बल्झिन सक्ने भएकाले आरामको जरुरत धेरै छ ।’

यो पनि पढ्नुहोस अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

निजी चिकित्सक भन्छिन्, ‘अब काममा फर्कन सक्नुहुन्छ’

सन् २०१३ देखि निजी चिकित्सकका रुपमा काम गरिरहेकी डाक्टर दिव्या सिंह प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको भित्री जानकार हुन्। उनका अनुसार शल्यक्रियाको घाउ निको हुने क्रममा छ। उच्च रक्तचाप र मधुमेह सन्तुलनमा छ । मिर्गौलाको ‘ट्रयाक लेभल भेरिफिकेशन’, यूरिन, प्रेसर, सुगर लगायत नियमित परीक्षण भइरहेको छ । रिपोर्टमा समस्या  देखिनासाथ उपचार सुरु भइहाल्छ।

सोही कारण प्रम ओलीको स्वास्थ्य अवस्थालाई लिएर डराउनु पर्ने अवस्था नभएको उनी बताउँछिन्। नियमित औषधि सेवन र केही दिन धपेडी कम गर्नासाथ ओली नियमित कार्यमा फर्कन सक्ने बताउँदै उनी भन्छिन्, ‘उहाँ स्वास्थ्यप्रति सचेत हुनुहुन्छ। काममा व्यस्त भए पनि खाना र औषधि समयमै लिनुहुन्छ । महत्वपूर्ण छलफल र बैठक हुँदा बीचमै औषधि खानुहुन्छ। आत्मविश्वास पनि उच्च छ।’

सिंहका अनुसार उमेर बढ्दै गएपछि सामान्यतया मानिस थकित हुन्छ । सुगर, प्रेसर लगायतका औषधि खानुपर्छ । रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले सामान्य कुरामा पनि ध्यान दिनुपर्छ ।

उनी भन्छिन्, ‘उहाँ त्यो हिसाबले बिरामी हो। अरुभन्दा बढी आराम र हेरचाहको जरुरत पर्छ तर, औषधिकै भरमा मात्रै बाँच्नु भएको भने होइन ।’

केही समययता प्रम ओलीको दोस्रो प्रत्यारोपण गराउने समेत चर्चा चल्दै आएको छ । दोस्रो प्रत्यारोपणको बारेमा सल्लाह भइरहेको भएपनि कहाँ कसरी गर्ने बारेमा तय भइनसकेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘विदेशका केही अस्पतालमा सल्लाह भइरहेपनि प्रत्यारोपणको तय भइसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment