Comments Add Comment

सागमा नेपाली चेली छाएको दिन, थपियो ७ स्वर्ण

१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकद (साग) को पाँचौं दिन बिहीबार नेपालको लागि ऐतिहासिक रह्यो । सागको इतिहासमा एकै संस्करणमा सर्वाधिकदेखि विभिन्न विधामा पहिलो पटक स्वर्णको कीर्तिमान बनेको छ ।

यसअघि सन् १९९९ मा आफैंले आयोजना गरेको आठौं सागमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ३१ स्वर्ण जितेको थियो । १३औं सागमा यो रेकर्ड तोडिएको छ । पाँचौ दिनको सामाप्तीमा नेपालले ३६ स्वर्ण जितिसकेको छ ।

जसमध्ये ७ स्वर्ण बिहीबार जितेको हो । र, थपिएका ७ मध्ये पाँच नेपाली चेलीहरुले जितेका छन् । त्यसमा पनि तीन स्वर्ण ऐतिहासिक रह्यो ।

निमा, गौरिका, सञ्जुले रचिन् इतिहास

उसुकी नीमा घर्ती मगर, पौडीकी गौरिका सिंह र भारोत्तोलनकी सञ्जु चौधरीले इतिहास रचेकी छन् ।

बिहीबार दिनको शुरुवात उसुमा नीमा घर्तीमगरको कीर्तिमानी स्वर्ण पदकबाट भयो । उनले महिला नान्डो अलराउण्डमा बंगलादेश र श्रीलंकन खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यससँगै उनी सागमा उसुबाट लगातार दुई संस्करणमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

आफ्नै भूमिमा, त्यो पनि आमाबुबासामू स्वर्ण जित्दा खुशी देखिएकी नीमा भारतीय खेलाडी नआएकोमा भने खिन्न देखिइन् । ‘भारत आएको भए अझ प्रतिस्पर्धा हुन्थ्यो र स्तर जाँच्न पाइन्थ्यो,’ उनले भनिन् ।

उसुमै नेपालले सान्डा इभेन्टतर्फ अर्को स्वर्ण थप्यो । सान्सौको महिला ५६ केजीमा जुनी राईले श्रीलंकाली खेलाडीलाई हराउँदै स्वर्ण जितिन् ।

बिहीबार उसुमा १७ स्वर्णका लागि भएको प्रतिस्पर्धामा भारतले सर्वाधिक ११ स्वर्ण जितेको छ भने नेपाल, पाकिस्तान र श्रीलंकाले पनि २-२ स्वर्ण जिते।

यस्तै साइक्लिङतर्फ नेपालले दुई स्वर्ण जित्यो

क्रस कन्ट्रीतर्फ महिलामा लक्ष्मी मगरले स्वर्ण जित्दा पुरुषमा बुद्धि बहादुर तामाङ पहिलो भए । यस्तै महिलातर्फ उसा खनाल र पुरुषतर्फ राजवी राईले रजत जित्दा ओकेश बज्राचार्यले पुरुषमा कास्य हात पारे ।

पौडीमा महिला २०० मिटर फ्री स्टायलमा गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमानसहित ऐतिहासिक स्वर्ण जितिन् । यो सागको पौडीमा पहिलो व्यक्तिगत स्वर्ण हो ।

पौडीमा नेपालले एक काश्य र एक रजत पनि जितेको छ ।

यस्तै बिहीबार तेक्वान्दोमा नेपालका लागि एक मात्र स्वर्ण भुपेन श्रेष्ठले जिते । पुरुष ८७ केजी तौल समूहमुनि प्रतिस्पर्धा गरेका भुपेनले भारतका अक्षय होडालाई २९-२७ ले हराउँदै स्वर्ण जितेका हुन् ।

नेपालले ३ रजत र २ कास्य पनि जित्यो । यससँगै १३औं सागमा तेक्वान्दोमा कूल २९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदा नेपालले १२ स्वर्ण जित्दै सुखद अन्त्य गरेको छ ।

१९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले तेक्वान्दोमा १४ स्वर्ण जितेको थियो । यस पटक धेरै इभेन्ट समावेश गरिएको भएपनि २० वर्षअघि आफैंले बनाएको रेकर्ड भने भेट्टाउन सकेन ।

पोखरामा बिहीबारदेखि नै सुरु भएको भारोत्तोलनमा सञ्जु चौधरीले इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् ।

सागमा भारोत्तोलनबाट नेपालको यो दोस्रो स्वर्ण हो भने सञ्जु भारोत्तोलनबाट सागमा स्वर्ण जित्ने पहिलो महिला बनेकी छन् । श्रीलंकामा २००६ मा भएको १०औं सागमा कमल बहादुर अधिकारीले भारोत्तोलनमा स्वर्ण जितेका थिए ।

सञ्जुले स्न्याचमा ७४ र क्लिन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोटलतर्फ) पनि बनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment