
१८ मंसिर, काठमाडौं । नागढुंगामा सुरुङमार्गको निर्माण अघि बढाएको सरकारले अब सिस्नेखोलादेखि मुग्लिनसम्मको सडक पनि फराकिलो बनाउने तयारी गरेको छ । नारायणगढ-मुग्लिन खण्डकै स्वरुपमा मुग्लिनदेखि सिस्नेखोला (धादिङतर्फको सुरुङको मुख) सम्म सडक विस्तार गर्न लागेको हो ।
यो खण्ड पुरै चार लेनको बनाउने योजना हाललाई स्थगित गर्दै सरकारले विस्तारको लागि डिजाइन गरेको छ । विश्व बैंकको सहयोगमा यो सडकमार्ग विस्तार गर्न लागिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।
‘हामीले पहिले चार लेनमा नै यो खण्ड विस्तार गर्न खोजेका हौं,’ उनले भने, ‘तर यो क्षेत्रको मुआब्जा अत्याधिक भएको र विस्तारको काम गर्न सहज नभएको निश्कर्ष निकालेर मुग्लिनसम्मकै जस्तो बाटो सिस्नेखोलासम्म बनाउन लागेका हौं ।’
मुआब्जाले तनाव
यसका लागि अहिले डिजाइन पुनरावलोकनको काम भइरहेको छ । डिजाइनको पुनरावलोकन सकिएपछि काम अघि बढाउन टेन्डर गरिने महानिर्देशक शर्माले बताए ।
‘३ महिनापछि टेन्डरमा जान सकिन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘यो खण्डालाई पनि सुरुङमार्ग सँगैसँगै विस्तार गरिसकेर काठमाडौंको यातायात व्यवस्थालाई सुधार गर्ने योजना छ ।’
यसअघि यो खण्ड ४ लेनमा विस्तार गर्ने भए पनि मुआब्जाका ठूलो रकम खर्चिनुपर्ने देखिएकाले ‘डेडिकेटेड’ २ लेनमा विस्तार गर्न खोजिएको विभाग बताउँछ ।
यो खण्ड कुल ९२ मिलोमिटर लामो छ । यो खण्डका बीचबीचमा विभिन्न बजारहरु छन् । जुन बजारमा २५ मिटरभित्रै घरसहितका संरचनाहरु पर्छन् ।
‘यी खण्ड छेउछाउका जग्गा काठमाडौंको जस्तै महंगो मूल्यका छन् । अब त्यसमा मुआब्जा खर्चिएर चार लेनमा जान सकिने अवस्था नभएपछि नयाँ तरिकाले डिजाइन गर्दैछौं,’ महनिर्देशक शर्माले भने ।
नारायणगढबाट मुग्लिनसम्म ३.५ मिटरका दुई लेनसहित छेउमा दुबैतर्फ थप २/२ मिटरको सोल्जर(अतिरिक्त पिच सडक) पनि गरिएको छ । अब मुग्लिनबाट नौबिसेसम्मको खण्ड यसैअनुसार विस्तार गरिने महानिर्देशक शर्माले बताए ।
समस्याग्रस्त खण्ड
यो सडकमार्ग ६५ जिल्लाका यात्रु काठमाडौं प्रवेश गर्ने मूल मार्ग हो । यो खण्ड वर्षौदेखि टालटुलका भरमा चलाइँदै आएको छ । वर्षामा समयमा यो सडक अति जीर्ण बन्न पुग्छ ।
नौबिसेमाथि नागढुंगासम्मको सडक पानी पर्नासाथै यो सडकमा खाल्डाखुल्डीका कारण मालसामान बोकेर आएका सवारीलाई उकालो लाग्न कठिन हुने गरेको छ । यसले गर्दा उकालोमा एउटा सवारी बिगि्रएर रोकिनासाथै लामो लाइन लागिहाल्ने समस्या छ ।
उच्च रुपमा हुने सवारी आवागमनले सडक मर्मत गर्न नै कठिन हुने गरेको छ । यो मार्गमा मुख्य रुपमा बढी भार बोकेर आएका सवारीका कारण कालोपत्रे नटिक्ने समस्या हुन्छ ।
झन् गुणस्तरीय ढंगमा कालोपत्रे नगरिँदा महिना दिनमै उप्किने र भत्किने समस्या देखिने गरेको छ । सडक साँघुरो भएको र मोडहरु पनि सानो भएकाले यसै पनि यो खण्डमा सवारीलाई मुस्किल हुन्छ । दिनमा १८ देखि २० हजार सवारी आवात-जावत गर्ने सडकको अवस्था वर्षौदेखि फेरिएको छैन ।
यो खण्डमा कृष्णभीर लगायतका स्थानमा डेडिकेटेड दुई लेनमै सडक विस्तार गर्न समस्या हुन्छ । त्यस्ता स्थानमा पनि नदीको भागबाट पर्खाल लगाएर सडक विस्तार गर्ने योजना छ ।
अहिले यात्रुबाहक तथा मालबाहक सवारीलाई त्रिशूलीको तीरैतीरबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । पोखरा आउने र जाने सवारीको चाप समेत हुने भएकाले यो सडकमा सवारीको चाप मुग्लिन-नारायणगढ खण्डको भन्दा बढी हुन्छ ।
प्रतिक्रिया 4