Comments Add Comment

पहिलो ‘बिग मर्जर’ यसरी भयो सम्भव

१८ वित्तिय संस्था सोस्दै ग्लोबल बन्यो देशकै ठूलो वाणिज्य बैंक

२० मंसिर, काठमाडौं । नेपालको २२ औं वाणिज्य बैंकका रुपमा १२ वर्षअघि सालमा स्थापना भएको ग्लोबल आईएमई बैंक शुक्रबारबाट देशकै सबैभन्दा ठूलो बैंक बन्न पुगेको छ । जनता बैंकसँग ‘बिग मर्जर’ सम्पन्न भएसँगै ग्लोबलले कुल पुँजी, चुक्ता पुँजी लगायत धेरै सूचकमा २६ वटा बैंकलाई टपेको हो ।

नेपालमा ‘बिग मर्जर’ को चर्चा लामो समयदेखि हुँदै आए पनि साकार रुप लिन सकेको थिएन । जनता र ग्लोबल आईएमईले यसको थालनी गरेका छन् । दुई बैंक गाभिएर शुक्रबारबाट एकिकृत कारोवार सुरु भइसकेको छ ।

गत वर्षको बजेट वक्तव्यमा सरकारले बिग मर्जरको विषय समेटेको थियो । तर, यो त्यति सहज देखिएको थिएन । जनता बैंक नेपाल र ग्लोबल आइएमईले मर्जरका लागि प्रारम्भिक सहमति गर्दासमेत यो सफल हुनेमा आशंका नै थियो ।

मर्जरका लागि अन्तिम सम्झौता गरेको ठ्याक्कै ५ महिना पुगेका दिन शुक्रबार एकिकृत कारोबार शुभारम्भ भएको छ । यसले बैंकिङ क्षेत्रमा नयाँ तरंग ल्याइदिएको छ ।

देशकै ठूलो बैंक

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गत असार १२ गते सबै बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिएका थिए । गभर्नरले निर्देशन दिएको एक सातामै २० असारमा ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरमा जाने सहमति गरे ।

मर्जरपछि बन्ने बैंकको अध्यक्ष चन्द्र ढकाल हुने र प्रमुख कार्यकारी अधिकृत जनताका सीईओ पर्शुराम कुँवर रहने गरी सहमति भएको थियो । त्यसै सहमति बमोजित दुई संस्थाहरुले सहजरुपमा मर्जरको प्रक्रिया पूरा गरेका हुन् ।

मर्ज भएसँगै अधिकांश सूचकका आधारमा ग्लोबल आईएमई बैंक नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ । मर्जरपछि बैंकको चुक्तापुँजी १९ अर्ब रूपैयाँ पुगेको छ । साविकको ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ थियो भने जनता बैंकको चुक्तापुँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ थियो ।

साविक ग्लोबल बैंकले गत आर्थिक वर्ष ०७५/०७६ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेसँगै बैंकको चुक्तापुँजी ११ अर्ब ६२ करोड ५१ लाख ६ पुग्ने छ । यस्तै जनता बैंकले गत आर्थिक वर्षमा ६ प्रतिशत बोनस प्रस्तावसँगै चुक्तापुँजी ८ अर्ब ४८ करोड ८ पुग्नेछ ।

मर्जरपछि बनेको ग्लोबल आइएमई बैंकको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब भएको छ । यस्तै शाखा कार्यालय करिब ३०० पुगेका छन् । बैंकका एटिएम २ सय ५६ र २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम भएका छन् । यसैगरी बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी भएका छन् भने ग्राहकहरु २० लाख नाघेका छन् ।

१८ संस्था विलय

देशको ठूलो वाणिज्य बैंक बनेको ग्लोबल आईएमई अन्य वित्तीय संस्थालाई आफूलाई गाभ्न पहिल्यैदेखि अभ्यस्त छ । स्थापनाको १२ वर्ष यस बैंकमा आईएमई बाहेककै १७ वटा संस्थाहरु विलय भइसकेका छन् ।

देशको ठूलो बाणिज्य बैंक ग्लोबल आईएमई बन्नुअघि २ वाणिज्य बैंकसहित १७ वटा बैंक तथा वित्तीय संस्थाको अस्तित्व यसले मेटाइदिएको छ । ग्लोबल आइएमई र कमर्ज एन्ड ट्रस्ट बैंक यसमा गाभिएका छन् । बाँकी १५ वटा विकास बैंक तथा फाइनान्स कम्पनीहरु यहाँ मिसिएका छन् ।

यसमा मिसिएका विकास बैंकहरुमा गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक छन् । यस्तै, ड्राइ डेभलपमेन्ट बैंक, ब्राइट डेभलपमेन्ट, पव्लिक डेभलपमेन्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक पनि ग्लोबलमा मिलेका छन् ।

यसभित्र अटाएका फाइनान्सहरुमा आइएमई फाइनान्स, लर्डबुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल आवास फाइनान्स रहेका छन् ।

२००७ सालमा जन्मिएको त्यो ग्लोबल

ग्लोबल आईएमई बैंकको स्थापना नै ३ बैंक तथा वित्तीय संस्था आपसमा गाभिएर भएको थियो । तत्कालिन ग्लोबल बैंक, आइएमई वित्तीय संस्था र लर्डबुद्ध फाइनान्स एक आपसमा गाभिए छि सन् २०१२ मा ग्लोबल आइएमई बैंकको रुपमा कारोबार सुरु भएको थियो ।

त्यसभन्दा अघि ग्लोबल बैंक ‘क’ वर्गको बैंकको रुपमा २००७ मा स्थापना भएको हो । त्यसबेला १ अर्ब रुपैयाँ चुक्ता पुँजीको लिएर स्थापना भएको ग्लोबल बैंक अन्य संस्थाहरु मर्ज गर्दै पुँजी बढाउँदै अघि बढीरहेको थियो ।

४ वर्ष अघिसम्म ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि चुक्ता पुँजी २ अर्ब रुपैयाँ तोकिएको थियो । राष्ट्र बैंकको गभर्नरमा डा. नेपाल नियुक्त भएपछि उनले पुँजी वृद्धिको योजना ल्याएका थिए । २ अर्ब रुपैयाँबाट ४ गुणा बढाएर ८ अर्ब रुपैयाँ पुँजी पुर्‍याउन पर्ने गरी राष्ट्र बैंकले निर्देशन दिए पछि ग्लोबलले मर्जर योजनालाई प्राथमिकतामा राखेको थियो ।

जसअनुसार आईएमई वित्तीय संस्था, लर्डबुद्ध फाइनान्स, गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक लगायतका संस्थाहरु मर्ज गराएको थियो ।

ग्लोबलले पछिल्लो समय गत वर्ष मात्रै धरान केन्द्रीय कार्यालय रहेको हाथ वे फाइनान्स आफूमा समाहित गराएको थियो भने त्यसभन्दा अघि रिलायवल डेभलपमेन्ट बैंकलाई मर्ज गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment