
२१ मंसिर, काठमाडौं । वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा म्याराथनमा दौडिएका किरण सिंह बोगटी तेस्रो भएका थिए । त्रिभुवन आर्मीका कृष्ण बस्नेतले स्वर्ण जित्दा कर्णाली प्रदेशका दुर्गा बुढाले रजत जितेका थिए ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि २८ जेठमा बन्द प्रशिक्षण सुरु भयो । राष्ट्रिय खेलकुदमा पहिलो र दोस्रो भएका धावकहरुलाई बोलाइयो । तेस्रो भएका किरणसिंह पर्ने कुरै भएन ।
तर म्याराथनमा दोस्रो भएका दुर्गा बुढा इन्डियन लाहुरे रहेछन् । उनी भारत फर्किसकेकाले बन्द प्रशिक्षणमा आएनन् ।
किरणसिंहको भाग्य खुल्यो । १६ साउनमा उनी पनि सागको बन्द प्रशिक्षणमा सहभागी भए ।
प्रशिक्षणका क्रममा भएको ३५ किलोमिटर दौड भयो, आठौं राष्ट्रियमा स्वर्ण जितेका कृष्ण बस्नेतले नै पहिलो हुँदा किरणसिंह तेस्रो नै भए ।
२८ असोजमा फाइनल छनोट हुने भयो । आर्मीका कृष्ण म्याराथनमै भाग लिन चीन पुगेका थिए ।
यता किरणसिंह पहिलो भए । उता चीनमा कृष्णले पनि २ घन्टा २१ मिनेटकै टाइमिङ निकाले । कृष्णसँगै किरणसिंहले १३औं सागको म्याराथनमा दौडिने तय भयो ।
नेपाली टोली तयारीमै थियो । कृष्णका आमा बिरामी भइन् । उनी आमाको उपचारमा दौडिए । तिहारपछि उनकी आमाको निधन भयो । १३ दिन काजकृयामा बसे । १३ दिन नुन नखाएको र मातृशोकमा परेका कारण कृष्णलाई म्याराथनमा नदौडाउने निर्णय भयो र होमलाल श्रेष्ठले अवसर पाए ।
मुख्य प्रशिक्षक धनिराम भन्छन्, ‘किरणसिंह सुरुमा भाग्यले बन्द प्रशिक्षणमा आइपुगेका थिए, तर असाध्यै मेहनत गर्यो र त्यही मेहनतले स्वर्ण जित्न सफल भए ।’
किरणसिंह पनि स्वर्णको श्रेय धनीरामसहितका प्रशिक्षकहरुलाई नै दिन्छन् । ‘यो जितको श्रेय गुरुहरुलाई जान्छ किनकी उहाँहरुले मलाई राम्रो बाटो देखाउनु भयो’ उनले भने ।
उनकाअनुसार दशरथ रंगशालाबाट दौड सुरु गर्दा नै उनले सोचेका थिए, कि पहिलो हुन्छु कि आठौं । त्यसअनुसार उनले सुरुदेखि नै अग्रता लिए र ४२.२ किलोमिटर लामो दौडमा पहिलो भएर स्वर्ण पदक जिते ।
उनले दुरी २ घन्टा २१ मिनेट १७ सेकेण्डमा दौड पुरा गरेका थिए । दोस्रो भएका भातका रसपल सिंहले २ घन्टा २१ मिनेट ५७ सेकेण्ड तथा तेस्रो भएका श्री सिंहले २ घन्टा २२ मिनेट ७ सेकेण्डमा म्याराथन पुरा गरेका थिए ।
किरणको अर्को रोचक पक्ष पनि छ, उनले भन्दा पहिले उनका छोरा आशिषले राष्ट्रिय खेलकुद पहिले खेलेका थिए ।
उसु खेलाडी कुशलले सातौं राष्ट्रिय खेलकुदमा भाग लिएका थिए । २०६१ मा सशस्त्र प्रहरीमा जागिर खाएको भएपनि २०७३ मा एपीएफ क्लबमा आएका उनले भने आठौंमा भाग लिएका थिए ।
प्रतिक्रिया 4