Comments Add Comment

सुत्केरीको मृत्युपछि नोवेल मेडिकल कलेजमा तनाव

२२ मंसिर, विराटनगर । सुत्केरी महिलाको मृत्यु भएपछि नोवेल मडिकल कलेज तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरेपछि आइतबार अस्पताल तनावग्रस्त बनेको हो ।

इलामको फिक्कल घर भई मोरङको लेटाङ नगरपालिका–६ खेरुवास्थित माइतीमा बस्दै आएकी २९ वर्षीया जानुका श्रेष्ठको प्रसुती गराउने क्रममा मृत्यु भएको थियो ।

प्रसुती व्यथाले च्यापेपछि शुक्रबार साँझ नोवेलमा भर्ना भएकी श्रेष्ठलाई शल्यक्रिया गरेर १० बजे प्रसुती गराइएको थियो । अस्पतालकी बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. शान्ति सुवेदी नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको थियो ।

पहिलो सन्तानका रुपमा छोरा जन्माएकी श्रेष्ठको अवस्था गम्भीर बन्दै गए पनि चिकित्सकले वास्ता नगरेको जानुकाका बुवा गणेशकुमार श्रेष्ठले बताए । सुत्केरीको मृत्युपछि परिवारका सदस्य र आफन्त शनिबार शव अस्पतालमै छाडेर गएका थिए ।

आइतबार शव बुझ्न अस्वीकार गरेका आफन्तले क्षतिपूर्ति दिनुपर्ने माग राख्दै प्रदर्शन गरेपछि बिवाद बढेको थियो ।

सुत्केरीको मृत्यु भएपछि आन्दोलित बनेका मृतकका आफन्तमाथि आइतबार साझ प्रहरीले बल प्रयोग गरेको थियो । अस्पताल भित्र पसेको हुललाई साँझ प्रहरीले बल प्रयोग गरी हटाएको हो ।

प्रदर्शनमा उत्रिएकाले लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनु पर्ने, आगामी दिनमा घटना दोहोरिन नहुने, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिइनु पर्ने बताएका छन् । आमाको मृत्यु भए पनि नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

सुत्केरीको मृत्युपछि आइतबार अस्पताल प्रशासन र पीडित परिवारबीच वार्ता भएको थियो । सो क्रममा चिकित्सकले रक्तश्राप नरोकिएका कारण सुत्केरीको मृत्यु भएको बताएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment